२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

क्रोएसिया राहदानी नवीकरण प्रकरण : अझै अटेर गर्दै राजदूत रेग्मी

shivam cement
२०८२ कार्तिक ३ गते ०६:१५
क्रोएसिया राहदानी नवीकरण प्रकरण : अझै अटेर गर्दै राजदूत रेग्मी

काठमाडौं : वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा गैरआवासीय नेपालीहरूको आग्रह बाबजुद अस्ट्रियाको भियनामा रहेको  नेपाली राजदूतावासले नवीकरण भएका राहदानी वितरण गर्न क्रोएसिया नजाने बताएको छ ।

नवीकरण भइ अस्ट्रियास्थित नेपाली राजदूतावासमा दशैं अगाडी नै पुगेका ४ सय बढी राहदानी अहिलेसम्म नियोगमै थन्किँदा नेपाली कामदारले रोजगारी गुमाएको र तलबसमेत पाउन नसकेको अवस्था उत्पन्न भएको छ । त्यस  विषयमा मध्यान्ह दैनिकको आइतबारको अंकमा समाचार प्रकाशित भएको थियो ।

त्यसलगत्तै भियनास्थित नेपाली राजदूतावासले राहादनी वितरणसम्बन्धी अत्यन्त जरुरी सूचना भन्दै टोली लिएर क्रोएसिया नजाने, राहदानी लिन भियना नै आउनुपर्ने अडान राखेको छ । नेपाली दूतावासले राहदानी लिन आफैं आउन, मञ्जुरीनामासहित प्रतिनिधि पठाउन वा डिएचएल ट्रान्सपोर्ट लेबल बुक गरी पठाउन भनेको छ ।

राजदूतावासको सूचनामा टीआरसी तथा राहदानीको म्याद समाप्त भएका कारण राहदानी लिनका लागि स्वयं उपस्थित हुन असर्मथ भएको अवस्थामा सम्बन्धित व्यक्तिले विश्वासिलो साथीलाई लिखित मन्जुरीनामासहित पुरानो राहदानी दिई पठाएको वा आफू कार्यरत कम्पनीको आधिकारिक व्यक्ति कम्पनीको पत्रसहित राहदानी लिन स्वयं राजदूतावासमा उपस्थित भएको अवस्थामा राहदानी प्रदान गरिने बताएको छ ।

त्यसैगरी दूतावासले सम्बन्धित व्यक्तिले डिएचएल वा अन्य माध्यमको प्रयोग गरी डिएचएल ट्रान्सपोर्ट लेबल बुक गरी राहदानी लिन सकिने बताएको छ । राजदूतावासले ट्रान्सपोर्ट लेबल बुक गर्नु अगावै पुरानो राहदानी राजदूतावासमा प्राप्त भएको हुनु अनिवार्य गरिएको पनि बताएको छ ।

तत्कालै राहदानी अनिवार्य भएका नेपालीहरूले भने राजदूतावासको राहदानी वितरणसम्बन्धी पछिल्लो सूचनाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । हाल क्रोएसियामा रहेका तिलक पौडेल भन्छन्, ‘कस्ता कस्ता मान्छेहरू जनताको काम गर्न भनेर राजदूतावासमा आउँछन्, भिसा नभएको, टीआरसी नभएको भनेर क्रोएसियामा आएर बायोमेट्रिक गरिदिने अहिले पासपोर्ट नवीकरण भएर आइसकेकालाई स्वयं व्यक्ति उपस्थित हुनुपर्छ भन्ने यो कस्तो पागलपन हो । नवीकरण भएको पासपोर्ट लिएर नआउने भए किन जाग्रेव आएर नवीकरण गरिदिएको ?’

त्यस्तै राजेश केसी आक्रोश व्यक्त गर्दै भन्छन्, ‘मैले पासपोर्ट हारभाट्सकम पोष्टामार्फत पठाएको थिएँ । पासपोर्ट प्राप्त भए–नभएको इमेलको जवाफ पनि दिनुभएन । फोन गर्दा उठाउनु हुन्न । भियाना जान नसक्नेहरूका लागि भनेर जाग्रेवमा घुम्ती शिविर गर्ने अनि पासपोर्ट लिन चाहिँ भियाना नै आइज भन्ने, यो कस्तो चरित्र हो ? यदि भियना आउन सक्ने भए त घुम्ती शिविर चलाउनै पर्ने थिएन होला नि ? मर्न नि पाउँदैनस् भन्ने अनि बाँच्न नि नदिने खालको व्यवहार ठिक भएन है ।’

त्यस्तै होम अधिकारी भन्छन्, ‘किन यसो गरिँदैछ, नवीकरण गरेका सबै साथीहरू टिआरसीविहीन भएर आउने कुरै भएन । दुई–चार जना होइन ४ सय पासपोर्ट कसरी सम्भव हुन्छ ? एक दिन जाग्रेव आएर एक जना कर्मचारीले वितरण गर्दा सकिने कुरा किन अनेक बाहाना बनाउँदै हुनुहुन्छ ? जसरी भएपनि एक दिन जाग्रेवमा आएर सेवा दिन अनुरोध छ ।’ 

नेपालबाट नवीकरण भएर गएका राहदानी नपाउँदा कैलालीका २५ वर्षीय इन्द्र साउदसहित ४ जना घर फर्केका छन् । अन्य ४ सय नेपाली बाध्यतावश फर्किनुपर्ने अवस्थामा पुगेको नेपाली कामदरले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई जानकारी गराएका छन् । संघले त्यहाँ लामो समयदेखि नेपाली समुदायलाई अविभावकत्व प्रदान गरिरहेको छ ।

क्रोएसियाको दक्षिणी सहर स्पिल्टमा सामान डेलिभरी गर्ने काम गरिरहेका प्रदीप राउतले भियनास्थित नेपाली राजदूतावासमा भरतकुमार रेग्मी राजदूत भएर आएपछि राहदानीवाहक व्यक्ति सशरीर राजदूतावासमा उपस्थित भएर भरपाई गरेर मात्रै राहदानी लैजानुपर्ने अव्यवहारिक नियम लगाइएको बताए । कतिपय नेपालीहरूले सहज अवस्थामा राहदानीसम्बन्धी घुम्ती टोली लिएर जाने, नेपालीहरूकै आतिथ्यतामा रमाइलो गर्ने, तर अवैधानिक बन्ने पेचिलो अवस्थामा बाहाना बनाउने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राजदूत रेग्मीले भने नवीकरण भएर भियना पुगेका ४ सयमध्ये आइतबारसम्म १५० राहदानी सम्बन्धित व्यक्तिलाई बुझाइसकेको बताउँदै सोमबार र मंगलबार पनि राजदूतावास खुला रहने भएकाले अन्यले पनि लैजान सक्ने बताए । 

राजदूत रेग्मीले भियनास्थित नेपाली राजदूतावासले क्रोएसिया, ग्रीस, स्लोभेनिया, अल्बानिया, बोस्निया, हर्जगोभिना, जर्जिया, उत्तरी म्यासेडोनिया र भियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा समेत प्रतिनिधित्व गर्नुपर्ने भएकाले नेपालीहरूले अपेक्षा गरेजस्तो तत्कालै क्रोएसियामा शिविर सञ्चालन गर्ने सम्भावना नरहेको बताए ।

उनले शिविर सञ्चालन गर्न कूटनैतिक अनुमतिसमेत लिनुपर्ने अवस्था रहेको भन्दै दूतावासले आइतबार सार्वजनिक गरेको सूचनाको व्यवस्थाअनुसार नवीकरण भएका राहदानी लैजाने प्रबन्ध गर्न आग्रह गरे । उनले भने, ‘सीमित जनशक्तिबाट अधिकतम सेवा दिने प्रयास गरिएको छ, कसैप्रति पक्षपात गरिएको छैन ।’

परराष्ट्रका कर्मचारी भए पनि नेताको चाकडीमा माहिर मानिएका र चाकडीकै कारण परराष्ट्रका अन्य कतिपय सक्षम कर्मचारीहरुलाई पछि पार्दै राम्रो अवसर हत्याइरहेका रेग्मीले अहिले क्रोएसियाका नेपालीहरूलाई दिएको दुःखले हद नाघेको पीडितहरूले सार्वजनिक गरिरहेका छन् । राजदूत रेग्मी जस्ता गैरजिम्मेवार व्यक्तिलाई परराष्ट्र मन्त्रालयले तत्काल कारबाही गर्नुपर्ने माग पनि बढिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise