
काठमाडौं : नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ । प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी गराउन प्रदेश प्रहरी प्रमुखहरूलाई प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।
प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ बजेदेखि साढे १२ बजेसम्म प्रधान कार्यालयमा उपस्थित हुन भनिएको थियो । सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको जनाइएको छ ।
आज दिउँसो २ बजेका लागि तय गरिएको पीसीसी बैठक प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बस्नेछ ।
प्रहरी संगठनभित्र नीतिगत तथा महत्त्वपूर्ण निर्णय गर्ने निकायका रूपमा लिइने पीसीसी बैठकमा देशभरको शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रदेशस्तरमा देखिएका सुरक्षा चुनौती, प्रहरी संगठनको व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे समीक्षा हुने अपेक्षा गरिएको छ ।