२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

शंका होइन, संवाद

Nada
२०८३ कार्तिक १० गते ०६:१०
Shares
शंका होइन, संवाद

वैदेशिक रोजगारी अहिले लाखौं नेपाली परिवारको आर्थिक आधार बनेको छ । यसले घरखर्च चलाउन, बालबालिकालाई शिक्षा दिन र जीवनस्तर सुधार्न महत्त्वपूर्ण योगदान पु¥याएको छ । तर, रोजगारीका लागि लामो समय परिवारबाट टाढा रहनुपर्ने बाध्यता, आपसी अविश्वास र संवादको कमीले कतिपय परिवारमा गम्भीर समस्या निम्त्याइरहेको छ । रेमिट्यान्सको मूल्य पारिवारिक विग्रह हुनुहुँदैन । पारिवारिक विवादले हत्या र आत्महत्याजस्ता भयावह रूप लिनु समाजका लागि चिन्ताको विषय बनेको छ ।

वैदेशिक रोजगारी आफैंमा पारिवारिक विघटनको कारण होइन । लामो समय अलग रहँदा भावनात्मक दूरी बढ्नु, एकअर्काको अवस्था नबुझ्नु र सम्बन्धप्रति असुरक्षा पैदा हुनुले विवाद बढाउन सक्छ । सामाजिक सञ्जालबाट फैलिने भ्रम, अरूका कुरा सुनेर गरिने शंका र आर्थिक कारोबारसम्बन्धी विवादले पनि सम्बन्धमा दरार ल्याउन सक्छन् । तर, यी कुनै पनि कारण हिंसालाई उचित ठहर गर्ने आधार बन्न सक्दैनन् ।

सम्बन्धमा समस्या आउनु सामान्य भए पनि त्यसको समाधान हिंसाबाट खोज्नु गलत बाटो हो । असहमति, अविश्वास वा सम्बन्धविच्छेदको अवस्था आए संवाद, परामर्श र कानुनी प्रक्रियाको बाटो रोज्नुपर्छ । श्रीमान् वा श्रीमतीमध्ये कसैले पनि अर्को व्यक्तिको जीवन, स्वतन्त्रता र निर्णयमाथि स्वामित्व जमाउन पाउँदैन । सम्बन्ध टुट्न सक्छ, तर त्यसकै कारण कसैको जीवन खोस्ने अधिकार कसैलाई हुँदैन ।

यस्ता घटना रोक्न परिवार र समाजको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । दम्पतीबीच विवाद हुँदा पक्ष लिएर शंका बढाउने, अपमान गर्ने वा समस्या लुकाउन दबाब दिने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ । परिवारका सदस्यले पनि आरोप र अनुमानका आधारमा निष्कर्ष निकाल्नुको सट्टा दुवै पक्षको कुरा सुन्ने वातावरण बनाउनुपर्छ । घरेलु हिंसाका संकेत देखिए त्यसलाई निजी पारिवारिक मामिला भन्दै बेवास्ता गर्नु हुँदैन ।

राज्यले वैदेशिक रोजगारीमा जाने व्यक्ति र उनीहरूका परिवारलाई लक्षित मनोसामाजिक परामर्श तथा पारिवारिक सम्बन्धसम्बन्धी कार्यक्रम विस्तार गर्नुपर्छ । स्थानीय तह, प्रहरी र सामाजिक संस्थाबीच समन्वय गरी समस्यामा परेका परिवारले समयमै सहयोग पाउने व्यवस्था आवश्यक छ । हिंसाको जोखिममा रहेका व्यक्तिको सुरक्षा, कानुनी संरक्षण र उजुरी गर्ने सहज वातावरणलाई प्राथमिकता दिनुपर्छ ।

वैदेशिक रोजगारीबाट आर्थिक समृद्धि हासिल गर्नु महत्त्वपूर्ण छ, तर त्यसका लागि पारिवारिक शान्ति र मानवीय सम्बन्धको मूल्य चुकाउनु हुँदैन । शंकाको ठाउँमा विश्वास, आरोपको ठाउँमा संवाद र आवेगको ठाउँमा समझदारी विकास गर्न सके मात्रै परिवार सुरक्षित बन्न सक्छ । आर्थिक उन्नतिसँगै भावनात्मक स्वास्थ्य र पारिवारिक सुरक्षालाई पनि समान महत्त्व दिनु आजको आवश्यकता हो ।

सम्बन्धित खबर