२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने

shivam cement
मध्यान्ह
२०८२ असोज २९ गते १८:५७
भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस–२०२५ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार भएको यो कार्यक्रममा अस्पतालले देशभर प्यालियटिभ सेवाको सशक्त विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै 'बीसीएच प्यालियटिभ केयर कोष' स्थापना गर्ने घोषणा गरेको छ । यो कोषबाट आर्थिक रूपमा कमजोर बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरिनेछ ।

कार्यक्रमका अध्यक्ष तथा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले स्वागत मन्तव्यमा भने, “जीवनको अन्तिम चरणमा पनि प्रत्येक व्यक्तिले माया, सहानुभूति र सम्मान पाउने अधिकार छ । हामी केवल उपचार मात्र होइन, मानवताको सेवा गरिरहेका छौं । प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक दायित्व हो ।” उनले नेपालमा पहिलोपटक होस्पिस सुविधा स्थापना गर्ने लक्ष्य रहेको बताउँदै सरकारी, गैरसरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको जोड दिए ।

अस्पतालले हाल देशकै एक प्रमुख प्यालियटिभ केयर इकाई सञ्चालन गरिरहेको छ, जसलाई थप सुदृढ बनाउने योजना छ । यसबाहेक, अस्पतालमा सर्जरी, विकिरण उपचार, कीमोथेरापी, इम्युनोथेरापी, प्रयोगशाला सेवा, सिटी स्क्यान जस्ता सुविधाहरू उपलब्ध छन् । यसै वर्षदेखि पिट स्क्यान सेवा पनि सुरु हुने चालिसेले जानकारी दिए ।

प्रमुख अतिथि मिस नेपाल २०२५ सुश्री लुना लुइटेलले मन्तव्यमा भनिन्, “प्यालियटिभ केयर केवल चिकित्सकीय सेवा होइन, यो मानवीय मूल्यसँग जोडिएको अभियान हो । हामी सबैले यसलाई सामाजिक दायित्व ठान्नुपर्छ ।” विशिष्ट अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताए । यो रणनीतिले सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

डा. चालिसेले रणनीतिको पाँच मुख्य पक्षहरू – मानव संसाधन विकास, सेवाको पहुँच विस्तार, संस्थागत सुदृढीकरण, औषधि सुनिश्चितता र समुदाय संलग्नता – बारे चर्चा गर्दै प्यालियटिभ सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न आग्रह गरे । नेपालमा हाल यस्तो सेवामा विशेष एमडी डिग्री प्राप्त दुई चिकित्सक मात्र छन्, जसमध्ये दुवै भक्तपुर क्यान्सर अस्पतालमै कार्यरत छन् । अस्पतालले घरमा आधारित केयर र टर्मिनल केयर इकाईमार्फत निरन्तर सेवा दिइरहेको छ ।

कार्यक्रममा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर (१ लाख), डीके मेडी सेल्स (५ लाख बराबर), पूर्व–पश्चिम चिन्ता (२ लाख) र श्रीमती उषा दीक्षित (१ लाख) बाट कोषमा सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । दिवंगत चिकित्सक डा. चाँदनी वैद्य, पूर्व निर्देशक डा. सुदीप श्रेष्ठ, डा. आरती शाह र प्रा. डा. विष्णुदत्त पौडेलको योगदानलाई सम्झना गरियो ।

ADV

सम्बन्धित खबर

Advertise