छुदेन काविमोका सिर्जनाको चर्चा उनको मातृभूमि कालिबुङमा जति हुन्छ, सम्भवतः त्योभन्दा धेरै नेपालमा हुन्छ । कथा लेख्दै उपन्यासतर्फ मोडिएका उनको दोस्रो उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार प्राप्त गरेको छ । त्यसो त उनको पहिलो उपन्यास फातसुङ पनि धेरै रुचाइएको आख्यानमा पर्छ, जुन अंग्र्रेजी, बंगाली, सिन्धी र हिन्दी भाषामा अनुवाद गरिएको छ । मदन पुरस्कार लिन काठमाडौं आएकाबेला मध्यान्हकर्मी अस्मिता बमले काविमोसँग कुराकानी गरेकी छन् ।
उरमालले मदन पुरस्कार पाउला भन्ने अपेक्षा थियो ?
लेखकले पुरस्कार नै पाउँछ भन्ने अपेक्षा सायद गर्दैन । हाम्रो अपेक्षा भनेको पाठकले किताबलाई कसरी लिन्छ भन्ने चाँहि हुन्छ । मलाई चाँही त्यो किताबले पुरस्कार पाउँछ भन्ने अपेक्षा थिएन । त्यसले पाठकको माया पाउँछ कि पाउँदैन अथवा पाठकले त्यसलाई कसरी लिन्छ भन्ने डर र चुनौती थियो । त्यसपछि पाठकहरूले मन पराइदिनुभयो, बाठो बनाइदिनुभयो र यहाँसम्म पुगियो ।
उरमाल मदन पुरस्कारका लागि छनोट भयो भन्ने सुन्नेबित्तिक्कै तपाईंको मनमा झट्टै आइहालेको पहिलो कुरा के थियो ? के सम्झनामा आयो ?
ठ्याक्कैभन्दा मान्छेलाई दुःख मात्र होइन सुख आउँदा पनि थेग्न गाह्रो हुँदो रैछ एकदमै । मलाई चाहिँ त्यस्तै खालको फिल भयो । त्यसपछि फोन साइलेन्समा राखेर लामो सास ताने । म नदीको किनारमा थिएँँ त्यतिखेर । मलाई माया गर्नेलाई, मेरो किताब माया गर्नेलाई, मेरा पाठकलाई सम्झिएँ । त्यसपछि पालैपालो कथाका पात्र सम्झिएँ । त्यस्तै थियो मेरो फस्ट रियाक्सन ।
उरमाल कस्तो उपन्यास हो ?
यो सामाजिक उपन्यास हो । यो चियाकमानमा काम गर्ने, जो श्रमिकहरू छन् । जुन चाहिँ चिया पिएर दिनको सुरुवात गर्छन्, तिनै चिया उमार्नेहरूको कथा हो यो । डुवर्स भन्ने क्षेत्र छ एउटा भारत र भुटानबीचको सिमानामा । उनीहरूको संघर्षमय इतिहास, उनीहरूको पीडा र सुस्केराको कथा हो ।
कसरी जन्मियो यो उपन्यास ?
फात्सुङ आइसकेपछि मलाई के लेख्ने भन्ने च्यालेन्ज थियो । अनि त्यो फान्सुङमार्फत धेरै मान्छेको रेस्पोन्स आयो । त्यसपछि चाहिँ दोस्रो उपन्यासमा के लेख्ने भन्ने च्यालेन्ज दियो । त्यो च्यालेन्जबीच चाहिँ कुन कन्टेन्ट छान्ने भन्दा, के लेख्ने के लेख्ने हुँदा लुओसमा एउटा कम्युनिटी छ । जहाँ चाइल्ड म्यारिज हुन्छ । सर्कल हुन्छ । १४÷१५ वर्षमा बिहे हुन्छ, छोराछोरी हुन्छन् । एकचोटि गएर बुझौं भनेर डुवर्स गएको थिएँ । तर त्यहाँ गएपछि त्यहाँका आदिवासी र नेपाली समाजको संघर्ष, चियाबगानको दुःख, मान्छेको पीडा, बिहान ४ बजे उठेर ७ बजेसम्म साइरनको धुनसँग चियाकमान पुग्नुपर्ने । त्यो कारखानामा पुग्नुपर्ने । फेरि बेलुतिर टाउकोमा दाउरा बोकेर फर्किंदै गरेको दृश्य देखिसकेपछि मलाई यहाँको कथा लेख्नु जरुरी लाग्यो । त्यही संघर्षबाट उरमाल जन्मियो ।
यो पुस्तक लेख्न तपाईंलाई कुन कुराले प्रेरित गर्यो ?
लेखनमा प्रेरणा हुनुपर्छ भन्ने म खासै विश्वास गर्दिनँ । मेरो काम हो कथा खोज्ने । म चाहिँ लेख्दा हरेक मान्छेसँग जाने बुझ्ने गर्छु । त्यसरी नै बन्यो ।
नेपालमा भारतीय नेपालीभाषी साहित्यकारलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
तपाईं कसरी हेर्नुहुन्छ ? (हाँसो) कला, साहित्य, संगीत चाहिँ यस्तो हो जसलाई सिमानाले बाँधी बस्दैन । हामी लेख्दा भारतीय मूलको हो भन्न जरुरी छैन । पोलिटिकल कुरामा नागरिकताको कुरा आउँला । तर तपाईं जब संगीतमा आउनुहुन्छ, हामी भुुल्छौं । जुनसुकै ठाउँमा भए पनि हाम्रो संघर्ष, हाम्रा पीडा, दुःख एउटै हुन्छ । त्यही भएर त्यसले छुन्छ । त्यसैले मचाँहि त्यहाँबाट यहाँ आउँदा कहिले पनि बाहिरको जस्तो फिल हुँदैन । सिमाना एक ठाउँमा छँदै छ तर जब मान्छेहरू भेट्छु । उनीहरूले प्रेम दर्साएको देख्छु, त्यतिबेला त म त झन् ऊर्जावान् भएर फर्किन्छु । उत्साहित भएर फर्किरहेको हुन्छु । त्यसरी ग्याप राखेर कहिल्यै हेरेको छैन ।
भारतमा नेपालीभाषी साहित्यलाई हेर्ने दृष्टिकोण नि ?
हाम्रो साहित्य एउटै हो । हामीलाई भाषा साहित्यले त जोडेको हो । साहित्यको एउटा तागत त्यो पनि होला । नेपाली साहित्य भनिसकेपछि एउटा ठाउँमा छ नेपाली साहित्य । भारोपेली नेपाली साहित्य भन्ने त छ तर कुनै पनि किताब अनुवाद भएर गयो भने त्यो किताब भएर जाने हो । नेपाली साहित्यको किताब भएर जाने हो । त्यतिबेला भारत–नेपाल भन्ने बिर्सिरहेका हुन्छौं ।
आफूले रचेको साहित्यको प्रभाव कस्तो पर्ला भन्ने लेख्नुअघि सोच्नुहुन्छ कि लेखिसकेपछि ?
ओहिन्द्रिको एउटा लाइन छ ‘कथा त्यो लेख जसले तपाईंको मनलाई खुसी दिन्छ । पहिले चाहिँ आफ्ना लागि हो नि त । मैले यो इस्यु उठाउनुपर्छ । यसले मलाई सन्तुष्टि दिन्छ । त्यहीँ भएर पहिले आफ्ना लागि लेख्ने । लेख्दा सोच्या हुँदैन यसको नाम यस्तो हुन्छ, कभर यस्तो हुन्छ । प्रभाव सोचिँदैन । लेख्दा आफूबगेर जाने हो । त्यसलाई इन्जोइ गर्ने हो । यात्रामा जाने हो । किताब आएपछि प्रभाव सोचिने हो ।
कृतिका धेरै पात्र समाजबाट उठाएर ल्याइन्छ, जुन पहिले नै देखिएको हुन्छ । कहिलेकाहीँ आफूले जन्माएका पात्र अचानक भेटिएको क्षण छ ?
म लेख्दा रिसर्च बेस नै लेख्छु । मेरो दुइवटै उपन्यास त्यही हो । यो उपन्यासमा एउटा क्यारेक्टर छ । त्यो विधुवा महिलाको छोरा मर्छ । चितुवाले लगिदिन्छ । त्यो वास्तविक घटना हो । कथा सुनेर लेखेको । त्यो लेख्दा म आफैंलाई गाह्रो भा’थ्यो ।
तपाईं पुस्तक किन लेख्नुहुन्छ ?
आफूले आफूलाई चिनाउने एउटा माध्यम किताब हो । हरेक मान्छेभित्र एउटा समवेदना हुन्छ, मान्छे हुन्छ । जसले तपाईंले गलत गर्दा यो गलत काम हो भनेर बताइदिन्छ । अनि त्यो समवेदनालाई जोगाइराख्ने काम सायद किताबले गर्छ । संसारमा जे जति कुरा छ त्यो कल्पनाबाट आउँछ । त्यो कल्पना किताबले दिन्छ । त्यसकारण किताब पढ्नुपर्छ ।
अरूका कृति कत्तिको पढ्नुहुन्छ ?
म पढ्छु । जति लेखे पनि, जति लेखे पनि राइटिङ सिक्ने प्रक्रिया हो । त्यो सिक्ने कसरीभन्दा फेरि हरेकको आफ्नो–आफ्नो तरिका हुन्छ लेखनको । अनि एउटा किताबबाट राम्रो केही न केही सिकिन्छ । सो समाज बुझ्न मात्र होइन लेखकले सिक्न पनि पढ्नुपर्छ ।
राम्रो पुस्तक नै आएनन् भन्नेहरू पनि छन् । पाठक घटे पनि भनिन्छ । पछिल्लो समयको साहित्य अलि कमजोर भएको हो ?
म लेखक भइसकेपछि मैले नै समीक्षा गर्न मिलेन । हुन सक्छ लेखकको पनि कमजोरी हुन सक्छ । आफूभित्र बसेर पाठकको मात्र कमजोरी पनि भन्न मिल्दैन । र आजको पाठक लेखकभन्दा धेरै अगाडि गएर सोचिरहेका हुन्छन् कहिलेकाहीँ । त्यस्तोमा तालमेल मिलाउन नसकेको पनि हुन सक्छ । आजको समयमा पाठकको प्रतिक्रिया दिने ठाउँ पनि छ । राम्रो किताब छ भने राम्रो भनिदिनुहुन्छ । नराम्रो भए नराम्रो । त्यसभन्दा भन्दै पनि विश्वासिलो भयो भने त्यो किताब व्यापक रूपमा पनि जाइहाल्ला । अलि कमजोर छ भने पाठकले आफैं डिसाइड गरिहाल्छ कि धुम पिटेर केही पनि हुने वाला छैन ।
यस्तोमा नेपाली भाषा साहित्यको स्तर उकालो लाग्दै छ कि ओरालो ?
मैले त उकालो लागिरहेको भन्नुपर्छ । ओरालो त नसम्झिऊँ होइन ? त्यो यात्रा हो नि त । सधैं चाँहि एउटै गतिमा नहोला । तर म्याराथनख दौड जस्तो हो । बिस्तारै अगाडि बढिरहने ।