२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

बुधबारदेखि मौसम बदली हुने, धान नकाट्न किसानलाई सुझाव

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्ने

Nada
२०८३ कार्तिक ८ गते १३:३०
Shares
बुधबारदेखि मौसम बदली हुने, धान नकाट्न किसानलाई सुझाव

काठमाडौं : बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्नेछ ।

ncell

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली बुधबारसम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहेको लामिछानेले बताए । उक्त प्रणालीको प्रभाव बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा देखिन सक्नेछ । बिहीबारदेखि प्रभाव थप बढ्ने र शनिबार दिउँसोसम्म देशका विभिन्न भूभागमा वर्षा तथा हिमपात हुन सक्ने उनको भनाइ छ ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटक र पैदलयात्रीलाई विशेष सावधानी अपनाउन मौसमविद् लामिछानेले सुझाव दिएका छन् । मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा तथा भ्रमणको योजना बनाउनुअघि महाशाखाबाट जारी हुने आधिकारिक सूचना हेर्न पनि उनले आग्रह गरे ।

वर्षाको सम्भावनाले धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । मौसमविद् लामिछानेले सम्भव भएसम्म आगामी चार दिन धान नकाट्न र मौसम अनुकूल हुने अवस्था हेरेर कात्तिक १५ गतेपछि मात्रै धान काट्ने योजना बनाउन सुझाव दिएका छन् ।

धान काटिसकेको अवस्थामा वर्षाले बाली भिज्ने र गुणस्तरमा असर पर्ने जोखिम हुने भएकाले किसानले मौसमको पूर्वानुमानलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यद्यपि, आइतबार, सोमबार र मंगलबार भने देशभर वर्षा तथा हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

मौसम प्रणालीको अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो पूर्वानुमान नियमित रूपमा हेर्न र सोहीअनुसार कृषि कार्य तथा यात्राको योजना बनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर