
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले दोस्रो जित निकालेको छ । बुधबार विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । ब्याटिङतर्फ अर्धशतकीय इनिङ खेलेका उनले बलिङतर्फ ४ विकेट लिए ।
३२ बल खेलेका सोमपालले ४ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए । पवन सर्राफले २८ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ३६ रनको योगदान गरे । अरिफुल इस्लामले १२ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३२ रन बनाए । गुल्सन झाले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाउँदा दीपक डुम्रेले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।
विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिँदा सन्दीप लामिछाने, चरिथ असलंका र प्रतिश जिसीले समान १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर लोकेश बमले अर्धशतकीय इनिङ खेले । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौकाको सहयोगमा ८७ रन बनाए । एन्जेलो म्याथ्युजले २३ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रनको योगदान दिए । बसिर अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा १३ रन बनाए ।
कर्णालीका लागि कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । नन्दन यादव र मार्क वाटले समान १–१ विकेट लिए ।