काठमाडौं : सक्रिय र सिर्जनात्मक निर्देशनका लागि चिनिएकी निर्देशक बबिता श्रेष्ठले तिहार लक्षित नयाँ गीत ‘निधार खाली भो’को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।
भिडियोमा तिहारको बेला परदेशमा रहेका दाजुभाइ घर नफर्किँदा बहिनीले भोग्ने पीडा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । प्रतीक्षामा रहेकी चेलीसामु जब बाकसमा दाजुभाइको लास आइपुग्छ, त्यो क्षणको संवेदना निर्देशकले यथार्थपरक ढंगले चित्रण गरेकी छन् ।
गीतमा विमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी र नव थापा लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।
गीतका शब्द दिनेश सुवेदी, संगीत सन्तोष प्रगाढ, र स्वर कमल घले र जुनु प्रसाईको रहेको छ ।
भिडियोको छायांकन मुकेश हुमागाईं टिमले, सम्पादन विकास दाहालले, र पोस्टर डिजाइन राजेन्द्र पुरीले गरेका हुन् ।
निर्देशक बबिता श्रेष्ठले आफ्ना अघिल्ला सिर्जनाहरूलाई जस्तै यस भिडियोले पनि दर्शक र स्रोताको माया पाउने विश्वास व्यक्त गरिन् ।