२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

पुष्प खेती र नेपालको अर्थतन्त्र

shivam cement
रामहरि कार्की
२०८२ कार्तिक २ गते ०६:१०
पुष्प खेती र नेपालको अर्थतन्त्र

–रामहरि कार्की

दसैँको उल्लास ओर्लिँदै जाँदा हिन्दु धर्मावलम्बीहरूलाई प्रकाश, फूल र आत्मीयताले भरिएको पर्व ‘तिहार’ ढोका ढकढक्याउँदै घरआगनमा आउँछ । तिहार केवल उज्यालो र मिठाइको पर्व मात्र होइन, यो ‘फूलहरूको पर्व’ पनि हो । उज्यालो र सुगन्धको मेलबाट सम्बन्ध, आत्मीयता र सहअस्तित्वको सन्देश दिने यो पर्व नेपाली सांस्कृतिक जीवनको सुन्दरतम प्रतीक हो । तिहारमा देउसी–भैलोको गीतले बस्ती गुन्जिन्छ । दियोको प्रकाशले घर–घर उज्यालो हुन्छ । फूलको रङ र सुगन्धले हरेक हृदयमा उल्लास भर्छ । तिहारले आध्यात्मिक अर्थमा मात्र होइन, आर्थिक दृष्टिले पनि नेपालमा पुष्प खेतीको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ ।

तिहार र फूल

तिहारमा फूल केवल सजावटको साधन मात्रै होइन, यो सौन्दर्य, श्रद्धा र शुद्धताको प्रतीक पनि हो । सयपत्री, मखमली र गोदावरी–यी तीन फूल तिहारका मुख्य आकर्षण हुन् । ती फूलहरूले घर मात्र होइन, भावनात्मक सम्बन्ध पनि सजाउँछन् । वनस्पतिविद्हरूका अनुसार फूल वायुमण्डलको विषाक्तता हटाएर वातावरण शुद्ध गर्छ । यसको रङ, सुगन्ध र कोमलताले मानिसको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ । त्यसैले तिहारका दिन फूलको माग ह्वात्तै बढ्छ । हिन्दु धर्मशास्त्रमा फूललाई देवताप्रति श्रद्धा र समर्पणको माध्यम मानिएको छ । फूल अर्पण गर्दा मन शुद्ध हुन्छ र कर्म पवित्र हुन्छ भन्ने धार्मिक विश्वासले तिहारमा यसको प्रयोग अझ गहिरो बनाएको छ ।

सयपत्री, मखमली र गोदावरी नेपालका रैथाने फूल होइनन् । यी सबै विदेशी उत्पत्तिका फूल हुन्, जसले अहिले नेपाली माटोमा आफ्नो स्थायी स्थान बनाइसकेका छन् । सयपत्रीको उत्पत्ति दक्षिण अमेरिका, मेक्सिको र वरपरका देशमा भएको मानिन्छ । स्पेनी अन्वेषकहरूले यसलाई युरोप पुर्‍याए र त्यहाँबाट संसारभर फैलियो । नेपालमा कहिले सयपत्री फूल भित्रिएको भन्ने यकिन तथ्यांक छैन । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सन् १८५५ तिर बेलायत पठाएको उल्लेख गरेको पनि पाइन्छ । अहिले नेपालमा सयपत्रीका १५ भन्दा बढी प्रजाति फुलाइन्छन् ।

मखमली फूल दक्षिण अमेरिकी देशहरू ब्राजिल, पानामा र ग्वाटेमालाबाट नेपाल भित्रिएको मानिन्छ । यसको गोलाकार आकार र मृदु बनावट प्रेम, आत्मीयता र स्थायित्वको प्रतीक हो । त्यस्तै, गोदावरी फूल चीन र जापानमा प्राचीन कालदेखि फुलाइने फूल हो । अठारौँ शताब्दीदेखि यो विश्वभर फैलियो र अहिले अमेरिकाको सिकागो सहरको आधिकारिक फूलसमेत बनेको छ । नेपालमा पनि यसको प्रयोग तिहारका बेला अत्यधिक हुन्छ । यी सबै फूलहरू नेपालमा व्यावसायिक रूपमा उत्पादन गर्न थालिएको धेरै समय भएको छैन, तर नेपाली माटो र मौसमले ती फूलहरूलाई राम्रोसँग आत्मसात् गरेको छ ।

फूलको व्यवसायिकता

नेपालमा पुष्प खेतीको सुरुवात विसं २०११ तिर सामान्य रूपमा भएको हो । तर २०५० पछि यसले व्यावसायिक रूप लिन थाल्यो । जीवनशैलीमा आएको परिवर्तन, सहरीकरण र सौन्दर्यप्रतिको आकर्षणले फूल उद्योगलाई तीव्र गतिमा अघि बढाएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार अहिले देशभरका ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती हुँदैछ । यसमा करिब एक हजार २३५ व्यवसायी यस क्षेत्रमा संलग्न छन् । यस क्षेत्रमा हालसम्म करिब आठ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको लगानी भइसकेको छ, र ५३ हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन् । यसले कृषि व्यवसायलाई नयाँ आयाम दिएको छ ।

तिहारका बेला नेपालभर फूलको बजार अत्यधिक सक्रिय हुन्छ । सयपत्री, मखमली र गोदावरी फूलका मालाको बिक्री देशभर हुने कुल फूल कारोबारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ । गत वर्षको तुलनामा यस वर्ष फूलको बजार अझ फस्टाएको एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् । गत वर्ष करिब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस वर्ष ४० करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ । सयपत्रीका ४० लाख, मखमलीका ३ लाख ५० हजार र गोदावरीका २० हजार मालाको खपत हुने अनुमान गरिएको छ । नेपालमा अहिले व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन भइरहेका छन्, जसमा सजावटी, धार्मिक र सुगन्धित फूलहरू प्रमुख छन् ।

नेपालमा उत्पादित फूलहरू अब घरेलु मागमै सीमित छैनन् । भन्सार विभागका अनुसार आव २०८०÷८१ मा एक करोड दुई लाख रुपैयाँ बराबरको फूल तथा पुष्पजन्य वस्तु निर्यात भएको थियो । २०८१/८२ मा यो रकम बढेर दुई करोड १३ लाख रुपैयाँ पुगेको छ । नेपालका फूलहरू अहिले जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा र युएईजस्ता देशहरूमा निर्यात भइरहेको छ । नेपाली फूल विशेषगरी धार्मिक समारोह, विवाह र होटल–रेस्टुरेन्ट सजावटका लागि विदेशी बजारमा लोकप्रिय बन्दै गइरहेका छन् ।

रोजगारी र आत्मनिर्भरता

नेपालको कुल कृषि उत्पादनमा पुष्प खेतीको हिस्सा हाल कम देखिए पनि यसको आर्थिक प्रभाव बढ्दो छ । पुष्प व्यवसायले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हजारौँ मानिसलाई रोजगारी दिएको छ, सहरी बजारमा ठूलो आर्थिक चलायमानता ल्याएको छ । महिला उद्यमशीलतालाई बलियो बनाएको छ । फूलको सुगन्धसँगै अब नेपाली माटोमा ‘आर्थिक समृद्धिको गन्ध’ पनि फैलिन थालेको छ । पुष्प खेती अब केवल सुन्दरता र संस्कृतिको प्रतीक होइन, रोजगारी, आत्मनिर्भरता र निर्यात क्षमताको नयाँ आधार बनिरहेको छ ।

पुष्प खेतीले नेपालको ग्रामीण अर्थतन्त्रमा नयाँ सम्भावना र आयको स्रोत सिर्जना गरेको छ । सहर वरिपरिका कृषकहरू जमिन भाडामा लिएर वा आफ्नै जमिनमा पुष्प खेती गर्न थालेका छन् । कोभिड–१९ महामारीले केही समय यस क्षेत्रलाई असर पारे पनि अहिले बजार पुनः सशक्त बनेको छ । पूजाआजा, विवाह, स्वागत–बिदाइदेखि अन्त्येष्टिसम्म फूलको प्रयोग हुने भएकाले यसको माग स्थायी छ ।

सहरमा फूल पसल र नर्सरीहरूको संख्या तीव्र गतिमा बढ्दै छ । काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, विराटनगर, धरान, नेपालगन्ज र चितवनजस्ता सहरहरूमा पुष्प व्यापार अत्यधिक फस्टाएको छ । पुष्प खेतीमा संलग्न धेरै किसान महिला र युवाहरू हुन्, जसले यो क्षेत्रमा आत्मनिर्भरता र रोजगारीको नयाँ बाटो खोलेका छन् ।

चुनौती र सुधारका सम्भावना

पुष्प खेतीसँगै केही चुनौतीहरू पनि छन् । उत्पादन लागत उच्च हुनु, प्राविधिक ज्ञानको अभाव, भण्डारण र ढुवानी प्रणाली कमजोर हुनु यसका मुख्य समस्या हुन् । त्यसैगरी, मौसमीय परिवर्तन र रोग–कीराले उत्पादनमा असर पार्ने गर्छ । तर सम्भावना विशाल छ । नेपालमा विविध जलवायु र माटोको संरचना भएकाले यहाँ करिब सबै प्रजातिका फूल उत्पादन गर्न सकिन्छ । यदि सरकार र निजी क्षेत्रबिच सहकार्य गरेर कोल्ड–स्टोरेज, प्रविधि र बीउ अनुसन्धान केन्द्रहरू विस्तार गरियो भने नेपाल फूल निर्यातमा आत्मनिर्भर बन्न सक्छ ।

निष्कर्षमा

तिहारको उज्यालोले जस्तै पुष्प खेतीले पनि नेपालको अर्थतन्त्रमा नयाँ चमक ल्याएको छ । सयपत्री, मखमली र गोदावरी अब केवल सजावटका फूल होइनन् । यी आर्थिक प्रगतिको स्रोत बनेका छन् । पुष्प खेतीले रोजगारी, उद्यमशीलता र आत्मनिर्भरताको बाटो खोलिरहेको छ । नेपालले आफ्नो प्राकृतिक सुन्दरतासँगै फूल उद्योगलाई बढाउन सके, त्यसको सुगन्धले समृद्ध नेपालको सपना पूरा गर्न सहयोग गर्नेछ ।

(लेखक कार्की, नेपाल पत्रकार महासंघ, ललितपुरका अध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise