
काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व स्थापित गर्ने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।
उनले बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसको संगठन र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई थप गतिशील बनाउनुपर्ने धारणा राखेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट संशोधित विधानअनुसार यसपटक महामन्त्रीको संख्या बढाएर तीन पुर्याइएको छ । तीमध्ये एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिको आकारसमेत १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट २६ पुर्याइएको छ ।
एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएसँगै उपसभापतिको संख्या चार पुगेको छ । त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् ।