२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

अर्घाखाँचीमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज ३० गते २१:०७
अर्घाखाँचीमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

अर्घाखाँची : तिहार नजिकिएसँगै अर्घाखाँचीमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वका बेला अखाद्य वस्तुको बिक्री बढ्ने र उपभोक्ताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बजार अनुगमनमा कडाइ गरिएको हो । 

सदरमुकाममा केन्द्रित बजार अनुगमनलाई अब ग्रामीण क्षेत्रसम्म विस्तार गरिएको छ ।

अर्घाखाँचीमा बारम्बार बजार अनुगमन भएपनि उपभोक्तालाई ठग्ने व्यापारीमाथि कारबाही नहुने गुनासो स्थानीय उपभोक्ताहरूको छ । विभिन्न पालिका र सन्धिखर्क चुत्राबेँसी बजारमा पटक–पटक अनुगमन भएपनि अखाद्य वस्तु बरामद गरी जलाउने बाहेक ठोस कारबाही नभएको उनीहरूको भनाइ छ ।

यसले गर्दा म्याद गुज्रिएको सामान बिक्री गर्ने, बिल–विजक नराख्ने, दर्ता विना व्यवसाय सञ्चालन गर्ने जस्ता कार्यहरू निरन्तर भइरहेका छन् । स्थानीय नागरिकका अनुसार यसले राज्य र उपभोक्ता दुवैलाई ठूलो नोक्सानी पुर्‍याइरहेको छ । 

छत्रदेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार चाडपर्वको समयमा सदरमुकामका डिलरहरूले म्याद सकिएका वस्तु ग्रामीण बजारमा पठाउने खतरा रहने भएकाले पालिकास्तरमा पनि बजार अनुगमनलाई कडाइ गरिएको हो । अर्घाखाँचीका सबै छवटै पालिकामा बजारहरू विस्तार हुँदै गएका छन् । 

सन्धिखर्क नगरपालिकाको चुत्राबेँसी, शितगंगाको ठाडा, अमराई, चाक्ला, डोहोटे, सानादह, भूमिकास्थानको नुवाकोट हटिया, खिल्ली हटिया, ढाकाबाङ, मालारानीको खनदह, छत्रदेवको छत्रगञ्ज, पाणिनीको दुर्गाफाँट लगायतका ग्रामीण बजारहरूमा नियमित बजार अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । 

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार पालिकाका उपाध्यक्ष तथा उपप्रमुखलाई बजार अनुगमनको अधिकार दिइएको छ । उनले भने,‘चाडपर्व र अन्य समयमा पनि गाउँपालिका र नगरपालिका स्वयंले बजार अनुगमन गर्नुपर्छ ।’

उनका अनुसार दशैं–तिहार लक्षित विशेष योजना बनाएर प्रशासनले बजार अनुगमन कार्य अघि बढाएको छ र हाल बजारमा ठूलो समस्या देखिएको छैन । अर्यालले थपे, ‘घरेलु तथा साना उद्योग कार्यालयले पनि अनुगमनलाई निरन्तरता दिएको छ ।’

घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख दुर्गा न्यौपानेका अनुसार तिहार अवधिभर मासु पसल, खाद्य पसल र मिठाई पसलहरूमा विशेष निगरानी राखिनेछ । उनले यस कार्यमा सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको बताइन् ।

उद्योग व्यापार संघ अर्घाखाँचीका अध्यक्ष योगेन्द्र खड्काले स्वच्छ बजार र स्वस्थ उपभोक्ता बनाउनका लागि व्यवसायीलाई तालिम दिने र बजार अनुगमनमा सहकार्य गर्ने योजना रहेको बताए । उनले भने,‘निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड हो । राज्यलाई कर छल्ने, व्यवसाय दर्ता नगर्ने वा उपभोक्ता ठग्ने कसैलाई पनि छुट हुन सक्दैन। म्याद सकिएका सामान बिक्री गर्ने अपराधको अन्त्य गर्नैपर्छ ।’

त्यस्तै, चेम्बर अफ कमर्सका प्रतिनिधि लिलाधर बस्यालले पनि चाडपर्व लक्षित बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन र उपभोक्ता ठग्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

अनुगमन टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख दुर्गा न्यौपानेका अनुसार मालारानी गाउँपालिका–६ हसपुरबाट म्याद गुज्रिएका करिब १५ हजार ५ सय रुपैयाँ बराबरका अखाद्य सामग्री जफत गरी नष्ट गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खुबिराम पोखरेलका अनुसार मापदण्ड विपरीत पसल सञ्चालन गर्ने, मूल्यसूची र साइनबोर्ड नराख्ने, दर्ता तथा नविकरण नगर्ने व्यापारीहरूलाई ७ देखि १५ दिनभित्र सम्बन्धित वडा वा पालिकामा गएर दर्ता, नविकरण र कागजात मिलाउन निर्देशन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी हुमबहादुर विकका अनुसार बिहीबार मात्र मालारानी गाउँपालिका–६ हसपुरका करिब २५ वटा पसलमा अनुगमन गरिएको थियो । उक्त अनुगमनमा म्याद गुज्रिएका, मापदण्ड विपरीत सञ्चालित पसलहरूबाट रङ, मिठाई, मसलाजन्य अखाद्य वस्तु जफत गरी नष्ट गरिएको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise