
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत युरोप क्षेत्रबाट पूर्णबहादुर हमालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेपाली जनसम्पर्क समिति युरोपका वरिष्ठ उपाध्यक्षसमेत रहेका हमालले प्रवासमा कांग्रेसको संगठन विस्तार र सुदृढीकरणसँगै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । पोर्चुगलबाट महाधिवेशन प्रतिनिधि चयन भएका हमालले प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप गतिशील, क्रियाशील र प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताए । लामो समयदेखि पार्टीको संगठन विस्तार तथा प्रवासमा पार्टीको सांगठनिक गतिविधिलाई सुदृढ बनाउन सक्रिय रहदै आएका हमालले युरोप क्षेत्रबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
“युरोपमा कांग्रेसको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने र नयाँ पुस्तालाई पार्टीसँग जोड्ने तथा प्रवासी नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको विकास र समृद्धिसँग जोड्ने सोच र संकल्पसहित युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ,” हमालले भने, “युरोपमा रहेका नेपाली कांग्रेसका नेता, तमाम कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ, सहयोग र समर्थन पाएकै कारण ठोस योजना र कार्यक्रमका साथ चुनावी मैदानमा होमिएको हो,” उनले भने ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक सभापतिसमेत रहेका हमालले पार्टीको प्रवासी संगठनलाई बलियो बनाउन लामो समयदेखि काम गर्दै आएका छन् । उनले दुई कार्यकाल महासमिति सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।
पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै हमालले नेपाली कांग्रेसको संगठनलाई विश्वव्यापी रूपमा थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने योजना अघि सारेका छन् । उनले विश्वभर रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई एकीकृत गर्दै विश्वव्यापी सञ्जाल निर्माण गर्ने अवधारणा अनुरूप युरोपमा ‘महादेशीय संगठन’ निर्माणको अवधारणालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन् ।
“मेरो उम्मेदवारी व्यक्तिगत लाभ वा स्वार्थका लागि होइन, प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप बलियो, सुदृढ र प्रभावकारी बनाउनका लागि हो,” हमालले भने, “लामो समयदेखि संगठन निर्माण र विस्तारमा काम गर्दै आएको अनुभवलाई अब पार्टीको हितमा सदुपयोग गर्दै प्रवासी नेपालीको आवाजलाई पार्टीको मूलधारसँग जोडेर संगठनलाई थप गतिशील र क्रियाशील बनाउन प्रतिबद्ध छु ।”
नेपाली जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय समिति सदस्यका रुपमा समेत काम गरिसकेका हमालले पार्टीको विभिन्न तह र तप्कामा रहेर सांगठनिक अनुभव समेत बटुलीसकेका छन् । विद्यार्थी जीवनदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका हमाल नेपाल विद्यार्थी संघ बागलुङका पूर्व जिल्ला सदस्य समेत हुन् । २०४६ सालको जनआन्दोलनका क्रममा गिरफ्तारीमा परेका उनी वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँगै जेल समेत परेका थिए । प्रवासमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार र पार्टी सुदृढीकरणमा निरन्तर सक्रिय रहदै आएका हमालले युरोपमा पार्टी संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
डायस्पोरामा रहेका दोस्रो तथा तेस्रो पुस्ताका नेपालीलाई नेपाली कांग्रेससँग जोड्दै प्रवासमा पार्टीको संगठनलाई थप व्यापक, व्यवस्थित र प्रभावकारी बनाउने आफ्नो योजना रहेको हमालले बताएका छन् । उनले प्रवासी संगठनलाई समयानुकूल सुदृढ गर्दै नेपाली कांग्रेस र प्रवासमा रहेका नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
प्रवासमा रहेका नेपालीका समस्या, अपेक्षा र सम्भावनालाई पार्टीको नीति तथा नेतृत्वसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा प्रवासी संगठनलाई विकास गर्नुपर्ने उनको धारणा छ । लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएको अनुभव, प्रवासमा संगठन विस्तारमा निर्वाह गरेको भूमिका तथा पार्टीका विभिन्न तहमा रहेर गरेको योगदान नै आफ्नो उम्मेदवारीको आधार भएको हमालले बताए ।
पार्टीको संगठनलाई थप गतिशील, क्रियाशील र विश्वव्यापी बनाउने योजनासहित आफू केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएको हमालले बताए । उनले आफ्नो योजना तथा कार्यक्रमलाई पार्टीको नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।
हमालले युरोप क्षेत्रका महाधिवेशन प्रतिनिधिसहित सबै महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो उम्मेदवारीको पक्षमा साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल समेत गरेका छन् ।