२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सहमहामन्त्रीमा राजीव ढुंगानाको उम्मेदवारी

Nada
२०८३ असोज २१ गते ११:२७
Shares
सहमहामन्त्रीमा राजीव ढुंगानाको उम्मेदवारी

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

ncell

स्कुले जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय ढुंगाना २०४३ सालमा पार्टीले पञ्चायतको स्थानीय निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि पार्टीका उम्मेदवारको पक्षमा सक्रिय रूपमा खटिएका थिए ।

२०४६ सालको जनआन्दोलनदेखि २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म पार्टीले सञ्चालन गरेका विभिन्न आन्दोलन तथा संघर्षमा ढुंगाना अग्रपंक्तिमा सक्रिय रहे ।

२०४६ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यबाट राजनीतिक जिम्मेवारी सुरु गरेका ढुंगाना २०५० सालमा नेविसंघको जिल्ला सचिव बने । २०५७ सालमा विश्वप्रकाश शर्मा अध्यक्ष रहेका बेला नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका उनले त्यसपछि केन्द्रीय कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सम्हाले । उनी २०७६ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष बने ।

ढुंगानाले २०७६ माघ १६ देखि २०७८ फागुन ५ गतेसम्म नेविसंघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाले । नेपाली कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका ढुंगाना १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भए ।

१४औँ महाधिवेशनमा खुलातर्फबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका ढुंगाना पार्टीको विद्यार्थी विभाग प्रमुखको जिम्मेवारीमा समेत रहे । हाल कांग्रेसको कार्यसम्पादन समिति सदस्य रहेका ढुंगाना सादगीपूर्ण जीवन, इमानदार राजनीति र स्पष्ट राजनीतिक अडानका कारण पार्टीभित्र परिचित छन् । उनी युवामाझ लोकप्रिय हुनुका साथै प्रखर वक्ताका रूपमा पनि चिनिन्छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने अठोटसहित राजनीतिमा अघि बढेका ढुंगानाले २०७४ सालको स्थानीय निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर तथा त्यसपछि प्रदेशसभा सदस्यमा उम्मेदवार बन्न पार्टी सभापति र केन्द्रीय नेताहरूबाट आएको आग्रह अस्वीकार गरेका थिए ।

सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि ढुंगाना पछिल्ला तीनवटै निर्वाचनमा लगातार सिफारिस हुँदै आएका छन् ।  ढुंगाना पार्टीको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएसँगै ढुंगानाले आफ्नो लामो राजनीतिक अनुभव, विद्यार्थी संगठनमा गरेको नेतृत्व र पार्टीभित्रको सक्रियतालाई नयाँ जिम्मेवारीमा उपयोग गर्ने तयारी गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर