२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

कांग्रेसमा गुटबन्दी कायमै 

Nada
जीवन शर्मा
२०८३ असोज २३ गते ०८:५०
Shares
कांग्रेसमा गुटबन्दी कायमै 

काठमाडौं :नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका एकजना उम्मेदवार किशोरसिंह राठौरले मनोनयन फिर्ता लिएपछि कांग्रेस सभापतिका उम्मेदवार गगन थापाले पार्टीमा गुटबन्दीको अन्त्य भएको घोषणा गरे । बुधबार महाधिवेशनअन्तर्गत बन्दसत्रको छलफललाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टीमा मैले कुनै गुट बनाउँदिनँ भनेको थिएँ, नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएर मलाई समर्थन गर्नुभयो । अब नेपाली कांग्रेसमा कुनै गुट छैन र हुन पनि दिइने छैन ।’ 

ncell

थापाको यो अभिव्यक्तिले कांग्रेसमा विगतमा देखिँदै आएका गुटगत राजनीति बन्द भयो । तर थापासँग सभापतिको प्रतिस्पर्धामा उत्रिएका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता गरेका छैनन् । सभापतिसहित पदाधिकारी निर्विरोध बनाउन शीर्ष छलफल तीन दिनदेखि छलफलमै छन् । महाधिवेशनअन्तर्गत उम्मेदवारी दिने समयसीमाभित्र वरिष्ठ उपसभापतिका लागि विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए । तीबाहेक सबै पदमा प्रतिस्पर्धा हुने पक्का छ । सभापति थापासहित पदाधिकारी निर्विरोध बनाउने नेताहरूको लामो प्रयास असफल भएको छ । नेताहरूबीको सोही छलफल दुई दिनसम्म निष्कर्षमा नपुग्दा बिहीबारको मतदान प्रक्रिया प्रभावित भएको एक नेताले बताए । 

आकांक्षीहरूले उम्मेदवारी फिर्ताको समयमा फिर्ता नलिएपछि बुधबार दिनभर समय थप्दै बित्यो । बुधबार साँझमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए । निर्विरोध सभापति बन्ने गगन थापाको योजनालाई अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले रोकेका छन् । उनलाई निष्क्रिय बनाउन पार्टीका नेताहरू अझै सक्रिय छन् । तर खड्गीले समर्थकलाई मतदातामाझ खटाइरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि खड्गी सभापतिको प्रतिस्पर्धामा उत्रिएपछि थापा पनि मतदातामाझ जानुपर्ने भएको छ । खड्गी शेरबहादुर देउवा पक्षमा रहेको र प्रकाशमान सिंहको सल्लाहमा उठेको नेताहरूले बताएका छन् ।

त्यस्तै, विशेष महाधिवेशनबाट आएका नेताहरू र विशेष महाधिवेशन बहिष्कार गरेका नेताहरूबीच आन्तरिक रूपमा गुटगत प्रतिस्पर्धाजस्तो देखिएको छ । तर पार्टी सभापति थापाले अघिल्ला महाधिवेशनमा तलदेखि माथिसम्मै प्रस्ट दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिने कांग्रेसको परम्परा यसपटक तोडिएको बताए । थापाले आफूले कुनै समूह बनाएर चिट बाँडेर मतदान गर्न नलगाउने प्रस्ट पारेका छन् । उनले त्यसो भनिरहँदा महाधिवेशनमा उम्मेदवारी दिएका सभापतिबाहेक उम्मेदवारहरूले आ–आफ्नो अनुकूलका उम्मेदवारको सूची नै बनाएर मतदातालाई थमाउने तयारी गरेका छन् ।  

फिल्डमा महाधिवेशनको रौनक देखिएको छ । मतदाता र समर्थकले आफ्ना उम्मेदवारको पक्षमा मत माग्न फरक फरक शैली अपनाएका छन् । मतदानस्थलमा रोबोर्टले समेत मत मागेको दृश्यले कार्यकर्ताको ध्यान तानेको देखिन्छ । कार्यकर्ताले फिल्डलाई नाचगानसहितको उल्लासमय बनाउँदै गर्दा नेताहरूमा एकअर्काप्रति चुनावी त्रास देखिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा विशेष महाधिवेशनको विपक्षमा उभिएका नेताहरू बढी देखिएका छन् । नियमित महाधिवेशनमार्फत महामन्त्री बनेका प्रदीप पौडेल र गुरुराज घिमिरेमाथि विशेष महाधिवेशन बहिष्कार गरेका नेताहरूले एकजुट भएर धक्का दिने प्रयास गरेको छनक नेताहरूले पाएका छन् । सोही कारण उनीहरूको व्यवस्थापनमा शीर्ष नेताहरूबीच निरन्तर छलफल चलिरहेको कांग्रेसका एक पदाधिकारीले बताए । प्राविधिक कारण देखाएर राजनीतिक रूपमा मतदान सारिएको आवाज समेत गुन्जिएको छ । निर्वाचन समितिले भने समयमा मतपत्र छपाइको काम नसकिएकाले मतदानको मिति सारिएको दाबी गरेको छ । 

निर्वाचन समितिले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै मतदानका लागि आवश्यक २३ प्रकारका मतपत्र छपाइ नसकिएकाले एक दिन सार्न बाध्य भएको जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सात हजार ३०० मतदाताका लागि २३ प्रकारका मतपत्र छाप्नुपर्ने भएकाले ढिला भएको बताए । उनले भने, ‘हामीले सात हजार ३०० मतदाताका लागि २९७ उम्मेदवालाई मतदान गर्न २३ प्रकारका मतपत्र छपाइमा प्राविधिक समस्या भयो, त्यसैले बिहीबारको मतदान प्रभावित बन्यो ।’ शुक्रबार बिहान ७ बजे नै मतदान प्रारम्भ हुने उनले बताए । महाधिवेशन सुरु भएको चार दिनसम्म मतदान हुन नसकेपछि बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिहरू दिनभर उभिएर फर्कनुपरेको थियो । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो । त्यसपछि पनि मतदान हुन सकेन । केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन । अन्ततः बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत मतदान स्थगन भएको जानकारी दिएपछि मतदाताहरू तितरबितर भए । लामो समयको प्रतीक्षा पनि पनि मतदान गर्न नपाएको मन्दै प्रतिनिधिहरू केही समय नेतृत्वप्रति आक्रोश पोख्दै हिँडेका थिए । समयमा मतदान नभएका कारण प्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले व्यवस्थापनमा केही कमजोरी भएकाले शुक्रबार पनि खाना र बासको व्यवस्था मिलाउने जनाएका छन् ।  

आज बिहान ७ बजेबाट हुने भनिएको मतदानका लागि मतपेटिका तयारी अवस्थामा राखिएको छ । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरेर तीन ठाउँ तोकिएको छ । सबै मदतान केन्द्रमा गरी करिब २५० मतदाताले एकैपटक मतदान गर्न सक्ने व्यवस्था मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । एकजना मतदातालाई मतदानका लागि ३० मिनेटभन्दा बढी समय लाग्ने आकलन गरिएको छ । उम्मेदवारको सूची लामो भएकाले धेरै मतदाताले आफ्नो पहिचान भएका र  माथिका मात्रै उम्मेदवारलाई मतदान गरेर विभिन्न क्लस्टरमा परेका उम्मेदवारलाई छाड्ने सम्भावना बढेको नेताहरूले बताएका छन् । 

सम्बन्धित खबर