२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

हेलिकप्टरबाट उद्धार गरेपछि सेनाले ओलीको मोबाइल खोसेको थियो

shivam cement
मदनकुमार श्रेष्ठ
२०८२ कार्तिक ३ गते ०६:२५
हेलिकप्टरबाट उद्धार गरेपछि सेनाले ओलीको मोबाइल खोसेको थियो

काठमाडौं : उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने तयारी गरिरहेका बेला तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बयान दिन नजाने बताएका छन् । उनले आयोगकै निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन् । 

‘केपी ओलीलाई के आरोप लगाएर थुन्न सकिन्छ भनेर यो सरकार लागिरहेको छ’ आइतबार काठमाडौंमा केही सम्पादकसँग संवाद गर्दै ओलीले भने, ‘सोझो छ भन्दैमा जहाँजहाँ बोलायो, त्यहाँ गएर बयान दिन्नँ ।’ पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको छ । आयोग बन्नुअघि नै कार्कीले ओलीलगायतका शीर्ष नेतालाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेकाले उनको निष्पक्षतामाथि एमालेले आशंका गर्दै आएको छ । 

जेनजी आन्दोलन (२३–२४ भदौ) भड्किएर सत्ता गुमेको ४० दिनपछि पत्रकारसँग संवाद गर्दै ओलीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन आफूले कुनै सिफारिस नगरेको दाबी पनि गरे । 

आफ्नै सिफारिसमा बनेको कार्की सरकारलाई ‘हाहु’बाट बनेको भन्ने अधिकार ओलीलाई नभएको माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको टिप्पणीलाई उनले भयानक झुटको संज्ञा दिए । राष्ट्रपतिले कामचलाउ प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि आफूले त्यो आग्रह कुरा स्वीकार गरे पनि कार्कीलाई सिफारिस नगरेको ओलीको दाबी छ । ‘सेरेमोनियल राष्ट्रपतिले आफैं कार्यकारी निर्णय लिन सक्दैन । जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ,’ उनले भने, ‘तर मैले सुशीला कार्कीलाई सिफारिस गरेको होइन ।’ 

आफूले राष्ट्रपतिलाई गरेको सिफारिस उद्धृत गर्दै ओलीले भने, ‘वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थिति नियन्त्रण गरेर शान्तिपूर्ण रूपमा फर्काउन आवश्यक रहेकाले यसको समाधान लोकतान्त्रिक प्रणाली भित्रैबाट खोज्न राष्ट्रपतिसमक्ष आवश्यक कदम चाल्न सिफारिस गर्छु भनेर लेखेको थिएँ ।’ 

आफूले संविधानबाहिर जान नहुने र संसद् विघटन गर्न नहुने अडान लिएको उनको दाबी छ । राष्ट्रपति रामचन्द्र पौडेल र सेनापति अशोकराज सिग्देलले पनि आफ्नो प्रस्ताव स्वीकारे पनि असंवैधानिक ढंगले सरकार गठन गरिएको र संसद् विघटन गरिएको ओलीको टिप्पणी छ । प्रतिनिधि सभाको बैठक राखेर धारा ७६ मा एउटा उपधारा थपेर गैरसांसद् पनि प्रधानमन्त्री हुने प्रावधान राखेको भए संविधानभित्रैबाट समाधान निस्कने अवस्था रहेको उनले बताए । तर संसद् विघटनलाई नै सर्त बनाएर सरकार बनाइएकाले त्यो प्रतिगमन भएको उनको टिप्पणी थियो । ‘हिजो झन्डै दुई तिहाइ बहुमतको सरकार चल्न सक्ने स्थिति भएन भनेर संसद् विघटन गर्दा तपाईंहरूले प्रतिगमन भन्नुभयो,’ ओलीले पत्रकारप्रति कटाक्ष गरे, ‘अहिले प्रतिगमन भन्नुहुन्न । सेल्फ सेन्सरसिप होला ।’  

ओलीले नेपाली सेनाले आफूप्रति गरेको व्यवहारप्रति पनि छोटो टिप्पणी गरेका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट आफू सेनाको सुरक्षामा रहेको उल्लेख गर्दै उनले भने, ‘मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ । मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो । पछि प्रधानमन्त्रीको शपथग्रहणपछि मात्रै मैले मोबाइल पाएँ ।’ उनलाई बालुवाटारबाट मकवानपुरको सुपारीटारमा रहेको सैनिक गणमा लगिएको थियो । 

तत्कालीन प्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र विध्वंशलाई एउटै ‘च्याप्टर’मा राखेर हेर्न नहुने बताएका छन् । भदौ २३ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरको एभरेस्ट होटलअगाडिसम्म वास्तविक आन्दोलन भएको उनको भनाइ छ । ‘जेनजी आन्दोलन त्यहीँ सकिएको थियो । घर फर्किन सक्कली जेनजीले आह्वान पनि गरिसकेपछि बुलेट बाइकमा आएका बिओटी (ब्लड अफ तिब्बत)ले घुसपैठ गरेर संसद् भवनसम्म लगियो’ ओलीले भने, ‘यो अर्को च्याप्टर हो । भदौ २४ का लागि पृष्ठभूमि बनाउन आवेग र उत्तेजनाका लागि भड्काएको थियो । तेस्रो च्याप्टर कुनै आन्दोलन थिएन, पुरै विध्वंश थियो ।’ 

ADV

सम्बन्धित खबर

Advertise