साउदी अरब : विश्वव्यापी जलवायु परिवर्तनको विषयमा सचेतना फैलाउने उद्देश्यका साथ तनहुँका साहसिक युवा निरञ्जन अर्याल साइकलमार्फत् विश्व भ्रमणमा छन् । सगरमाथादेखि अन्टार्कटिकासम्मको बृहत् यात्राको लक्ष्य बोकेका उनी हाल आफ्नो दोस्रो चरणको यात्राका क्रममा साउदी अरबको दम्माम शहरमा आइपुगेका छन् ।
पहिलो चरणमा अर्यालले थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर र भारत गरी आठ देशको यात्रा केवल १ सय ६५ दिनमै सफलतापूर्वक पूरा गरेका थिए । दोस्रो चरणको यात्रा सोलुखुम्बुबाट सुरु गरेका निरञ्जन अर्याल अहिले दम्माम स्थित ’काठमान्डु नेपाली रेष्टुरेन्ट’ मा छन् ।
आफ्नो विश्व यात्रालाई निरन्तरता दिन आर्थिक सहयोगको खाँचो परेको बताउँदै उनले साउदी अरबमा रहेका एनआरएनए लगायतका सामाजिक संघसंस्था र सामाजिक व्यक्तित्वहरूसँग सम्पर्क गरी सहयोगका लागि अनुरोध गरेका छन् । उनले सबैबाट सकारात्मक जवाफ पाएको र आफ्नो यात्रालाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
केही दिन साउदीमा बिताएपछि उनको आफ्नो यात्रा बहराइन लगायत अन्य खाडी मुलुकतर्फ अघि बढ्नेछ । यस क्रममा उनले समस्त विश्वभरका नेपाली दाजुभाइबहिनीहरूलाई आफ्नो यो महत्वपूर्ण अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।
अर्यालको यो यात्रा जलवायु परिवर्तन, वातावरणीय संकट र मानव जीवनका मूल्यहरूका बारेमा जनचेतना फैलाउने अभियान हो । साथै, हरेक नेपालीमा आध्यात्मिक चेतनाको जागरण गराउनु पनि उनको यात्राको प्रमुख अभिप्राय हो ।
साइकल यात्राका क्रममा आर्थिक कठिनाइ मुख्य चुनौती बनेको स्वीकार्दै उनले सहयोगका लागि ‘खादा र मालामात्रका लागि होइन, सहयोगको साँचो भावनाका लागि अनुरोध’ गरेको बताएका छन् ।
शान्ति, प्रकृति र मानवताको सन्देश बोकेर विश्वभर फैलिरहेको तनहुँका साहसी युवा अर्यालको अभियानमा साउदीमा रहेका नेपाली समुदायका सदस्यहरूलाई आ–आफ्नो ठाउँबाट हातेमालो गर्दै सहयोगका लागि हात अघि सार्न अनुरोध गरिएको छ ।