
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा मधु आचार्यले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
यसअघि आचार्य महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा थियो । तर, आज उम्मेदवारी दर्ता गर्ने दिन उनले उपसभापति पदमा मनोनयन दर्ता गराउने बताएका छन् । विशेष महाधिवेशन र पार्टी रूपान्तरणको एजेन्डालाई कार्यान्वयन गर्न उपसभापति पदमा उम्मेदवारी दिन लागेको आचार्यले बताए ।
संशोधित विधानअनुसार कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ । १५औँ महाधिवेशनअन्तर्गत आजै उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । अहिले मनोनयन फारम वितरण भइरहेको छ। उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो १२ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ ।