२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

जेनजी, खरानी र फिनिक्स

shivam cement
निष्णु थिङ
२०८२ असोज २७ गते ०६:०५
जेनजी, खरानी र फिनिक्स

जेनजी आन्दोलनले अपार सफलता हासिल गरेको छ । यो आन्दोलन अहिलेसम्म भएका देशभित्र र बाहिरको भन्दा भिन्नै र मौलिक प्रकारको छ । जेनजीकै चाहनाबमोजिम अन्तरिम सरकार गठन भएसँगै नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्रीको नयाँ कीर्तिमान कायम भयो । नेपालको इतिहासमा पहिलो पटक युवापुस्ताले सरकार बनाउने काममा प्रभावकारी हस्तक्षेप गरे । कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू कसलाई बनाउने पारदर्शी तरिकाले पहिलो पटक युवाहरूले छान्ने अवसर पाए । यो विश्व इतिहासमा पहिलो र दुर्लभ घटना हो । यो अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी फाल्गुण २१ गते तोकिसक्यो । अब ताजा जनादेशले नयाँ सरकार बनाउनेछ ।

जेनजी आन्दोलनको मुख्य दुई वटा मागहरू थिए– प्रथम, सामाजिक सञ्जालको बन्द निर्णय फिर्ता र दोस्रो, भ्रष्टाचारको अन्त्य । दलहरूले शासन सत्ता सम्हाल्न थालेको पनि प्रथम जनआन्दोलन २०४७ सालदेखि हो । त्यहाँदेखि यता ३५ वर्ष पुगेछ । जेनजी पुस्ता २८ वर्ष मुनिका भएकोले यिनीहरू नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली भएपछिका हुन् । अझ पहिलो जनआन्दोलन वरपर जन्मेका पुस्तालाई जेनवाई भनिन्छ । जो सन् १९८१ देखि १९९६ बिचमा जन्मेका हुन् । जेनवाई र जेनजी पुस्ताका आधारभूत अन्तर, वाईले माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलन प्रत्यक्ष देखेका र भोगेका थिए भने जी पुस्ताले यी दुवै ऐतिहासिक राजनीतिक संघर्षहरूलाई देख्न, भोग्न र अनुभूत गर्न पाएनन् । त्यसैले, यिनीहरूले यिनै दलहरू र वृद्धहरूको शासन नै देखे । जेनवाई पुस्ताले वृद्ध नेताहरूको शासनको विरुद्धमा आवाज नउठाएका होइनन् । तर यसरी निर्णायक आन्दोलन नै छेड्न सकेनन् । यो पुस्ता हुर्कँदै गर्दा मोबाइल, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सूचनाको आदान प्रदान गर्ने माध्यम थिएन । जसले उनीहरूलाई तुरुन्तै सम्पर्क र सञ्जाल स्थापना गर्न सजिलो थिएन । अर्को पक्ष, यो पुस्ताले माओवादी र राज्यको युद्ध र दोस्रो जनआन्दोलनमा हाल शासन गरिरहेका नेताहरूको दुख र संघर्ष देखेका थिए । त्यसैले, एक हदसम्म सहेरै बसे । 

सरकारले सामाजिक सञ्जाल दर्ता नभएको नाममा बन्द गरे पनि मुख्य नियत चाहिँ आफ्नो सत्ताविरुद्ध उठेको आवाजलाई नियन्त्रण गर्ने थियो । अभिव्यक्ति स्वतन्त्रतालाई निमिट्यान्न पार्ने सरकारको नियतले गर्दा समग्र परिस्थिति निर्माण भयो । जेनजी पुस्ता यहीँ मोबाइल र सामाजिक सञ्जालसितै हुर्केकाले यिनीहरू यसैमा अभ्यस्त छन् । यो पुस्ताको हरेक कुराको गुरु यहीँ सञ्जालहरू हुन् । उनीहरूका तमाम् जिज्ञासा र उत्सुक मनलाई शान्त पार्ने आमाबुवा, गुरुहरू र अग्रजबाहेक भरपर्दो साधन नै यहीँ सञ्जाल हुन् । त्यहीँ सञ्जालबाटै उनीहरूका साथीसंगत, सम्बन्ध र व्यवहार जोडिएका थिए । स्टार्टअप युवाहरूका उद्यमहरू पनि यहीँ सञ्जालमार्फत नै सञ्चालन भएका छन् । यहीँ पृष्ठभूमिमा उनीहरूले राजनीतिक दलका नेता र उच्चपदस्थ व्यक्तिहरू अनि उनका छोराछोरीका विलासी जीवनशैली र हाइफाई देखेर खिन्न भएको बेला विश्वका विभिन्न देशमा चलेका नेपो बेबी र नेपो किड विचार प्रवाहबारे जान्न र बुझ्न पाए । त्यहीँ विचार प्रवाहको जगमा उठेका आन्दोलनको पनि रापताप प्रत्यक्ष हेरिरहेका, विश्लेषण र मनन गरिरहेका थिए । जसले उनीहरूलाई भित्रभित्रै आन्दोलित गरिरहेको थियो । 

आजका अधिकांश जेनजी पुस्ताका बुवाआमा वा परिवारका कोही न कोही वैदेशिक रोजगारीमा छन् । दिनरात दुःख गर्दा पनि आफ्नो परिवारको आर्थिक स्थितिमा कुनै आधारभूत रूपान्तरण आएको उनीहरूले घरमै प्रत्यक्ष देखिरहेका र भोगिरहेका थिए । तर, छरछिमेक र समाजमा भने भिन्नै दृश्य देखे । विभिन्न राजनीतिक दल र राज्यका उच्च पदमा रहेका व्यक्तिहरूको रातारात आर्थिक प्रगति देखेर चकित पर्दै आफैलाई प्रश्न गरिरहेको र कतिपय अवस्थामा आफैलाई दोष्याइरहेको थियो । आफ्ना दौँतरीहरूको जीवनशैली देखेर त्यसको स्रोत के हो ? यस्तो महँगो जीवनशैली कसरी सम्भव हुन्छ ? यस्तै प्रश्नहरूले यो पुस्तालाई घोचिरहेको थियो । लाखौँ पर्ने मोबाइल, ल्यापटप, गाडी र महँगा लुगाफाटा र देश विदेशका सपिङ मलहरूमा गएर गरेका किनमेल, जन्मदिनको महँगो पार्टी र उपहार जस्ता गतिविधिले उनीहरूलाई चिन्तन र मनन गर्न बाध्य पारिरहेको थियो । आफ्नै उमेर समूहका साथीहरूको सामाजिक सञ्जालहरू जस्तैः फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता माध्यमहरूबाट थाहा पाइरहेका पनि थिए । 

आफ्नो र ती साथीहरूको जीवनस्तरलाई तुलना गर्ने र त्यसका सामाजिक, आर्थिक, राजनीतिक र विभिन्न कारणहरूको खोजी गर्दै जाँदा यसको जराकिलो भ्रष्टाचार पाए । उनीहरूका वैदेशिक रोजगारीमा भएका आफन्तले देशको ढुकुटीमा एक तिहाइ योगदान गरिरहेको र देशभित्रै रहेकाहरूले पनि प्रशस्तै कर तिरेको राजश्व भ्रष्टाचार गरेर एकथरि सम्भ्रान्तहरू मोजमस्ती गर्ने र अर्कोथरि मरिमरी राज्यको ढुकुटी भर्ने सामान्यजनका दैनिक जीवन पनि मुस्किल हुँदै गइरहेको परिप्रेक्ष्यमा जेनजीको आन्दोलनले समाजको गर्भमा भित्रभित्रै भूँइचालो तयार पार्दै थियो । राज्यका उच्च पदमा रहेका र ती व्यक्तिहरू र संस्थाहरूसित हिमचिम गरेर अकूत धन कुम्ल्याएका स्थितिले कुशासन थोपरिरहेको थियो । त्यस्ता कुशासनबाट आजित पुस्तालाई सरकारले यहीँ भदौ १९ गते सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले समाजको गर्भभित्र उम्लिरहेको भूँइचालो विस्फोट हुने केन्द्रबिन्दु (इपिसेन्टर) दियो । परिणामतः भदौ २३ र २४ गते ठूलै रेक्टरको भूँइचालो आयो र सबै चीज तहसनहस गर्‍यो । 

जेनजी आन्दोलनले सबैभन्दा बढी फाइदा विभिन्न दलहरूभित्र संघर्ष गरिरहेका युवाहरूलाई पुर्‍याएका छन् । ती युवाहरू दलभित्र वृद्ध पुस्तासित लड्दा लड्दै आफैँ बुढा हुन थालेका छन् । कसैगरी ती युवाहरूले जित्न सकेका छैनन् । विभिन्न जालझेल, षडयन्त्र, साम, दाम, दण्ड र भेदका नीति अपनाएर ती युवाहरूलाई निस्तेज गर्दै आएको छ । गगन थापा, विश्वप्रकाश शर्मा र राम कुमारी झाँक्रीहरू त्यसका ज्वलन्त उदाहरण हुन् । पंक्तिकारको पनि यस सम्बन्धी कटु अनुभव छ । बुढा पुस्ताको विकल्पमा निरन्तर आवाज उठाउने र सम्झौताहीन वैचारिक र सैद्धान्तिक संघर्ष गरेको कारणले गर्दा मलाई करिब दश वर्ष अगाडि २७ वर्षको उमेरमा अनुचित आरोप लगाएर पाखा लगाउन खोजे । त्यस्तो अन्यायको विरुद्ध र न्यायको लागि कठिन संघर्ष गरे तर न्याय पाउनु त कताकता बुढाहरूले मलाई  बिरालोले मुसा खेलाए झैँ गरे । अन्ततः निराश भएर बिसौँ वर्ष पसिना बगाएको दल छाडेर स्वतन्त्र बस्नु परेको पीडा अझै आलै छ । यस्तो राजनीतिक परिवेशमा जेनजी आन्दोलनले बुढा पुस्तालाई यो सुनामीले बगायो र डुबायो । यसरी राजनीतिक दलहरूमा भएका युवाहरूले वर्षौदेखि गर्न नसकेको काम यो आन्दोलनले दुई दिनमै गरेको छ । त्यसैले जेनजी आन्दोलनलाई धन्यवाद दिँदै कृतज्ञता व्यक्त गर्नु नै बुद्धिमत्तापूर्ण हुनेछ । तर विडम्बना भन्नै पर्छ, ती दलका युवाहरू जेनजी आन्दोलनको विरुद्ध पुनः सडकमा नारा जुलुस गर्न थालेका छन् ।

जेनजी पुस्ताको दुई दिन चलेको आन्दोलनले सबैचिज खरानी बनायो । हाम्रो संघीय संसद्, सिंहदरबार, सर्वोच्च अदालत, प्रमुख दलहरू कार्यालय, नेताको घर, सत्तासित चोचोमोचो मिलाएर फाइदा उठाउने होटल, व्यापारिक केन्द्र, सरकारी भवनहरू सबै ध्वस्त बनायो । देशभरि कति क्षति कुन कुन क्षेत्रमा भए ? त्यो सरकारले तथ्यांक संकलन गर्दैछ । यो आन्दोलनले भौतिक संरचना मात्रै भत्काएका छैनन्, साथमा हाम्रो राजनीतिक व्यवस्था र सत्तासीन दलहरूको वैचारिकी पनि ध्वस्त बनाएका छन् । आन्दोलनको स्वरूप र माग हेर्दा सामाजिक सञ्जाल (अभिव्यक्ति स्वतन्त्रता) र भ्रष्टाचार विरोधी भए पनि यसले स्थापित मूल्यमान्यता, राजनीतिक विचार, शासन प्रणाली, प्रशासकीय व्यवस्थापनमाथि आक्रमण गरेको छ । वृद्ध नेताहरूको कुर्सी मोहमाथि प्रहार गरेको छ । मूल रूपमा वृद्धहरूको शासनको अन्त्यको लागि नयाँ सामाजिक र राजनीतिक मार्गचित्र कोरेको छ । यसले पुरानो भौतिक र मानसिक संरचनालाई खरानी बनाएको छ । दुई दिन चलेको यो सुनामीले हाम्रो सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक व्यवस्था र संरचनालाई धुलोपिठो बनाएर गएको छ । अहिले जता हेर्‍यो उता खरानी मात्रै देखिन्छ । यसको दीर्घकालीन महत्व र प्रभाव रहनेछ । अहिलेसम्म गाडेर बसेको हाम्रो अर्थ राजनीतिक संरचना र व्यवस्थाको जरा उखेल्ने काम भयो । २०७२ को भूकम्प प्राकृतिक थियो, जसले भौतिक र मानवीय क्षति पुर्‍याएर गयो । तर यो जेनजी आन्दोलनले हाम्रो चिन्तन प्रणाली र आचरण पद्धतिलाई पनि खरानी बनाएको छ । 

जेनजीको आन्दोलनबाट अहिले देश खरानी भएको छ । हाम्रा राष्ट्रिय सम्पदाहरू सबै खरानी भएका छन् । अहिलेसम्म शासन गरिरहेका दलहरूका वैचारिकी खरानी भएको छ । भौतिक संरचना खरानी भएको भन्दा भयावह स्थिति त के हो भने हाम्रा युवा पुस्ताले यो देशमा सपना देख्न सकेनन्, यहाँ पनि सपना अकुंराउँछ, फुल्छ र फल्छ भन्ने सम्भावना नै देखेनन् । यो देश युवाहरूका लागि मरुभूमि भए र हाम्रा शासकहरूले मृत्यु–उपत्यका (डेथ भ्याली) बनाए, जहाँ युवाहरूले गरिखान सक्ने कुनै सम्भावना देख्न सकेन । युवा पुस्ताले सपना नै देख्न नसक्ने देश बनाएछ । युवाहरूका सामूहिक सपनाको चिहान बनेको देश अहिले भएका भौतिक क्षतिभन्दा कैयौँ गुणा खतरनाक र डरलाग्दो अवस्था हो । केही समय अगाडि एक जना युवा प्रेम आचार्यले नयाँ बानेश्वर संघीय संसद् भवन अघि पेट्रोल छर्केर आत्मदाह गरेका थिए । यति हुँदा पनि हाम्रो सरकार र शासन गर्ने दलहरू चेतेनन् । 

जेनजी आन्दोलनले खरानी बनाउनु अघि नै यो देश खरानीको थुप्रो भइसकेको थियो । जुन खरानीको थुप्रोमा युवाहरूले सपना फल्छ, फुल्छ र झ्याङ्गिन्छ भन्ने सोच्न सक्ने वातावरण नै भएन । तर, यस्तै खरानीको थुप्रोबाट एउटा चरा नयाँ जीवन लिएर उड्ने प्राचीन युनानी मिथक छ । यो चराको नाम फिनिक्स हो । यो फिनिक्स चराको आयु लामो हुन्छ । यो चराको आयु ५०० वर्षसम्मको हुन्छ । यो चराले जब आफ्नो मृत्युको आभास गर्दछ, आफैलाई जलाउँछ र जलेको खरानीबाट नयाँ जीवन लिएर फेरि आकाशमा उड्छ । अब यहीँ खरानीबाट हामी पुनः फिनिक्स चराजस्तै नयाँ जीवन लिएर निलो आकाशगंगामा उड्नु पर्छ । दोस्रो विश्वयुद्धमा जापानको नागासाकी र हिरोसिमा अणु बम खसालेर ध्वस्त बनाएका सहर पुनः उठ्यो । त्यसैगरी, जलेका रोम सहर पनि जुरमुराएको इतिहास हाम्रै सामु साक्षी छ । हामी उड्न सक्छौँ । हाम्रो सिङ्गो देश फिनिक्स चराजस्तै खरानीबाट पुनः नयाँ जीवन, उमङ्ग र सपना लिएर उड्नु पर्छ । हाम्रा युवाहरूले सपना देख्न सक्ने देश बनाउनु पर्छ । यहीँ खरानीको थुप्रोमा यो देशमा पनि केही हुन्छ भन्ने आत्मविश्वास जगाउन आवश्यक छ ।

(लेखक, नेपाल खुल्ला विश्वविद्यालयमा प्राध्यापन गर्दछ ।)

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise