२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

प्रमुख रोजगार गन्तव्य युएईको भिसा खुलाउन सरकार किन उदासीन ?

shivam cement
२०८२ असोज २४ गते ०६:१५
प्रमुख रोजगार गन्तव्य युएईको भिसा खुलाउन सरकार किन उदासीन ?

काठमाडौं : नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली कामदारको भिसा रोकिँदा वैदेशिक रोजगार क्षेत्रमा बेचैनी बढेको छ । दैनिक करिब एक हजार नेपाली कामदार रोजगारीका लागि जाने युएईमा हाल फ्रि जोन र अर्धसरकारी गरी दुई क्षेत्रमा मात्रै नेपाली कामदारका लागि भिसा जारी भएको छ ।

युएईले नेपाली कामदारको भिसा रोकेको औपचारिक रूपमा नेपाललाई जानकारी भने दिएको छैन । नेपाली कामदारका लागि भिसा रोकेको जानकारी कूटनैतिक माध्यमबाट नपाएको भन्दै  पर्खेर बसेको नेपाली पक्षको भनाइ छ । तर नयाँ भिसा जारी नभएको अवस्थामा नेपालले लामो समयका लागि प्रमुख रोजगार गन्तव्य गुमाउन सक्ने खतरा बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखाली बताउँछन् ।

अघिल्लो महिना भदौमा नयाँ २० हजार र रिइन्ट्रीसमेत गरी २५ हजारभन्दा बढी नेपाली कामदार युएई गएका थिए । असोजमा भने युएई जाने क्रम लगभग ठप्पको अवस्था छ । 

परराष्ट्र मन्त्रालयले दशैं अगाडि नै युएईसहित केही खाडी मुलुकबाट नेपाली कामदारका लागि पूर्ववत् रूपमा भिसा जारी गर्ने व्यवस्था गर्न कुटनैतिक पहल सुरुवाता गरेको बताएको थियो । तर त्यो प्रयास प्रभावकारी नभएको जस्तो देखिएको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भिसासम्बन्धी व्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काउन नेपालस्थित सम्बन्धित देशका राजदूतहरूसँग छलफल सुरु गरेको बताउँदै परिस्थिति सकारात्मक हुने बताएका थिए ।

सुरक्षाको विषय सम्बन्धित देशको आन्तरिक मामिला भएको भन्दै युएई लगायतका मुलुकले अत्यन्तै छोटो समयका लागि सतर्कता अपनाएको हुनसक्ने आँकलन नेपाली अधिकारीहरूको थियो । तर करिब एक महिना लामो अवधिमा पनि कामदारको भिसा जारी नभएपछि नेपालमा अनेकौं आशंका र अनुमान बढेको छ । यस्तो अवस्थामा नेपालमा रहेका सम्बन्धित देशका राजदूतलाई बोलाएर छलफल गर्ने र त्यसले सार्थक परिणाम नदिए नेपाली प्रतिनिधिमण्डलले श्रम गन्तव्य मुलुकहरूमा भ्रमण गरेर भएपनि समस्याको समाधान खोज्नुपर्ने कतिपयको माग छ ।

विगतमा पनि साउदी अरेबिया, युएई, मलेसियालगायतका मुलुकले आफ्नो राष्ट्रिय हितअनुसार सुरक्षाका प्रोटोकलहरूमा फेरबदल गर्दै आएका भएपनि यस पटक परिस्थिति रोजगारदाताले नेपाली कामदारको विकल्प खोज्ने तहमा नकारात्मक रूपमा विकसित हुने खतरा बढेको कतिपयको भनाइ छ ।

राष्ट्रिय अर्थतन्त्रले शिथिलताको बाटो लिएको अहिलेको अवस्थामा आन्तरिक रोजगारी नगण्य देखिएको छ । विश्व बैंकले नेपाली अर्थतन्त्रको वृद्धि दर साढे दुई प्रतिशत मात्रै हुने आँकलन गरेको अवस्थाले पनि वर्तमान अवस्थामा वैदेशिक रोजगारको योगदान अत्यन्तै महत्वपूर्ण मानिएको छ ।

गत वर्ष ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । उनीहरूले १८ खर्ब बराबरको रेमिट्यान्स पठाए । नेपाली कामदारको भिसा प्रक्रियामा कठिनाइ उत्पन्न भए बेरोजगारी समस्या चुलिने र अर्थतन्त्र धरमराउने धेरैको आँकलन छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise