२०८२ कार्तिक २ गते आइतवार / Oct 19 , 2025 , Sunday
२०८२ कार्तिक २ गते आइतवार
Ads

आयुर्वेद र धन्वन्तरि

shivam cement
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८२ कार्तिक २ गते ०६:०५
आयुर्वेद र धन्वन्तरि

कार्तिक कृष्ण त्रयोदशी धन्वन्तरि जयन्ती आयुर्वेदको उदयको दिन हो । कार्तिकमासको आरम्भसँगै घरघरमा तुलसी संजीवनीको रूपमा पूजा आराधना, आकाशदीप दानदेखि कार्तिक स्नानको महत्व उजागर हुँदैछ । सत्ययुगमा देवता र दानवहरू मिली आपसी सम्झौता गर्दै समुद्र मन्थन गर्दा पृथ्वीका गर्भगृहबाट धेरै वस्तुहरूको प्राप्ति भएको थियो । मन्दराचल पर्वतलाई मदानी बनाई, ठेकीको रूपमा प्रयोग भएको समुद्र र त्यो डुब्न लाग्दा श्रीहरिले कुर्म अवतार लिई आफ्नै पिठ्युँमा धारण गरेका थिए । शेषनागको नेतीले समुद्र मन्थन गर्दा सर्वप्रथम कालकूट, हलाहल विष निस्कँदा, आजको भयावह एटोमिक ऊर्जा सहितको आणविक हतियारभन्दा चर्को, संसारलाई नै एकैपल्ट ध्वस्त गर्न सक्ने विष पैदा भएको थियो । श्रीशिवले त्यसलाई आफ्नै घाँटीमा राखी संसारलाई दग्ध हुनबाट रोकिएको प्रसंग र तिनै शिवले चिसो स्थान खोज्दै उत्तरापन्थतिर लाग्दा हालको रसुवा धुन्चे माथि रहेको एक पहाडी चट्टानमा त्रिशूल प्रहार गर्दा नदी त्रिशूलीको उदय भएको र अझसम्म श्रीशिव त्यहीँ विराजमान रहनु भएको कथा प्रसंगहरू भागवत महापुराणलगायत स्कन्दपुराणको हिमवत्खण्डमा वर्णित छन् ।

समुद्र मन्थन गर्दा लक्ष्मीको उदय हुँदा श्रीहरिले स्वीकारेको, उच्चैश्रवा घोडा स्वर्गका लागि तय भएको, महान् पारिजात वृक्ष पनि देवतालाई, अन्यान्य वेदहरू ऋषि महर्षिहरुलाई, ऐरावत हात्ती स्वर्गमै र वारुणी मदिरा दानवहरूलाई दिइएको र अन्त्यमा अमृत प्राप्त हुँदा देवताहरूलाई वितरण गर्न श्रीहरिले मोहिनी अवतार लिएको कथा शास्त्रमा पाइन्छ । जहाँ देवताहरूकै हारमा बसेर दानव राहुले पनि अमृत पान गरेको प्रसंगले सूर्य र चन्द्रमाले उजुरी गर्दा तिनलाई द्वेष गरी ग्रहण लाग्ने गरेको प्रसंगका साथमा समुद्र मन्थनबाटै श्रीहरिले अर्को अवतार धन्वन्तरि अवतार लिएको भेटिन्छ । सर्वकल्याण हेतु सबैको आयु वृद्धि गर्ने जडीबुटीसहितको शास्त्र आयुर्वेद लिएर उपस्थित भएको र तिनै शास्त्रको आधारमा परम्परागत चिकित्सा सञ्चालन भइरहेको हो ।

आयुर्वेदमा योगशास्त्र पनि परेको र प्राकृतिक चिकित्साले अहिलेसम्म धेरै रोगको रोगनिरोधक शक्ति सञ्चय भइरहेको छ । अहिले व्यापक एलोपेथी विज्ञानको उदयपछि आयुर्वेदलाई वैकल्पिक चिकित्साको रूपमा हेरेको छ भने हाम्रो देशमा स्वास्थ्य विज्ञानमा अभूतपूर्व परिवर्तन र विकासपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेदसम्बद्ध धेरै विभाग, संस्था संयन्त्रहरू रहेका छन् । साइड इफेक्ट नहुने, लामो समय आयुर्वेदीय औषधिले मानिसलाई राम्रो गरेका विषयहरू पनि छन् भने यसको कच्चा पदार्थ जडीबुटीको केन्द्र स्थल नै हो हाम्रो नेपाल । हिमाली, पहाडी मात्रै नभएर हरेक वनस्पति तत्वमा महौषधि रहेको र हरेक संस्कृत शब्द, वर्ण, अक्षरमा मन्त्र नै भएको पाइन्छ । योगशास्त्रका प्रथम गुरु शिवभूमि पनि हो हाम्रो देश नेपाल । जल, जमिन, जङ्गल र जडीबुटी नेपालका मौलिक चिनारी हुन् । यस क्षेत्रको अपार सम्भावनाले नै देश समृद्ध हुन सक्छ ।

हाम्रो देशका सबै क्षेत्रमा जडीबुटीका सम्भावना छन् । प्रदेशगत सम्भावनालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा तेजपात, कुरिलो, रिठ्ठा, डालेचुक धेरै पाइन्छ । कर्णाली प्रदेशमा कुड्की, अतीस, जटामसी, काउलो, टिमुर धेरै पाइन्छ । लुम्बिनी प्रदेशमा काउलो, तेजपात, टिमुर, सुगन्धकोकिल धेरै पाइन्छ । बागमती प्रदेशमा चिराइतो, लोठसल्ला, सतुवा, धसिँगरे धेरै पाइन्छ । मधेशमा हर्रो, बर्रो, कुरिलो, अमला, लेमनग्रासले प्रख्यात छ भने कोशीमा लोठसल्ला, चिराइतो, तेजपात र धसिँगरेको सम्भावना धेरै छ । जडीबुटीको अधिक सम्भावना भए पनि यस क्षेत्रमा राज्यको आँखा जान सकेको छैन, सरकारी नीति स्पष्ट छैन । एलोपेथीले एकछत्र राज गरेका बखत, एलोपेथी आउनु अघिदेखि मानव स्वास्थ्यमा योगदान गरिरहेको जडीबुटी भने ओझेलमा परेको छ । बजेटमा समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरी जडीबुटीमा आधारित उद्योगको विकास गरिने उल्लेख हुन्छ, हरेक साल । 

जडीबुटीको व्यवसायिक खेती विस्तार गर्दै प्रशोधन, बजारीकरण र विशिष्ट ब्राण्डिङ गरी निर्यात गर्ने उल्लेख हुन्छ । कर्णाली लगायतका हिमाली क्षेत्र र सुदूरपश्चिम प्रदेशमा जडीबुटी विकास विशेष कार्यक्रम सञ्चालन गरिने, जडीबुटी उत्पादन तथा कम्पनीको क्षमता अभिवृद्धि गर्दै नवीन प्रविधिको प्रयोग गरी गुणस्तरीय उच्च मूल्यका जडीबुटीजन्य वस्तु उत्पादन गर्ने भन्ने बजेटका बुँदाहरूमा पर्छन् नै, तर उल्लेखनीय प्रगति यस क्षेत्रमा छैन ।

जडीबुटीको दायरा ठूलो छ । भनिन्छ, रोग लागेर उपचार गर्नुभन्दा रोगै नलाग्न दिनु राम्रो हो । हिजोआजको खानपान र जीवनशैलीका कारण मानिसको आयु पूर्ण आयु हुन सकेको छैन । विदेशी मुद्रा आर्जनको नाममा हामीले वनस्पतिजन्य जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र निर्यात गर्ने प्रयत्न गरेका छौँ । आफंैले प्रशोधन गरेर आफ्नै स्रोत र प्रविधिले यसको मूल्य अभिवृद्धि गर्न सकिएन । देशभित्रैको प्रयोग बढाउन सके अर्बौँ रकमको एलोपेथी औषधि आयातलाई हामीले सजिलै प्रतिस्थापन गर्न सक्छौँ । यसको उत्पादनको क्षेत्र पनि व्यापक छ । हामी हिमालको काखमा छौँ, अपार जलबाट ऊर्जाको व्यापक सम्भावना भए पनि हिमाली, उच्च पहाडी क्षेत्रबाट आफैं उब्जनी हुने र थप सम्भावना बोकेको क्षेत्र ओझेलमा परेको छ ।

ADV

सम्बन्धित खबर

Advertise