२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

शैक्षिक क्षेत्रलाई सुधार गर्न एक्सन प्लान बनाउँदै शितगंगा

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज २७ गते २०:५०
शैक्षिक क्षेत्रलाई सुधार गर्न एक्सन प्लान बनाउँदै शितगंगा

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले नगरभित्र रहेका १ सय ९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग संयुक्त बैठक सम्पन्न गरेको छ । नगर प्रमुख छबिलाल पौडेलको अध्यक्षता र उपप्रमुख गीतादेवी भाटको उपस्थितिमा सम्पन्न बैठकमा शैक्षिक सुधार, संस्थागत सुशासन र विद्यालय व्यवस्थापनमा दक्षता अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

नगर प्रमुख पौडेलले बदलिँदो परिस्थिति र समयलाई बुझ्दै विद्यालयका प्रअहरूले व्यवहारिक सोच, उत्तरदायित्व र नतिजामुखी कार्य गर्नुपर्ने आवश्यकता औँल्याए । उनले शिक्षा देशको भविष्य निर्माणको मेरुदण्ड भएको बताउँदै गुणस्तरीय शिक्षामाथि विशेष ध्यान दिन आग्रह गरे ।

बैठकले विद्यालय सुधारका लागि प्रत्येक विद्यालयका प्रअहरूसँग कार्यसम्पादन सम्झौता गर्ने निर्णय गरेको छ । उपप्रमुख गीतादेवी भाटले विद्यालय वरिपरि सरसफाइ गर्न र झाडी फाड्न निर्देशन दिँदै शिक्षामा पारदर्शिता र सुशासन सुनिश्चित गर्न जोड दिइन् । 

जेन्जी आन्दोलनका कारण केही समय विद्यालय बन्द हुँदा विद्यार्थीमा परेको असर न्यूनीकरण गर्न विद्यालयहरूले पूरक कक्षा सञ्चालन गर्ने, गृहकार्य मूल्यांकन, परामर्श र पुनःअध्यापन कार्यक्रम अघि बढाउने निर्णय गरिएको छ ।

नगरपालिकाले प्रधानाध्यापक नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र कानूनी प्रावधानअनुसार गर्ने निर्णय गरेको छ । साथै, स्यानिटरी प्याड विसर्जन प्रविधिमूलक रूपमा व्यवस्थापन गर्ने, सामाजिक परीक्षण, लेखा परीक्षण र विद्यालय सुधार योजना तयार गरी सबै खर्च सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ ।

बालबालिकाको पोषण सुधारका लागि दिवा खाजाको रकम समयमै माग र व्यवस्थापन गर्ने, कक्षा ८ र एसईई परीक्षाको तयारी सुदृढ गर्न नियमित अभ्यास, मोक टेस्ट, पुनरावृत्ति कक्षा र अभिभावक सहकार्य कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाले बनाएको छ ।

त्यसैगरी, हरेक शुक्रबार विद्यालयहरूले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको छ । यसमार्फत विद्यार्थीको सिर्जनात्मक क्षमता र नेतृत्व विकासका लागि खेलकुद, साहित्य, कला, संगीत र व्यवहारिक गतिविधिलाई प्रोत्साहन दिइनेछ ।

बैठकले विद्यालय व्यवस्थापन समिति गठन नगरेका विद्यालयहरूलाई शीघ्र समिति गठन गर्न निर्देशन दिएको छ । सहभागी प्रअहरूले सामुदायिक विद्यालयको सशक्त पक्षलाई सुदृढ बनाउँदै शिक्षा सुधारका लागि एकीकृत प्रतिबद्धता जनाएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise