
यही भदौ २३ र २४ गते जेनजीका युवाहरूले देशभर आक्रामक आन्दोलन गरे । युवालाई राष्ट्रको राजनीतिको हरेक तह र स्तरमा स्थान नदिँदाको प्रत्यक्ष परिणाम थियो, त्यो आन्दोलन । यही घटनाले राष्ट्रलाई ठुलो क्षति पुर्यायो, जसको पुनर्निर्माण गर्न अबका ५० वर्ष लाग्ने अनुमान गरिएको छ । यसले फेरि एकपटक स्मरण गराउँछ– २०१० साल कात्तिक १० गते विश्वेश्वरप्रसाद कोइरालाले युवालाई राजनीतिको अग्रभागमा राख्नुपर्ने ठानेर सिंहध्वज खड्काको अध्यक्षतामा ‘नेपाल तरुण दल’ गठन गरेका थिए । युवालाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ भन्ने सोच त्यसै समयका समाजवादी नेतामा थियो र पहिलो जननिर्वाचित प्रधानमन्त्रीको यो दूरदृष्टिपूर्ण विचार आज पनि उत्तिकै सान्दर्भिक छ ।
नेपाल तरुण दल नेपाली कांग्रेसको आधिकारिक युवा संगठन हो । यसको स्थापना २०१० साल कात्तिक १० गते तत्कालीन नेपाली कांग्रेसका प्रमुख नेता बिपी कोइरालाको अग्रसरतामा भएको हो । तरुण दलको पहिलो अध्यक्ष सिंहध्वज खड्का थिए । संगठनको उद्देश्य स्पष्ट थियो— राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको संरक्षण गर्दै युवालाई चेतनशील, सचेत र जिम्मेवार बनाउँदै पार्टीको वैचारिक धारमा प्रशिक्षित गर्ने ।
संगठनको स्थापना केही वर्षपछि नेपाली राजनीतिमा ऐतिहासिक मोड आयो । २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममै बोल्दै गर्दा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजा महेन्द्रले ‘कु’ गरे । उनले संविधान निलम्बन गरी निर्वाचित सरकारलाई अपदस्थ गर्दै निरंकुश पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । जहाँ संगठनले लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा पहिलोपटक राज्यद्वारा प्रताडित हुनुपर्यो । त्यो व्यवस्था अन्ततः ३० वर्षपछि २०४६ चैत २६ गते जनआन्दोलनमार्फत अन्त्य गरियो । जसमा तरुण दलका युवाहरूको सशक्त सहभागिता रह्यो । पञ्चायती व्यवस्थाका केन्द्रदेखि गाउँ तहसम्मका संरचना भंग गरिएर बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो ।
तरुण दललाई यदि कांग्रेस नेतृत्वले २०४८ सालपछिको बहुदलीय लोकतन्त्र पुनर्स्थापनापश्चात् प्रभावकारी रूपमा प्रयोग गर्न सकेको भए, मुलुकको युवा राजनीति आज यो अवस्थामा पुग्ने थिएन । तर गुटबन्दी, गुटअनुसारको नियुक्ति, आन्तरिक स्वार्थ र योग्यताको उपेक्षाले संगठनको उद्देश्य धुमिल बन्यो । राजनीति मूल बाटोमा डोरिनुको सट्टा गुटगत वर्चस्वको मैदान बन्यो र त्यसले युवा नेतृत्व उत्पादन गर्ने ‘पाठशाला’ भन्ने पहिचान समाप्त पार्यो ।
संस्थागत रूपमा यो संगठन सशक्त बन्दै जाँदा प्रतिगामी शक्तिहरूबाट प्रहार पनि बढ्यो । राणा–राजतन्त्रकालीन संरचना भत्काउन खोज्दा र पञ्चायत विरोधी आन्दोलनमा युवाको ठुलो सहभागिता बढ्दा सत्ता पक्षले नै यस संगठनलाई कमजोर बनाउने प्रयास गर्यो । बहुदलपछिको युगमा पनि यो संगठनमा गुटगत विभाजन हाबी भयो । क्षमताको मूल्यांकनभन्दा गुटको वरिपरि घुम्ने प्रणालीले संगठनमा गतिशीलता घटायो । जसले गर्दा तरुण दल ‘युवा नेतृत्वको पाठशाला’को सट्टा ‘गुटगत नियुक्तिको मञ्च’ बन्न पुग्यो ।
हाल देशको वास्तविक अवस्था हेरौं, अधिकांश युवा वैदेशिक रोजगारीमा छन् । खाडी मुलुकहरूमा पसिना बगाइरहेका तिनै युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान छ । प्लस टु पास गरेका युवायुवतीहरू पिआर पाउने देशतिर लागेका छन् । धेरैले पिआर पाएपछि नेपालमा रहेको आफ्नो जमिनसमेत बिक्री गरेर उतै लगेको तथ्यहरू सार्वजनिक छन् । यसरी हेर्दा नेपालबाट युवाशक्ति लोप हुने अवस्थामा पुगेको छ । बाँकी रहेका युवामा क्षमताको कमी छैन तर उत्साहको अभाव छ, अवसरको अभाव छ र सही मार्गनिर्देशनको पूर्ण अभाव छ ।
अब नेपाली कांग्रेसले फेरि एकपटक एकलौटी सरकार बनाउने अवस्था देखिँदै छ । यो अवसरलाई नेतृत्वदायी पुनर्जागरणका रूपमा उपयोग गर्न सकिएन भने युवा पुस्ता सधैंका लागि राजनीतिप्रति वितृष्णावादी बन्न सक्छ । त्यसैले अब युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न दीर्घकालीन राष्ट्रिय नीति आवश्यक छ । तरुण दलजस्ता संगठनलाई गुटगत सञ्जालमुक्त गर्दै युवाहरूलाई सोच, दृष्टिकोण र क्षमताअनुसार नेतृत्वदायी भूमिकामा ल्याउनुपर्छ ।
२०४८ सालपछिका गल्तीहरूसँग आत्ममन्थन गर्दै कांग्रेसले आफ्ना सहायक संगठनहरूलाई केवल प्रचार माध्यम होइन, नीति कार्यान्वयन र सुझावदाताको भूमिकामा उतार्नुपर्छ । नयाँ विचार, नयाँ जोस र निडर नेतृत्व दिने युवाहरूलाई अघि ल्याएर संगठनमा भरोसा र गतिशीलता फिर्ता ल्याउनुपर्छ ।
नेपाल तरुण दलको स्थापना राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको रक्षा गर्दै युवालाई जिम्मेवार नेतृत्वमा उतार्ने उद्देश्यसाथ भएको थियो । तर आज त्यो उद्देश्य स्मृतिमा सीमित हुन थालेको छ । यदि कांग्रेसले फेरि एकपटक प्राप्त गर्न लागेको जनमतको अवसरलाई दक्ष युवा नेतृत्व उत्पादन गर्ने दिशामा प्रयोग गर्न सकेन भने यो पुस्ताको ऊर्जा सधैं वैदेशिक पलायनमै सीमित हुनेछ ।
तर अझै ढिलो भइसकेको छैन । तरुण दलको पूर्ण पुनरावलोकन, संगठनात्मक सुधार र भविष्य–केन्द्रित नेतृत्व विकासको खाँचो झनै बढेको छ । आजको यथार्थ बुझेर, नेतृत्व चयन क्षमताका आधारमा गर्दै, युवालाई राष्ट्र निर्माणमा सक्रिय बनाउनु नै तरुण दलको वास्तविक पुनर्जागरण हुनेछ ।