अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेका सामुदायिक वनहरूले गाउँ विकासका नयाँ आयाम स्थापित गर्दै आत्मनिर्भर विकासको उदाहरण पेश गरेका छन् । सामुदायिक वनको आम्दानीबाट स्थानीय स्तरमा पूर्वाधार निर्माण, रोजगार सिर्जना, शिक्षा, कृषि आधुनिकीकरणदेखि सामाजिक सेवासम्मका कार्यक्रम अगाडि बढाउँदै आएका छन् ।
स्थानीय सरोकारवालाहरूका अनुसार सामुदायिक वनको आम्दानीले गाउँहरूमा विकासका नयाँ योजना अघि बढाइरहेको छ । युवायुवतीका लागि रोजगारी सिर्जना, कृषि क्षेत्रमा आधुनिकीकरण, आत्मनिर्भरता र सामाजिक दायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालनमा छन् । अर्घाखाँचीका सामुदायिक वनहरूको यो सक्रियता अन्य जिल्लाका सामुदायिक वनहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने बताइन्छ ।
अर्घाखाँची डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत गणेश चौधरीका अनुसार सामुदायिक वन अब केवल वन संरक्षणको माध्यम मात्रै नभई गाउँ विकासको प्रमुख आधार बनिसकेको छ । उनले भने, ‘सामुदायिक वनले वन संरक्षण मात्र होइन, गाउँको आर्थिक सवलीकरण र पूर्वाधार निर्माणमा पनि ठूलो योगदान दिइरहेको छ ।’
शितगंगा नगरपालिकाभित्रका सामुदायिक वनहरूले विगत केही वर्षयता सडक निर्माण, विद्यालय भवन निर्माण, शिक्षकको तलब, युवालाई बिना ब्याज ऋण, सिँचाइ कुलो, बिजुली विस्तार, काठ राख्ने घाटगड्डी निर्माण, अर्गानिक मल उत्पादन तथा विपत् सहयोगजस्ता कामहरू सामुदायिक वनको आम्दानीबाट गर्दै आएका छन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार शितगंगा क्षेत्रका सामुदायिक वनहरू आफ्नो आम्दानीबाट नै विकासमा आत्मनिर्भर बन्न सफल भएका छन् ।
उनले भने, ‘गत आर्थिक वर्ष २०८१÷८२ मा अर्घाखाँचीका सामुदायिक वनहरूले काठ–दाउरा बिक्रीबाट मात्रै ६ करोड ३९ लाख ५० हजार ७३९ रुपैयाँ आम्दानी गरेका छन् ।’
उनका अनुसार उक्त रकमको ७५ प्रतिशत वन उपभोक्ता समूहले प्राप्त गरेको र बाँकी २५ प्रतिशत प्रदेश सरकारको सञ्चित खातामा जम्मा भएको हो । यही आम्दानीबाट सामुदायिक वनहरूले विद्यालय, सडक, सिँचाइ, बिजुली र कृषि विकासमा लगानी गर्दै आएका छन् ।
डोहोटे सामुदायिक वनका अध्यक्ष रेसमराज बन्जाडेले भने, ‘हामीले आम्दानीको प्रयोग सिँधै विकासमा गरेका छौँ । यसले स्थानीयको जीवनस्तर सुधारिएको छ ।’
मजुरे डाँडा सामुदायिक वनले स्थानीय सरकारसँग सहकार्य गर्दै २५ लाख रुपैयाँको लागतमा सडक पिच गरेको छ, जसमा सामुदायिक वनको १५ लाख र नगरपालिकाको १० लाख रुपैयाँ लगानी छ ।
त्यस्तै, शितगंगाको धिरीखोला सामुदायिक वन (वडा नं. १३) ले गाउँमा बिजुली, सिँचाइ कुलो, विद्यालय भवन, सडक निर्माण, आधुनिक कृषि प्रवद्र्धनका लागि मिनी टिलर र चापकटहर वितरणजस्ता काम गरेको छ । ‘हामीले अब विकासका लागि सरकारको मुख ताक्नुपर्दैन,’ अध्यक्ष नारायण पौडेलले भने ।
विकट भंगाला गाउँमा रहेको धिरीखोला सामुदायिक वन उपभोक्ता समूहले गाउँभित्र सडक, सिँचाइ, खानेपानी, विद्यालय भवन, इन्टरनेट र विद्युत् विस्तारजस्ता कार्यहरू सम्पन्न गरेको छ । उनले भने, ‘भंगलामा करिब ६० लाख रुपैयाँको लगानीमा सिँचाइ योजना पूरा भएको छ, जसबाट ५५ बिघा खेतमा सिँचाइ पुगेको छ ।’
त्यो सिँचाइले मौसमी र बेमौसमी तरकारी उत्पादन बढाएको र गाउँलाई आर्थिक रूपमा सुदृढ बनाएको पनि उनले बताए । कपिलवस्तु जिल्लाबाट १८ लाख रुपैयाँ लगानी गरेर गाउँमा बिजुली विस्तार गरिएपछि अहिले गाउँ झिलिमिली बनेको छ ।
भंगालाको बालुकण्ठ आधारभूत विद्यालयमा १२ लाख रुपैयाँको लागतमा पाँच कोठे भवन निर्माण गरिएको छ। खानेपानी मर्मतमा वार्षिक ३० हजार रुपैयाँ खर्च हुने र ७ लाख रुपैयाँमा भगवती मन्दिर निर्माण गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
उपभोक्ताको आयआर्जन बढाउन सामुदायिक वनहरूले वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरेका छन् । भैंसीपालनका लागि १६, बाख्रापालनका लागि १३, कुखुरापालनका लागि ५ र बंगुरपालनका लागि ३ जनाले यस्तो ऋण प्राप्त गरेका छन् ।
शितगंगाकै गैडे सामुदायिक वनले पनि वडा नं. ११ मा विभिन्न विकास–निर्माणका कार्यहरू गर्दै आएको सामुदायिक वनकी सचिव सिता बेल्वासेले बताइन् ।