मानिसको शरीरभित्र जीवाणु र विषाणु दुवै तत्व हुन्छन् । माक्र्सवाद र जबजले जीवत्वलाई सबल र सक्षम राख्न पर्याप्त ध्यान दिएको देखिन्छ । जबजले जनताको मन जितेर मात्र राजनीतिक र राजकीय नेतृत्व हासिल हुन्छ र गर्नुपर्छ, त्यसो भयो भने मात्रै त्यो टिकाउ र बिकाऊ पनि हुन्छ भनेको छ । तर, राजनीतिक शरीरमा भित्र–भित्र विकृति पलाउँदैन र फस्टाउँदैन । यस्तो अवस्थामा पार्टी र नेताका कमजोरीमा नेता आफैँ आलोचना र आत्मालोचना गरून्, सप्रियून भन्ने कुरा जबजमा पनि उल्लिखित छ । अझ जबजले आफ्नो जनवर्गीय संगठन बौद्धिक मञ्चलाई मदनले पार्टी र नेताका कमजोरीहरू बताउने, यसमा आवश्यक सुझाव दिने संस्था ठानेको थियो, तर यसलाई ओलीले पटक्क मन पराउनु भएन । यति मात्र होइन, जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ । यसको मतलब कमीकमजोरी र दुर्गुण देख्ने र यसलाई लेख्ने र सुझाव दिने विज्ञ समूहलाई संस्थामा आबद्ध गरेको हो । यो सोच मदनकै हो । तर, यसलाई पनि ओलीले पन्छाउनु भयो ।
नेता, कार्यकर्ता र जनताको मन जित्ने भन्दा मनलाई बिझाएर अध्यक्ष बनिरहने जुन महत्वाकांक्षा पाल्नु भएको छ, ती सब विकृतिप्रति जबजले खबरदारी गरेको देखिन्छ । जबज र जननेता मदन भण्डारीले कम्युनिस्ट पार्टी र एमालेका नीति, नेता र सिद्धान्तमा देखापरेका अपचलन र विचलन प्रति कठोर रवैया अपनाउन आम कार्यकर्तालाई निर्देश गरेको छ ।
भण्डारी बनारसको विद्यार्थी कालमा एक अगुवा व्यक्तिमा १० विशेषता अपरिहार्य भएको बताउनु हुन्थ्यो भने एउटा पार्टीको र मुलुकको राजनीतिक र राजकीय क्षेत्रको प्रमुख हुँदा के–कस्तो उच्च र उदात्त चरित्र र व्यवहारको हुनुपर्छ भन्ने कुरा केही सुलक्षणबाट अवगत हुन्छ । मदन पार्टीलाई प्रतिभाको फूलबारी बनाउन लागि पर्नु भएको थियो । अहिले जस्तो काँडाघारी होइन । मदन अयोग्य मध्ये योग्य होइन, योग्य मध्येबाट योग्यतमलाई राजनीतिक र राजकीय क्षेत्रमा स्थापित गर्नु हुन्थ्यो । उहाँ अवसर पाएर पनि इमानदार हुने नेता र कार्यकर्तालाई प्रमोट गर्नु हुन्थ्यो । अहिले जस्तो सडक छापे अत्यन्त सतही र उल्टो जनताबाट तिरस्कृतलाई काँधमा बोक्नु हुन्न थियो । मदन आफू कुनै पनि खाले आलोचना सुझाव र कटाक्षलाई दुत्कार्नु हुन्न थियो ।
भण्डारी पनि आवश्यकता अनुसार तीखो कटाक्ष गर्नु हुन्थ्यो, तर उहाँ सम्झाउने र बुझाउने भाषामा अभिव्यक्ति प्रदान गर्नु हुन्थ्यो । अहिले जस्तो सदा सबसित दुर्छे बचन बोल्नु हुन्न थियो । मदन कसैसित कहिल्यै स–साना कुरामा इख राखेर बदलाको भावना राख्नु हुन्न थियो । तर, अहिलेजस्तो कुटकुट बदलाको दुर्भावना मदनमा थिएन । विद्या भण्डारी प्रति यस्तै दुर्भावना राखेको कुरा खुल्दै छ ।
ओली वा अरू कुनै पार्टी अध्यक्ष, पार्टी नीति सिद्धान्त संगठन र विभिन्न रचनात्मक सवाललाई लिएर जबजले कडा उर्दी जारी गरेको देखिन्छ । ओलीले नै एक पटक मैले कहिल्यै नदेखेका व्यक्तिले पनि अहिले पनि हरदम मलाई र हामीलाई निर्देशन गरिरहन्छन् भन्नु भएको थियो । त्यति विधि सकारात्मक कुरा र आफ्नो नेतृत्वको सरकारका समयमा उल्लेखनीय काम गर्ने ओली के कारण एकाएक ९० डिग्री पार गरेर बोल्दै हुनुहुन्छ ? यसमा स्वयं पंक्तिकार पनि अचम्मित भएको छु ।
जबजमा भनिएको छ, ‘...हिंसाको मुकाबिला शान्तिले, षडयन्त्रको मुकाबिला सोझोपनले र धाँधलीको मुकाबिला सज्जनताले हुँदैन । जस्तालाई त्यस्तै गर्नुपर्छ ।’ यो राजनीतिक क्षेत्रमा लाग्ने क्षयरोग र क्यान्सरको ओखती हो, उपाय हो । उपयुक्त ओखतीहरू अरूहरू रोगीलाई निको पार्न निर्माण गरिएको होइन । आफैँलाई पनि लाग्यो भने निको हुन तयार गरिएको हो । जननेता मदन भण्डारीले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा रोगव्याधी लाग्न सक्छ भनेर जबजमा उपर्युक्त राजनीतिक दबाइ सिफारिस गरेको स्पष्ट हुन्छ । कम्युनिस्ट पार्टीमा स्टालिन, ब्रिजनेभ, गोर्वाचोज, रायमाझीलगायत जन्मिन सक्छन् । त्यसैले त्यस्ता विकृति पनि मास्नु पर्छ भन्ने जबजको मूल आशय हो । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी भनेर चिनिने अधिकांश एमाले अहिले चरम अन्धवादी हुन थालेका छन् ।
भर्खरै भइरहेको एमाले केन्द्रीय समितिको रमिता लाग्दो दृश्य देखेर मलाई हाँसो उठ्यो । त्यो आमसभा हो भने घरीघरी पररर ताली पड्काउनु जाती हो किनभने विपक्षलाई दर्साउन र तर्साउन यस्तो काम गर्नुपर्छ, तर बैठकमा त ताल न सुरका ताली पिट्नका लागि गाउँघरका धेरै मानिस जम्मा गरिएको अध्यक्षकै मन्तव्यबाट थाहा भयो । यो त खुल्ला समाज हो, जतिसुकै जहाँसुकैका अति गोप्य कुराहरू पनि एक दिन खुल्छन् । अध्ययन गर्ने बानी नहुँदा धेरैलाई लेखको सार कुरा बुझ्न असहज होला । त्यसैले जबजमा उल्लेख गरिएका दोस्रो अनुच्छेदमा उद्धत गरिएका लिखित तीन लाइनको सार चाहिँ जस्तालाई त्यस्तै गर्नुपर्छ भन्ने हो । यो कुरा एमालेविरुद्ध विरोधी वा विपक्षका गतिविधि विरुद्ध मात्र भनेको होइन । आफ्नै पार्टी र नेतृत्वका विकृति विरुद्ध लागि पर्नुपर्छ भनेको पनि हो ।
जबजले पार्टीमा स्टालिन जन्मिए, षडयन्त्रकारी र धाँधली गर्ने देखापरे र तिनको हालीमुहाली भए चुपचाप बस्नु र सहनु भनेको छैन । सँगै, जनवादी केन्द्रीयताका नाममा एक÷दुई उपल्ला तहका नेताका मनपरी सहेर बस्नु भनेको किमार्थ होइन । तर, पार्टीभित्रका उपयुक्त समस्या पार्टीभित्रबाटै समाधान गर्न भने प्रयत्न गर्नुपर्छ भनेको छ । यसलाई सकेसम्म मित्रवत् समाधान गर्ने प्रयत्न गर्ने पनि हो । जबजअनुसार उपयुक्त समस्यालाई कलात्मक हस्तक्षेपमार्फत समाधान गर्न गम्भीर प्रयास गर्नुपर्छ । कलात्मक हस्तक्षेप भनेको पार्टीभित्र नेताहरू कार्यकर्ता भातृ संगठनका बिचमा पार्टीका र नेताका विकृति उजागर गर्नुपर्छ । यस्ता कुरामा कुनै पनि खाले अतिवादी कृत्य गर्नु हुन्न ।
मदन भण्डारीलाई चार÷चार वटी महिलासँग अनैतिक सम्बन्ध राखेको, मदन भण्डारी फाउन्डेसन ठगी गर्ने साधन हो, प्रथम महिला राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई अनर्गल र शत्रुवत् आक्षेप, मेरा विरुद्ध उभ्भिनेहरूले आफ्नो भविष्यबारे बिस पटक सोच भन्ने कुरा सामान्य होइनन् । पुराना कुरा बिर्सियौँ भनेर आफूलाई जसरी पनि चोखो हुन र बनाउन प्रयत्न गर्ने कुरा एउटा शीर्षस्थ कम्युनिस्ट नेतालाई कदापि र कहिल्यै सुहाउँदैन । कम्युनिस्ट नेता भनेको समाजवादी प्रतिस्पर्धामा प्रतिबद्ध हुनु हो । बारबार म, मेरो र मैले होइन, हामी भन्ने हो । ‘आफूभन्दा जोकोही फस्ट म्यान भएको देख्नै सक्दिन’, ‘जबजमा स्पष्ट उल्लिखित सुखी नेपाली समृद्ध नेपाल मेरो नारा हो’ भन्ने कुरा जाती होइनन् ।
जेनजी आन्दोलन हुन्छ भन्ने जान्दा जान्दै र चार वटै सुरक्षा निकायले यसबारे एक महिना अघि सूचना दिँदा दिँदै सरकारकै लापरबाही अपार क्षतिको मूल कारण बन्यो । एकातिर पार्टीभित्र आफैँ अशान्ति, कलह, अन्तध्वंश मच्चाउने मात्र होइन जेनजी पुस्तालाई उत्तेजित बनाउने अभिव्यक्तिका कारण आफैँ भाग्न बाध्य भएको स्थिति हो । यही चालामाला रहने र यस्तै रवैयामा रमाइ महाधिवेशनमा जाने हो भने त्यो महाधिवेशनको नग्न स्वरूप अहिले नै अन्दाज गर्न सकिन्छ । किनकि साम, दाम दण्ड र भेद नीतिका साथ माइन्ड, मसल र मनि परिचालित हुने खतरा विश्वस्त सूत्रबाट अवगत भएको छ ।
(लेखक मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य हुन् ।)