२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

केपी ओलीलाई एक पूर्वकार्यकर्ताको चिठी

shivam cement
दामोदर अर्याल
२०८२ असोज २९ गते ०६:०५
केपी ओलीलाई एक पूर्वकार्यकर्ताको चिठी

केपी ओलीजी,
नमस्कार

सम्भवतः तपाईँलाई मेरो सम्बोधन मन परेन होला । तर माफ गर्नोस्, आजको दिन म तपाईँलाई ‘कमरेड’ र ‘अभिवादन’ भन्न सक्दिन । कमरेड शब्द एउटा क्रान्तिकारीले अर्को क्रान्तिकारीलाई सम्बोधन गर्ने आदरार्थी शब्द हो । त्यसबाहेक यो शब्दले संसारभरका मानिस समान र सार्वभौम हुन्छन् भन्ने अर्थ पनि बोकेको हुन्छ । त्यसकारण कम्युनिस्ट पार्टीहरूमा अध्यक्षदेखि सामान्य कार्यकर्ताबिच एक अर्कालाई कमरेड भनेर सम्बोधन गर्ने प्रचलन विकास भएको हो । मान्छेले मान्छेलाई गर्ने व्यवहारका सन्दर्भमा यो शब्द एउटा सिद्धान्त हो । किनकि यस सम्बोधनले पार्टीभित्र समाजवादी भ्रूणको संकेत पनि गर्छ । 

मलाई थाहा छ, तपाईँलाई पनि ‘कमरेड’ शब्दप्रति त्यति रुचि छैन । आफूलाई मान्छेहरूले कमरेडभन्दा ‘बा’ भनेर सम्बोधन गरोस् भन्ने चाहनुहुन्छ । ‘बा’ मात्रै होइन, ‘आइ लव यु’ शब्द पनि तपाईंको प्रिय शब्द हो । हामीले त्यो सम्बोधन र नाराभित्र देवत्वकरणको गन्ध पायौँ । तपाईँलाई थाहा हुनुपर्ने हो, देवताको धारणा केवल आस्था मात्र हो, त्यो अस्तित्वमा हुँदैन । जुन चिज अस्तित्वमा हुँदैन, त्यसले राम्रो काम गर्दैन, बरु समाजवादी ध्येयमा हानी चाहिँ गर्छ ।

मलाई लाग्छ, सेपियन्सको करोडौं सन्ततिमध्ये तपाईँ पनि एउटा मान्छे मात्र हो । मान्छे भन्ने बित्तिकै उसका राम्रा र नराम्रा गुण हुन्छन् । म तपाईँलाई द्वन्द्ववादी दृष्टिकोणका आधारमा भन्न सक्छु, तपाईँमा पनि राम्रा र नराम्रा दुवै गुण विद्यमान छन् । तपाईँले कम्युनिस्ट आन्दोलनको विकासमा र निरंकुशता विरुद्धमा, मान्छेको स्वतन्त्रताका लागि र समानताका लागि खेल्नु भएको भूमिकाका सन्दर्भमा म तपाईँको प्रशंसक नै थिए । यसका लागि तपाईँले आफ्नो जीवनको सुरुवातीमा देखाउनुभएको साहस, तपाईँले भोग्नुभएको दमन र १४ वर्ष लामो जेल जीवन प्रशंसायोग्य नै छ । 

तर, तपाईँको अर्को एउटा अँध्यारो पाटो पनि छ, जसले नेपालको सिंगो वाम आन्दोलनलाई खरानी बनायो । तपाईँबाट नेपालको लोकतान्त्रिक आन्दोलन र वाम आन्दोलनमा जति योगदान भयो, त्योभन्दा धेरै गुणा तपाईँले यसलाई बिगार्नुभएको छ, भत्काउनुभएको छ । यो कर्मको सुरुवात तपाईँ एमालेको अध्यक्ष भएपछि गर्नुभयो भन्ने मेरो दाबी हो । त्यसबेलादेखि तपाईँमा विकास भएको यथास्थितिवादी चरित्र र कतिपय अवस्थामा प्रकट भएको प्रतिगमनकारी सोचको म पुरै आलोचक हुँ । यस आलोचनाप्रति मलाई गौरव छ ।

म यतिखेर एमाले पार्टीको नवौं महाधिवेशन सम्झन्छु । तपाईँले मलाई राम्रैसँग चिन्नुहुन्छ, म तपाईँलाई अध्यक्ष बनाउने एउटा अभियानकर्ता र मतदाता पनि थिए । ‘तिमीले चुमेका यी औला यिनै हुन्’ भन्ने एउटा प्रख्यात नेपाली गीतजस्तै तपाईँलाई भोट हालेका ती औंलाहरू अहिले मसँगै छन् । तर ती आफ्नै मेरा औंलाप्रति यस सन्दर्भमा र यसबेला बिछट्टै आलोचक भएको छु । साँच्चै भन्दै छु, म पछुतोमा पनि छु ओलीजी !

म स्वीकार गर्छु, त्यसताका, तपाईँलाई अध्यक्ष बनाउनुपर्ने केही कारण चाहिँ अवश्य थिए । तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल फेरि अध्यक्ष हुने दौडमा सामेल हुनुभएन । विगतमा लामो समय पार्टी नेतृत्वमा रहनुभएका माधव नेपाल तपाईँको प्रतिस्पर्धी हुनुहुन्थ्यो । हामी परिवर्तन चाहन्थ्यौ, नेतृत्व र नीतिमा । त्यसबाहेक तपाईँका नाराहरू अत्यन्त लोभ लाग्ने र प्रभावशाली पनि थिए । ती नाराहरूमध्ये मलाई अत्यन्त मन परेको नाराचाहिँ ‘राजनीतिमा हत्या हिंसा प्रयोगको विरोध र पार्टीभित्रको लोकतान्त्रीकरणको पक्षपोषण’ थियो । त्यसबाहेक तपाई भन्नुहुन्थ्यो, म ९ कक्षा दोहोर्‍याएर पढ्दिन अर्थात् तपाईँले फेरि दोहोर्‍याएर अध्यक्ष नबन्ने बाचा हामी समक्ष गर्नु भएको थियो । हामी झुक्कियौँ ।

अध्यक्ष हुने बित्तिकै सबैभन्दा पहिला त तपाईँलाई आफ्नै वाचा र नीति नै घाँडो भयो भन्ने लाग्छ । हामी हेरिरह्यौ, तपाईँका गतिविधिहरू आफ्नै वाचाका प्रतिकुल थिए । राजनीतिमा हिंसाको प्रयोगमा युवा र विद्यार्थीहरूलाई निरन्तर तपाईँले प्रोत्साहित गरिरहनु भएको कुरा कहाँ लुक्यो र ! माओवादीसँग नक्कली पार्टी एकता गरेर केही समयसम्म त जनयुद्ध दिवस नै मनाउनु भयो । पार्टीभित्रको लोकतान्त्रिकरणलाई पूरै निषेध गर्नुभयो । फरक मत राख्नेहरूलाई पार्टीबाट निकाल्नु भयो । पार्टी विभाजनका लागि मुख्य भूमिका खेल्नु भयो । त्यतिमात्र होइन, पार्टी संगठनभित्र गैर वामपन्थीहरू यति थुपार्नु भयो कि आजको एमाले पुरानो एमाले रहेन । आज तपाईँका गुण्डु गतिविधिहरू र तेस्रो चोटि अध्यक्ष हुन गरेका जायज नाजायज प्रयत्नहरू हामी यतिखेर आश्चर्यचकित ढंगले हेरिरहेका छौं । म दुःखका साथ भन्छु ओलीजी ! कुनै बेलामा राजनीतिमा हत्याहिंसाको विरोध गर्ने तपाई आज ७६ जना नवयुवाहरूको नरसंहारको आरोप खेपेर गुण्डुमा अर्धभूमिगत हुनुहुन्छ । जेनजी युवाहरूलाई, परिवर्तन चाहने जनताहरूलाई र पार्टी पुनर्गठनका पक्षमा बोल्ने आफ्नै कार्यकर्ताहरूलाई समेत गुण्डुको अँध्यारो कोठाबाट धम्क्याउँदै हुनुहुन्छ । 

पार्टी अध्यक्षका हिसाबले र प्रधानमन्त्री हुँदा पनि तपाईँका भाषणहरूमा माक्र्स, लेनिन र मदन भण्डारी कहिल्यै पाइएन । बरु रामको जन्मभूमि खोज्नु भयो, शिवको गोत्र र जात घोषणा गर्नुभयो । किसानहरू आफ्ना उत्पादनहरूको सही मूल्य र बजार खोजिरहेको बेला तपाईँले भ्यु टावर र रेलको कथा सुनाउनु भयो । युवाहरूले रोजगारी मागे, तपाईँले मलेसिया र खाडी देखाइदिनु भयो । यति र ओम्नीसँग साँठगाँठ गर्नुभयो । सुकुम्वासीहरूले घरबास र खेतीका लागि जग्गा खोजे, तपाईँले गिरीबन्धुका लागि कानुन बनाउन खोज्नु भयो । तपाई धेरै टाढा जानुभयो ओलीजी ! त्यसकारण म तपाईँलाई कमरेड भन्न सक्दिन ।

कुनै बेला यो मुलुकमा लगभग दुई तिहाइको वामपन्थी सरकार थियो । हामी सबैले त्यो सरकार र नेपालको पहिलो चोटि बनेको एकीकृत पार्टीको समेत साँचो तपाईँलाई बुझाएका थियौँ । संसदको दुई तिहाइ शक्ति र सरकार तपाईँले सत्यानाश गर्नुभयो । त्यो सत्यानाशको प्रमुख कारण तपाईँको भगवान् बन्ने चाहना थियो भन्नका लागि कुनै अप्ठ्यारो छैन । यसबाट तपाई भगवान् बन्न सक्नु भएन, त्यो तागत पनि रहेन ।

त्यतिबेला थुप्रै काम गर्न सकिन्थ्यो । उद्योगधन्दाहरू खोलेर व्यापक रोजगारी सिर्जना गर्न सकिन्थ्यो । किसानद्वारा उत्पादित कृषि उपजहरू राज्यले किन्ने व्यवस्था गरेर कृषकहरूको जीवनस्तर उठाउन सकिन्थ्यो । हाम्रा नीति र कार्यक्रमहरूमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको अनावश्यक हस्तक्षेपलाई रोक्न सकिन्थ्यो । शिक्षा र स्वास्थ्यको निजीकरणलाई बन्द गरेर यी सेवाहरूमा आम मान्छेहरूको पहुँचलाई स्थापित गर्न सकिन्थ्यो । प्रगतिशील भूमिसुधार लागु गरेर जग्गाको समानुपातिक वितरण गर्दै सुकुम्वासी समस्या सदाका लागि हल गर्न सकिन्थ्यो । त्यसबाहेक त्यो बेलामा भ्रष्टाचारप्रति शून्य सहनशीलता देखाएको भए समाज यति बरालिने थिएन । तपाई पनि बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नु पर्दैनथ्यो । 

त्यतिमात्र होइन, नेपाली राजनीतिमा छुद्र भाषा प्रयोगको त तपाई प्रमुख सूत्रधार नै हुनुहुन्छ । तपाईँले नै भन्नु भएको होइन, ‘माधव नेपालको नाम लिँदा कुल्ला गर्नुपर्छ ।’ ओलीजी ! अहिले तपाई फुर्सदमा हुनुहुन्छ, पुराना भाषणहरू फेरि एकचोटी फर्केर हेर्नुहोस् त ! त्यहाँ तपाईँले छुद्रता, छुच्चोपन र कटु शब्दहरूको फेहरिस्त नै पाउनु हुन्छ ।

अब भो ओलीजी ! छोड्नोस्, वाम आन्दोलन बन्न दिनुहोस् । मान्छेहरू सबै बुझिसकेका छन् । म तपाईँलाई विनम्रतापूर्वक भन्न चाहन्छु, तपाईँका उखान टुक्काहरू बेअसर भइसके । 

हस् त ! चिठी अलि लामो भयो । समयले जुराएछ भने फेरि भेट होला । बाँकी कुरा त्यही भेटमा गरौँला । तपाईँले नै चाहेअनुसार १२५ वर्ष बाँच्नुहोस् ! निरन्तर स्वास्थलाभको कामनासहित ।

सदा सम्झिरहने तपाईँकै पूर्व कार्यकर्ता
दामोदर अर्याल
बर्दिया

ADV

सम्बन्धित खबर

Advertise