
काठमाडौं नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत मतदान साढे २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेसँगै साढे २ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग भएको छलफलपछि २ बजेदेखि मतदान गर्ने कार्यक्रम तय भएको बताए ।
उनले खुलामञ्चमा साढे २ बजेदेखि नै सुरु गर्ने भए पनि राष्ट्रिय सभागृहमा भने केही समय ढिला हुन सक्ने जानकारी दिए ।
खुलामञ्चमा भने निर्वाचन अधिकृतहरू मतदानका लागि तयारी अवस्थामा रहेका छन् ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् ।
कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ । त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।
अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।
१५औं महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
मतदान सकिएपछि मतगणना सुरु हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
