२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

परम्परागत ‘हुक्कालोली’ लोप हुँदै

shivam cement
रासस
२०८२ असोज ३१ गते १८:०४
परम्परागत ‘हुक्कालोली’ लोप हुँदै

महोत्तरीः महोत्तरीसहित मधेस प्रदेशका अधिकांश क्षेत्रमा परम्परागत रूपमा नचाउँदै आएको बाँसको कोया (खपरोइया)बाट निर्मित हुक्कालोली लोप हुँदै गएको छ । 

यस क्षेत्रमा दीपावलीको राति पौराणिक तथा सांस्कृतिक पहिचान बोकेको आगो लगाएर नचाइने हुक्कालोली लोपहुँदै गएकाप्रति बुढापाकाहरूले चिन्ता व्यक्त गरेका छन् । मिथिलाञ्चलभरि लामो परम्परा बोकेको पितृ क्रियाका निमित्त गरिएको धार्मिक मान्यतालाई मनोरञ्जनका रूपमा प्रयोग गर्न थालेपछि हुक्कालोली प्रथा लोप हुन थालेको जलेश्वर नगरपालिका–८ का पण्डित माधव झाको भनाइ छ ।  

पहिले गाउँमा बाँसका ठूला लठ्ठीमा बाँसकै कोया (खपरोइया)माथि कोया राखेर हुक्कालोली बनाउने गरिन्थ्यो भने दीपावलीका राति सो हुक्कालोलीमा आगो लगाएर नचाउने गरिन्थ्यो । अचेल भने यो परम्परागत कार्य लोप हुँदै गएको पिपरा गाउँपालिका निवासी ७० वर्षीय वयोवृद्ध एवं संचारकर्मी वैद्यनाथ चौधरीले बताए ।

‘पहिले बालकदेखि वृद्धसम्म हुक्कालोली नचाउने गर्दथे, तर हाल यसलाई मनोरञ्जनको रूपमा सहरी र ग्रामीण क्षेत्रमा फाटफुट मनाउने गरेको पाइन्छ । आधुनिकतासँगै यो परम्परा लोप हुने अवस्थामा छ’, मटिहानी नगरपालिका– ८ का उमाशङ्कर साहले भने । 

स्कन्द पुराणमा उल्लेख भएअनुसार मिथिलाञ्चलमा पितृलाई बाटो देखाउन र पितृको आत्मालाई शान्तिका निमित्त लक्ष्मीपूजाको राति हुक्कालोली नचाउने परम्परा रहेको जलेश्वर– ५ का संस्कृतिविद् ध्रुव रायले बताए । पछिल्लो समय भने मनोरञ्जनका लागि दीपावलीको रात दियोबत्ति बाली कपडाको पोकोमा तारले बेरेर वस्तु (गेनी) लाई मट्टितेलमा भिजाइ आगो बालेर हुक्कालोली खेलिने उनले सुनाए । 

मिथिलामा हुक्कालोली मनाउने क्रममा लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहुन् भन्ने उद्देश्यले आँगनबाट नाङ्लो ठटाउँदै प्रवेश गर्ने धार्मिक चलन रहेको छ ।  

घरको मूली (विशषगरी पुरुष) ले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्रयाउँछन् । जसलाई उक फेर्नु भनिन्छ । रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकीदेवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ । 

ADV

सम्बन्धित खबर

Advertise