२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

चुनावी हारलाई व्यक्तिगत असफलता नमान्ने एमालेको निष्कर्ष

यो समय भाग्ने होइन : ओली 

Nada
२०८३ असोज २० गते १४:३६
Shares
चुनावी हारलाई व्यक्तिगत असफलता नमान्ने एमालेको निष्कर्ष

काठमाडौँ : नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा मात्र व्याख्या गर्न नमिल्ने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेको छ ।

ncell

तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा निर्वाचन परिणामलाई पार्टीको आन्तरिक कमजोरीसँगै तत्कालीन राजनीतिक परिस्थिति, मतदाताको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमको प्रभाव र संगठनात्मक अवस्थाको समग्रतामा विश्लेषण गरिएको छ ।

अपानिमा निर्वाचनको हार बाह्य कारणको मात्र परिणाम नभएको स्वीकार गर्दै पार्टीभित्रका कमजोरीलाई पनि त्यसको कारक मानिएको छ । तर त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि मात्रै केन्द्रित गर्न नहुने निष्कर्ष प्रस्तुत गरिएको छ ।

एमालेको तेस्रो केन्द्रीय कमिटीले ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । पार्टीले उक्त प्रतिवेदनलाई तल्लो तहसम्म लागू हुने नीतिका रूपमा अघि बढाएको छ ।

अपानिमा अध्यक्ष ओलीले निर्वाचन परिणाममा अध्यक्षका रूपमा आफ्नो हिस्साको जिम्मेवारी स्वीकार गरेका छन् । तर पराजयपछि नेतृत्वबाट अलग हुनुपर्ने तर्कलाई भने उनले स्वीकार गरेका छैनन् ।

“अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ । तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,” अपानिमा ओलीको भनाइ उद्धृत गरिएको छ ।

यससँगै निर्वाचन परिणामपछि एमालेभित्र उठेको नेतृत्व पुनर्गठनको बहसका बीच ओलीले तत्काल अध्यक्षबाट अलग नहुने सन्देश दिएका छन् ।

गत निर्वाचनपछि एमालेभित्र नीति र नेतृत्व पुनर्गठनको विषय बहसमा आएको थियो । तेस्रो केन्द्रीय कमिटी बैठकअघि पनि निर्वाचन पराजयको समीक्षा र नेतृत्व पुनर्गठन बैठकका प्रमुख राजनीतिक मुद्दामध्ये थिए ।

अपानिले निर्वाचन परिणामका लागि बाह्य परिस्थितिलाई मात्र जिम्मेवार बनाएको छैन । पार्टी संरचना र संगठनात्मक कमजोरीलाई समेत पराजयका कारणका रूपमा औँल्याइएको छ ।

निर्वाचन परिणामलाई पार्टी संरचना, तत्कालीन समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमबाट भएका प्रहार, चुनावी परिस्थिति तथा संगठनात्मक कमजोरीको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ ।

तेस्रो केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि संगठन विस्तारअनुसार सुदृढीकरण हुन नसकेको, युवा पुस्ताको बदलिँदो मनोविज्ञान बुझ्न ढिलाइ भएको तथा डिजिटल युगअनुकूल सञ्चार संयन्त्र प्रभावकारी बनाउन नसकिएको विषय उठाइएको थियो ।

अपानिमा तेस्रो केन्द्रीय कमिटीबाट भएका विभिन्न सांगठनिक निर्णयसमेत समेटिएका छन् । उक्त बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र २२ बुँदे समसामयिक प्रस्ताव पारित गर्नुका साथै केन्द्रीय कमिटी र स्थायी कमिटीमा मनोनयनलगायत निर्णय गरेको थियो ।

बैठकले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

एमालेले तेस्रो केन्द्रीय कमिटीपछि पार्टीभित्र ‘उन्नतस्तरको समझदारी र सुदृढ एकता’ कायम भएको दाबी गर्दै निर्वाचन परिणामबारे पार्टीभित्र देखिएका फरक बुझाइलाई बैठकले नीतिगत रूपमा सम्बोधन गरेको जनाएको छ ।

निर्वाचन पराजयको जिम्मेवारी स्वीकार गर्ने तर त्यसलाई नेतृत्व परिवर्तनको आधार नमान्ने ओलीको धारणा अपानिमा समेटिएसँगै एमालेले चुनावी हारको समीक्षा र नेतृत्वसम्बन्धी बहसलाई तत्काल नेतृत्व परिवर्तनभन्दा पार्टी पुनर्निर्माण र संगठनात्मक सुधारतर्फ केन्द्रित गर्न खोजेको देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर