२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

Nada
२०८३ कार्तिक १२ गते १५:३०
Shares
बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ : लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् ।

सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो । मन्त्रालयको पटक–पटकको सहजीकरणपछि विवाद समाधान भएसँगै निर्माण कार्य अघि बढाइएको मन्त्री लम्सालले जानकारी दिए ।

हाल निर्माणस्थलमा सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । बाँकी सडकखण्डलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए।

मन्त्री लम्सालका अनुसार साँगा–धुलिखेल सडकखण्डको सर्भिस लेनसहित कूल लम्बाइ सात दशमलव नौ किलोमिटर रहेको छ । जसमध्ये छ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ । अब बाँकी एक दशमलव चार किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।

बाँकी सडकखण्डमा पनि निर्माण कार्यलाई तीव्रता दिँदै सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिने मन्त्रालयले जनाएको छ । 

लामो समयदेखि रोकिएको सडक निर्माण कार्य अघि बढेसँगै बनेपा बजार क्षेत्रको यातायात व्यवस्थापन सहज हुने र सडक पूर्वाधारमा सुधार आउने अपेक्षा गरिएको मन्त्री लम्सालले जनाए ।

सम्बन्धित खबर