२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

संसद् पुनर्स्थापनाकै पक्षमा एमाले, फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष

shivam cement
जानकी पाठक
२०८२ कार्तिक १ गते ०६:३५
संसद् पुनर्स्थापनाकै पक्षमा एमाले, फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष

काठमाडौं : नेकपा एमाले संसद् पुनर्स्थापनाकै पक्षमा उभिएको छ । संसद् पुनर्स्थापना कि चुनाव भन्ने बहस गरेको एमालेले आगामी फागुन २१ मा चुनाव हुन नसक्ने निष्कर्ष निकालेको छ । 

केन्द्रीय समितिको यही निष्कर्षका आधारमा एमालेले संसद् पुनर्स्थापनाको पक्षमा प्रस्ट निर्णय लिएको हो । 

विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेर जाने निर्णय गरेको एमालेले सरकारले निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचनमा नजाने जनाएको हो ।  

आफ्ना प्रधानमन्त्रीकालमा पटकपटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीको प्रस्तावमा विघटन भएको संसदको बचाउमा लागेका छन् । बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमाथि असहमति जनाउँदै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत  राखेका थिए । शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे पनि निर्णयमा उनीहरूको केही चलेन ।   

असोज २९–३१ मा बसेको एमाले १०औं पूर्ण बैठकले संविधान संशोधनका लागि पनि निर्वाचनभन्दा संसद् पुनर्स्थापना गरेर जानुपर्ने एमालेको तर्क छ । जेनजी आन्दोलन थेग्न नसकेर सत्ता छाडेर भागेको एमालेले जेनजीकै मागलाई सम्बोधन गर्न संसद् पुनर्स्थापनाको एजेन्डा अघि सारेको नेताहरूले बताएका छन् । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको १०औं पूर्ण बैठकले संसद् पुनर्स्थापनाको विकल्पमा जान नसकिने निर्णय गरेको बताए । बैठकमा ३ सय २८ जनाले आफ्नो धारण राखेको उनले बताए ।  

बैठकको निर्णय सार्वजनिक गर्दै गौतमले भने, ‘अहिलेको संकट समाधानको विकल्प भनेकै संसद् पुनर्स्थापना गर्नु हो । डिरेल गरेको संविधान, लोकतान्त्रिक गणतन्त्रमाथिको चुनौती र जेजनी आन्दोलनको मागलाई सहज सम्बोधन गर्ने उत्तम विकल्प भनेकै संसद् पुनर्स्थापना हो भन्ने एमालेको निष्कर्ष छ ।’

संसद् पुनर्स्थापनाका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने एमालेले जनाएको छ । जेनजी आन्दोलनबाट प्रभावित पुराना राजनीतिक दल विस्तारै तंग्रिदै छन् । युवापुस्ताले गरेको आन्दोलनको मर्म सम्बोधन गर्दै पार्टीलाई जनतामाझ लोकप्रिय बनाउन पार्टीमा पुनर्संरचना आवश्यक रहेको सबै दलमा बहस भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी राजनीतिबाट अलग रहेको घोषणासहित उपसभापति पूूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । 

नेकपा माओवादीले केन्द्रीय कमिटी नै भंग गरेर मंसिरमा महाधिवेशन गर्नेगरी पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ । एमालेले पनि मंसिर २७–२९ गतेसम्म महाधिवेशन गर्ने निर्णय लिएको छ । तर कांग्रेसमा नयाँ पुस्ताले पार्टीलाई नेतृत्व गर्ने तहमा पुगे पनि एमाले र माओवादीमा फेरि अहिलेकै नेतृत्व दोहोरिने करिब पक्का छ । दुवै दलका नेताहरूले आफ्नो पक्षमा बहुमत जुटाउन दोस्रो तहका नेताहरूलाई झगडा गराएर आफैं नेतृत्व गर्ने योजनामा छन् । संसद् सर्वोच्च अदालतमा मुद्दासमेत परिसकेको छ । यो अवस्थामा संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेले निर्णय गरेको गौतमले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise