२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

बर्सौंपछि आफ्नै आँगनमा दसैं

Nada
सन्ध्या शाह
२०८३ कार्तिक ३ गते ०८:३४
Shares
बर्सौंपछि आफ्नै आँगनमा दसैं

सन् २००९ मा अस्ट्रेलिया आएदेखि जीवनका धेरै चाडपर्व नेपालभन्दा टाढा, परदेशकै भूमिमा मनाउँदै आएकी छु । समय बित्दै जाँदा अस्ट्रेलिया हाम्रो कर्मभूमि बनेको छ । तर दसैं–तिहार आउँदा मन भने अझै नेपालकै आँगन, घरपरिवार र बाल्यकालका ती रमाइला दिनतिर पुगिहाल्छ । 

ncell

दसैं नेपालीको महान् पर्व हो । विदेशमा बसेर दसैं मनाउँदा यसको महत्त्व झन् गहिरो महसुस हुँदो रहेछ । नेपालमा हुँदा चाडपर्व जीवनकै स्वाभाविक हिस्सा हुन्थ्यो– घरमा जमघट, आफन्तसँग भेटघाट, टीका–जमरा, नयाँ लुगा, मिठा परिकार र ठुलाबडाको आशीर्वाद । तर परदेशमा आएपछि त्यही चाडलाई जोगाएर मनाउन आफैंले प्रयास गर्नुपर्छ ।

अस्ट्रेलियामा हामी आफन्त र साथीभाइसँग मिलेर दसैं मनाउँछौं । काम र व्यस्तताबीच समय मिलाएर भेटघाट गर्छौं । घरमा नेपाली परिकार बनाउँछौं । टीका–जमरा लगाउँछौं र नयाँ पुस्तालाई हाम्रो संस्कृति र परम्पराबारे बुझाउने प्रयास गर्छौं । त्यसैले यहाँ मनाइने दसैं एउटा पर्व मनाउनु मात्र होइन । आफ्नो पहिचान र संस्कृतिलाई अर्को पुस्तासम्म पुर्‍याउने अवसर पनि हो । 

तर विदेशमा दसैं आउँदा खुसीसँगै नेपाल र घरपरिवारको सम्झना पनि उत्तिकै गहिरो भएर आउँछ । फोन र भिडियो कलले आफन्तसँग जोडिए पनि आफ्नै घरको आँगनमा बसेर टीका लगाउनु, आमाबुबा तथा आफन्तको हातबाट आशीर्वाद लिनु र सबैसँगै बसेर हाँस्नुको आनन्द त्यसले दिन सक्दैन । त्यसैले परदेशको दसैंमा खुसीसँगै घरको सम्झनाको मिठो पीडा पनि मिसिएको हुन्छ ।

हामी नेपालबाट टाढा छौं, तर नेपाल हाम्रो मनबाट कहिल्यै टाढा भएको छैन । हरेक वर्ष दसैं आउँदा नेपाली समुदायसँग मिलेर आफ्ना संस्कार, परम्परा र मौलिकता जोगाउने प्रयास गर्छौं । यही प्रयासले परदेशमा पनि दसैंलाई आफ्नै घरको चाडजस्तो बनाइदिएको छ । परदेशमा बसेर दसैं मनाउनु मेरा लागि चाड मनाउनु मात्र होइन । यो नेपालसँगको भावनात्मक सम्बन्धलाई जीवित राख्नु, आफ्नो संस्कृतिलाई जोगाउनु र आफ्ना सन्ततिलाई आफ्नो पहिचान हस्तान्तरण गर्नु पनि हो । 

नेपालको माटो, परिवारको माया र दसैंको आत्मीयता जति टाढा भए पनि मनबाट कहिल्यै टाढा हुँदैन । त्यसैले हरेक वर्ष दसैं आउँदा अस्ट्रेलियाको आकाशमुनि बसेर पनि मनले भन्छ, ‘दसैं जहाँ मनाए पनि आत्मा भने सधैं नेपालमै हुन्छ ।’ 

तर यसपटकको दसैं मेरा लागि केही भिन्न छ । परदेशमा बसेर चाडपर्व मनाउँदै आएको लामो समयपछि यसपटक हामी सपरिवार नेपाल जाँदै छौं । आफ्ना प्रियजनसँग लामो समयपछि भेट्ने अवसर पाउँदा मन उत्साह र खुसीले भरिएको छ ।

दसैंको उमंगसँगै परिवारको साथ, आफन्तको भेट र आफ्नै घरआँगनमा बिताउने ती आत्मीय क्षणको प्रतीक्षा गरिरहेका छौं । यसपालि टीका र जमरासँगै वर्षौंदेखि मनमा सँगालेर राखेको घरको सम्झनालाई पनि आफ्नै आँगनमा पुगेर बिसाउनेछौं । 

uae

सम्बन्धित खबर