२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

सेनाको तथ्यांक : जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असोज ३१ गते १६:२२
सेनाको तथ्यांक : जेनजी आन्दोलनमा २२ प्रदर्शनकारीको मृत्यु

काठमाडौं : नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये २२ जना प्रदर्शनकारी रहेको पुष्टि गरेको छ ।

सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रस्तुत गरेको प्रतिवेदनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

उनका अनुसार मृत्यु हुनेमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको पहिचान प्रदर्शनकारीबाहेक अन्य श्रेणीमा परेको छ ।

थापाका अनुसार आन्दोलन देशभर ४८४ स्थानमा फैलिएको थियो । आन्दोलनका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी आवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको सेनाले जनाएको छ ।

त्यस क्रममा १५ हजार ५८८ जना कैदीबन्दी कारागारबाट फरार भएका थिए भने तीमध्ये ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा ल्याइएको छ ।

सेनाले आन्दोलनका बीच ९७८ थान हतियार हराएको र हालसम्म ५८६ वटा हतियार फिर्ता प्राप्त भएको पनि जनाएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सहभागी अधिकांश युवा र विद्यार्थी थिए । २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको र सुनसरीको इटहरीमा थप दुई जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise