रौतहट : जनमत पार्टीले रौतहट जिल्लालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय गौरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीले जिल्लालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग औपचारिक माग गरेको हो ।
ज्ञापन पत्रमार्फत जनमत पार्टीले रौतहट जिल्लालाई अबिलम्ब बाढीग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने, बाढी तथा अविरल वर्षाले धानवाली र तरकारी बालिमा भएको क्षतिको यकिन विवरण संकलन गरी पीडित किसानलाई मुआब्जा उपलब्ध गराउनुपर्ने माग राखेको छ । साथै गौर लगायतका नगरपालिकामा हरेक वर्ष दोहोरिने डुबान समस्याबाट जोगाउनका लागि संघीय सरकारले गम्भीर बन्नुपर्ने पनि माग गरिएको छ ।
ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय गौरका सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीलाई बुझाइएको जनमत पार्टीले जनाएको छ ।
ज्ञापन पत्र बुझाउनुअघि जनमत पार्टीका कार्यकर्ताहरूले सदरमुकाम गौरमा विरोध प्रदर्शन समेत गरेका थिए । प्रदर्शनपछि पार्टीका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
ज्ञापन पत्र बुझाउँदै जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्शेदले भारतीय बाँधका कारण गौर क्षेत्रमा पानी निकासको समस्या गम्भीर बनेको उल्लेख गर्दै नेपाली भू–भागको बकिया र बागमती क्षेत्रमा सुलिस गेट निर्माणको आवश्यकता पहिचान गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘बाढी र डुबान प्रत्येक वर्ष आउने विपद हो, यसबाट जनधनको ठूलो क्षति भइरहेको छ। राज्य यसमा गम्भीर बन्न आवश्यक छ ।’
जनमत पार्टीका नेताहरूले संघीय सरकारलाई रौतहटको बाढी समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन र किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन् ।