२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

परदेशमा दसैं : सम्झना, संस्कृति र संघर्ष

Nada
रेशमराज पौडेल
२०८३ कार्तिक २ गते १२:३०
Shares
परदेशमा दसैं : सम्झना, संस्कृति र संघर्ष

नेपालका गाउँघर छाडेर वैदेशिक रोजगारीका लागि विदेश पुगेका लाखौं नेपाली आफ्नो महान् चाड दसैं रमाइलो वातावरणमा मनाउने प्रयासमा छन् । परदेशमा श्रम र संघर्ष गरिरहेका उनीहरू नेपाली हुनुको पहिचान र सांस्कृतिक अस्तित्व जोगाउन अनेक कठिनाइबीच पनि दसैंको झझल्को मेटाउने प्रयास गर्छन् । 

ncell

दसैं भन्नासाथ धेरैलाई बाल्यकालमा आमा–बुबा, साथीभाइ, आफन्त र मान्यजनसँग मनाएका क्षण सम्झना आउँछन् । तल्लो र माथिल्लो घर, पाकेका अम्बा, पहेँलपुर धानखेत, दौतरीसँगको भेटघाट, घण्टौं हिँडेर पुगिने मेला र मायापिरतीका प्रसंग मनमा ताजा हुन्छन् । खेतबारीका धान, घरनजिकैको मन्दिरछेउमा गाडिएको लिंगेपिङ, अभिभावकको हातबाट टीका, जमरा र दक्षिणा थापेको क्षण तथा मिठामिठा परिकारको स्वादले विदेशमा रहेका नेपालीलाई घरको सम्झना दिलाउँछ । 

तर, फरक संस्कृति भएका मुलुकमा काम गर्ने धेरै नेपालीको मुख्य समस्या दसैंमा बिदा नपाउनु हो । कम्पनीले बिदा नदिँदा कतिपयले दसैंको भोलिपल्ट वा अनुकूल समयमा भेटघाट गरेर चाड मनाउँछन् । कपिलवस्तुको पिपरा घर भई हाल मलेसियामा रहेका नवराज घिमिरे भन्छन्, ‘मन आत्तिएर के गर्नु, कम्पनीले बिदा नदिएपछि ।’ 

सञ्जालमा खुसी, मनमा न्यास्रो

परदेशमा रहेका नेपालीले अहिले सामाजिक सञ्जालमार्फत पनि दसैंको सम्झना बाँड्छन् । ह्वाट्सएप, टिकटक र फेसबुकमा आदानप्रदान हुने शुभकामना तथा नेपालका घरआँगनका तस्बिरले उनीहरूलाई भावुक बनाउँछन् । घर फर्किन नपाउँदाको पीडा समेटिएका विरही गीतले पनि धेरैको मन छुन्छन् । 

दसैंका अवसरमा नेपाली संघसंस्थाले नेपालबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेका छन् । तर महँगो टिकटका कारण ती कार्यक्रम सबै श्रमिकको पहुँचमा हुँदैनन् । तैपनि भाषा, संस्कृति र संगीतसँग रमाउन तथा कामको थकान बिर्सन धेरै नेपाली टिकट काटेर कार्यक्रममा पुग्छन् । 

घर जान नपाएका कतिपय नेपाली त्यहीँका पार्क र क्याफेमा भेटघाट गरेर न्यास्रो मेटाउँछन् । उनीहरू अर्को दसैंमा जसरी भए पनि घर जाने आशा गर्छन् । डेढ वर्षदेखि कतारको सनैयामा रहेका कपिलवस्तुका नवीन घिमिरेलाई गाउँको दसैंको सम्झनाले सताउँछ ।

‘झर्झराउँदो जमरा, निधारभरि रातो टीका, दुर्गा भवानीको मन्दिर, बास्ना आउने नयाँ कपडा, लिंगेपिङ, खसीको भुटन, बाबुआमासँगको भलाकुसारी, बुवा र दाजुभाइसँगको ठट्टामस्करी, प्रियसीसँगको मिलन वा दौंतरीको प्रगति, उन्नति एकएक गरेर आँखाअगाडि आउँछन्,’ उनी भन्छन्, ‘तर यहाँको वास्तविकता बेग्लै छ । कम्पनीको रफ्तारसँगै व्यस्त दैनिकीमा मन नलागे पनि घिस्रिनुपर्छ ।’ 

विभिन्न देशमा रहेका नेपाली नियोगले पनि दसैं विशेष कार्यक्रम आयोजना गर्छन् । केही श्रमिक दसैंका दिन दूतावास पुगेर राजदूत तथा कर्मचारीबाट टीका र जमरा लगाउँछन् । यस्ता कार्यक्रमले घरबाट टाढा रहेका नेपालीलाई आफ्नो संस्कृति र समुदायसँग जोडिन सहयोग पु¥याउँछन् । 

चाडपर्वमा संयम र सद्भाव आवश्यक

दसैंमा मासु र मदिरासँगै रमाउने चलनले विदेशमा पनि कहिलेकाहीँ दुःखद घटना निम्त्याउने गरेको छ । सामान्य भनाभनले हिंसाको रूप लिँदा ज्यानै जाने घटना भएका छन् । 

रामेछापका श्याम घिमिरेले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा नेपालीबीच भएको यस्तै घटनालाई सम्झन्छन् । उनका अनुसार अघिल्लो वर्ष एउटै कम्पनीमा कार्यरत जनकपुरका वीरेन्द्र साहले छुरा प्रहार गर्दा पाँचथरको प्राङ्बुङका रञ्जित खपांगीको ज्यान गएको थियो । अबुधाबीको तन्जिफ्को नामक सरसफाइ कम्पनीमा कार्यरत नेपालीबीच दसैं मनाउने क्रममा भएको सामान्य भनाभनले उग्र रूप लिएको उनले बताए ।

दसैं मनाउने नाममा कामदार बस्ने शिविरमा मदिरा सेवनपछि झगडा हुँदा साथीभाइबीचको सम्बन्ध बिग्रने मात्र होइन, गम्भीर दुर्घटनासमेत निम्तिन सक्छ । नेपाली श्रमिकको मिहिनेतबाट खुसी हुने रोजगारदाता चाडपर्वमा देखिने उच्छृंखल व्यवहारबाट खिन्न हुन सक्छन् । घिमिरे भन्छन्, ‘सकेसम्म यस्ता हिंसाका घटनाबाट टाढा रहेर मितव्ययी बनी आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार चाड मनाउने हो भने मन हलुंगो हुन्छ, घर जान नपाएको न्यास्रो मेटिन्छ ।’ 

अर्थतन्त्रमा योगदान, संस्कृतिमा पहिचान

उपलब्ध विवरणअनुसार वैधानिक प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या ४३ लाख नाघेको छ । रोजगारीका लागि विदेश जाने नेपालीको इतिहास लामो छ । उनीहरूसँगै नेपाली भाषा, संस्कृति र परम्परा पनि विभिन्न देशमा फैलिएका छन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएका छन् । उनीहरूले पठाउने विप्रेषणले परिवारको जीविकोपार्जन, शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि ठुलो भूमिका खेलेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान करिब ३० प्रतिशत रहेको उल्लेख गरिन्छ ।

तर विदेशमा रहेका सबै नेपालीको दसैं अनुभव एउटै छैन । कतिपय जन्मघर र आफन्तको सम्झनाले भावुक हुन्छन् भने कतिपय देशको प्राकृतिक विपत्ति वा बिग्रँदो राजनीतिक तथा सामाजिक वातावरण सम्झेर खिन्न हुन्छन् । उनीहरूका आकांक्षा र अनुभूति देश, काम र परिस्थितिअनुसार फरक हुन्छन् । 

भनिन्छ– शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ र परम्परा हराए पहिचान कमजोर हुन्छ । परदेशमा रहेका अधिकांश नेपालीले कठिन परिस्थितिमा पनि दसैं मनाएर आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउने प्रयास गरिरहेका छन् । उनीहरूका लागि दसैं मनोरञ्जनको अवसर मात्र होइन, जन्मभूमि, परिवार र नेपाली पहिचानसँग जोडिइरहने माध्यम पनि हो ।

uae

सम्बन्धित खबर