काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कुवेतमा नेपाली सवारी चालकले भोगेका समस्यासहित विभिन्न विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र वैदेशिक रोजगार विभागका निमित्त महानिर्देशकको ध्यानाकर्षण गराएको छ ।
संघका तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेलको नेतृत्वमा बिहीबार गएको व्यवसायीको प्रतिनिधिमण्डलले मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र विभागका निमित्त महानिर्देशक चन्द्रबहादुर शिवाकोटीको ध्यानाकर्षण गराएको हो ।
अघिल्लो महिना नेपालमा भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा यातयात व्यवस्था विभागमा आगजनीका कारण सर्भरमा समेत असर पर्न गइ अनलाइनमा सवारी चालक अनुमतिपत्र हेर्न नसकिने अवस्था उत्पन्न भएको र त्यसले कुवेतमा सवारी चालकको काममा गएका सवारी चालकहरूको रोजगारी प्रभावित भएकाले तत्कालै समस्या समाधान गरिदिन संघले माग गरेको छ ।
संघले विभागबाट चालक भिसामा श्रम स्वीकृति लिएर गएका कामदारहरूलाई कुवेतस्थित नेपाली राजदूतावासले विगतमा जस्तै सवारी चालक भेरिफिकेसन लेटर नदिँदा सयौंको संख्यामा रहेका उनीहरूलाई समस्या परेको भन्दै यातायात व्यवस्था विभागले वैकल्पिक व्यवस्था नगरेसम्मका लागि कामदार स्वयंलाई जिम्मेवार बनाइ श्रम स्वीकृति जाँच गरी राजदूतावासबाट भेरिफिकेसन लेटर दिलाउने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको कार्यवाहक महासचिव कुन्छादोर्जे दिमदोङले जानकारी दिए । संघले नेपाली राजदूतावासबाट भेरिफिकेसन लेटर नदिँदा समस्यामा परेका कामदारहरू र पठाउने म्यानपावर कम्पनीको विवरण पनि विभागलाई बुझाएको छ ।
त्यसैगरी संघले वैदेशिक रोजगार विभागमा जापान कामदार पठाउने उद्देश्यले जिट्कोमा सूचीकृत भइ हाल १२६ वटा इजाजत प्राप्त संस्थाहरूको जिट्को लाइसेन्स नवीकरण गरिदिन पनि माग गरेको छ ।
गत वर्ष वार्षिक सय जना कामदार नपठाएका कारण मूल इजाजत नवीकरण नहुँदा जिट्को प्रमाणपत्र नवीकरण गर्न नमिल्ने भएकाले विभागको सूचनाअनुसार राजस्व बुझाइ निर्धारित समय सीमाभित्र निवेदन दिइएको भएपनि जिट्को लाइसेन्स नवीकरण नभएको संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
संघले हाल सय संख्याको प्रावधान खारेज भइ मुख्य इजाजतपत्र नवीकरण भएकाले गत वर्षहरूका निर्णयहरूलाई समेत ध्यानमा राखेर जिट्को प्रमाणपत्र पनि सोहीअनुसार नवीकरण गरिदिन आग्रह गरेको छ ।
संघले युरोपका विभिन्न देशबाट वैदेशिक रोजगारको मागपत्र प्राप्त भएको, तर नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा कामदार पठाउन नसकिएका कारण व्यवसायीले संस्थागत रूपमा पाउने मागपत्रमा कामदार जान नपाउने र बिचौलियाहरूले जोखिम र असुरक्षित रूपमा व्यक्तिगत श्रम स्वीकृतिमा पठाएकाले त्यसको पनि तत्कालै उपचार खोजिनुपर्ने माग गरेको छ ।
संघले व्यक्तिगत श्रम स्वीकृतिका आधारमा जाँदा वैदेशिक रोजगार असुरक्षित हुनुका साथै युरोपियन मुलुकबाट संस्थागत रूपमा प्राप्त कामदारको माग गुमिरहेकाले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन नेपाली राजदूतावासहरूबाट मागपत्र प्रमाणीकरण हुने व्यवस्था गर्न अति जरुरी रहेकोे बताएको छ ।
सचिव डा. पुष्कर तथा निमित्त महानिर्देशक शिवाकोटीले व्यवसायीका समस्या समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने आश्वासन दिएका छन् । टोलीमा तृतीय उपाध्यक्ष पौडेल, कार्यवाहक महासचिव दिमदोङ, कोषाध्यक्ष धनु सिँजाली, कार्यसमिति सदस्यहरू विद्यालक्ष्मी बज्राचार्य तथा कृष्णप्रसाद ढकालको सहभागिता रहेको थियो ।