२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

रेमिट्यान्सको सदुपयोग

Nada
२०८३ असोज २९ गते ०६:००
Shares
रेमिट्यान्सको सदुपयोग

दसैं नेपालीको प्रमुख चाड हो । यो धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई अर्थतन्त्र चलायमान बनाउने अवसर पनि हो । चाडपर्वमा बजारमा किनमेल बढ्छ । खाद्यान्न, लत्ताकपडा, मासु, विद्युतीय उपकरणदेखि यातायात र मनोरञ्जनसम्मका क्षेत्रमा कारोबार विस्तार हुन्छ । विदेशमा रहेका नेपालीले परिवारको खर्च धान्न पठाउने रकमले पनि बजारमा चहलपहल बढाउँछ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दसैं पर्ने महिनामा भित्रिने रेमिट्यान्स पाँच वर्षमा दोब्बरभन्दा बढी भएको छ । २०७८ सालको असोजमा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकामा २०८२ को असोजमा दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसले नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको बढ्दो महत्त्व देखाउँछ ।

ncell

रेमिट्यान्सले परिवारको दैनिक खर्च धान्न, शिक्षा तथा स्वास्थ्यमा खर्च गर्न र मुलुकको विदेशी मुद्रा सञ्चिति बढाउन योगदान पुर्‍याएको छ । तर विदेशमा श्रम गरेर कमाएको रकमको ठूलो हिस्सा उपभोगमै खर्च हुने गरेको छ । यसले बजारमा माग बढाए पनि उत्पादन, रोजगारी र पुँजी निर्माणमा अपेक्षित योगदान पुग्न सकेको छैन । अझ आयातित वस्तुको खरिदमा रकम खर्च हुँदा त्यसको ठूलो हिस्सा विदेशिने अवस्था छ ।

रेमिट्यान्सको उपयोगसम्बन्धी पुराना अध्ययनले पनि उत्पादनमूलक क्षेत्रमा यसको परिचालन न्यून रहेको देखाएका छन् । त्यसैले रेमिट्यान्सलाई उपभोगबाट बचत, उद्यम र उत्पादनतर्फ जोड्नु आवश्यक छ । यसका लागि सरकारले साना उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि र स्वरोजगारका क्षेत्रमा लगानी गर्न प्रोत्साहन दिनुपर्छ। सहुलियतपूर्ण कर्जा, उद्यमशीलता तालिम, बजार पहुँच र व्यावसायिक परामर्श उपलब्ध गराउन सके रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई आफ्नै व्यवसाय सुरु गर्न सहज हुनेछ ।

रेमिट्यान्स प्राप्त गर्ने परिवारलाई लक्षित गरी छुट्टै कोष स्थापना गर्ने सुझाव पनि विचारणीय छ । यस्तो कोषबाट सहज कर्जा उपलब्ध गराएर साना उद्यम विस्तार गर्न सकिन्छ । तर लगानीका लागि बाध्य पार्नेभन्दा स्वेच्छिक बचत र लगानीलाई आकर्षक बनाउने नीति आवश्यक हुन्छ ।

विदेशमा श्रम गर्ने नेपालीको कमाइले तत्काल परिवारको आवश्यकता पूरा गर्नु स्वाभाविक हो । तर त्यसको केही हिस्सा उत्पादन र आयआर्जनमा परिचालन गर्न सके परिवारको आर्थिक अवस्था सुधारिनुका साथै देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । दसैंमा रेमिट्यान्स भित्रिएर बजारमा चहलपहल बढ्नु सकारात्मक हो । अब यसको प्रभाव चाडपर्वमा मात्र सीमित नराखी वर्षभरि टिकाउने वातावरण बनाउनुपर्छ । 

ताजा खबर

सम्बन्धित खबर