चरिकोट : जिल्ला प्रशासन कार्यालय दोलखाले तिहारका बेला देउसी–भैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार जारी गरेको सूचनामा जिल्लाबासीलाई मर्यादित र व्यवस्थित रूपमा चाडपर्व मनाउन अनुरोध गर्दै शान्ति सुरक्षा र सामाजिक मर्यादामा असर पर्ने गतिविधि नगर्न आग्रह गरिएको छ ।
सूचनामा मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडा वा समाजमा अशान्ति सिर्जना गर्ने, कानुन विपरीत जुवातास, लंगुर बुर्जा, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरण नगर्न–नगराउन चेतावनी दिइएको छ ।
प्रशासनले देउसी–भैलो कार्यक्रमलाई मर्यादित बनाउन र अन्य मनोरञ्जनात्मक गतिविधि पनि बेलुकी १० बजेपछि नगर्न अनुरोध गरेको छ । निर्देशन उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।