२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

शेखर–गगन राजनीति : एजेन्डामा एकता नेतृत्वमा प्रतिस्पर्धा

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १ गते ०६:३०
शेखर–गगन राजनीति : एजेन्डामा एकता नेतृत्वमा प्रतिस्पर्धा

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा एउटै टिम बनाएर महाधिवेशन हाँकेका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आगामी नेतृत्वका लागि प्रतिस्पर्धाको तयारीमा छन् । २०७८ मंसिर २४–२८ मा भएको १४औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा उत्रिँदा कोइराला र थापाले समूह बनाएरै महाधिवेशन हाँकेका थिए । 

सो महाधिवेशनमा सभापति संस्थापन पक्षकै नेता शेरबहादुर देउवा र दुई महामन्त्रीमा कोइराला टिमका थापा र प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्माले जितेर पार्टी चलाइरहेका छन् ।  सभापतिमा पराजित शेखर निरन्तर प्रतिपक्षका भूमिकामा रहेर चार वर्ष बिताइसकेका छन् । २०८२  मंसिरभित्र पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने एजेन्डा बोकेर देशव्यापी अभियान चलाएका डा. शेखरले पार्टीको चालू बैठकमा पनि आफ्नो धारण प्रस्ट राखे । उनले मंसिरभित्र महाधिवेशन हुनेगरी कार्यतालिका ल्याउन महामन्त्रीहरूलाई सुझाव दिँदै त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताए । नेता कोइरालाको यो अडानलाई स्वीकार गर्दै महामन्त्रीद्वय थापा र शर्माले आगामी मंसिर २७–२९ सम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका छन् ।  १५औं महाधिवेशन समयमै गराउने विषयमा उनीहरूबीच मत मिलेको छ । 

यद्यपि आगामी पार्टी नेतृत्वका लागि आ–आफ्नै ढंगले तयारी थालेका दुई नेताबीच     पछिल्लो साढे दुई वर्षयता सम्बन्धमा दरार आएको छ । पार्टी नेतृत्वका सन्दर्भमा प्रतिस्पर्धामा उत्रिने तयारी गरेका नेताबीच पार्टी निर्माणको एजेन्डामा एकरूपता देखिएको नेपाली कांग्रेसका नेता रञ्जित कर्णले बताए ।  उनले भने, ‘नेता शेखर कोइराला गत महाधिवेशनको डे वान देखी नै समयमा महाधिवेशन र पार्टी रूपान्तरणको विषयमा प्रस्ट हुनुहुन्थ्यो । तर महामन्त्रीजीहरू पछिल्लोपटक सभापतिलाई साथ दिँदै महाधिवेशन सार्न सहमत हुनुहुन्थ्यो । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएका महामन्त्रीहरूले पनि नेता कोइरालाकै एजेन्डा (नियमित महाधिवेशन)मा जानेगरी समय तालिका ल्याउनुभएको छ । यसले कांग्रेस रूपान्तरण र जागृतीकरणमा सहयोग पुग्ने नै छ ।’ जेनजी मुभमेन्टले समयमै महाधिवेशन गर्नुपर्ने प्रेसर कांग्रेसलाई दिएको नेता कर्णको तर्क छ ।  

कांग्रेसको विधानअनुसार केन्द्रीय समिति कार्यकाल एक वर्ष थप्न पाउने व्यवस्थालाई उपयोग गर्दै २०८३ मा १५औं महाधिवेशन गर्ने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई स्वीकार गर्दै सहमति दुवै महामन्त्रीले गरेका थिए ।  जेनजी आन्दोलनपछि पार्टीलाई पुर्नसंरचित गर्ने भन्दै विशेष महाधिवेशनको प्रस्ताव ल्याएका उनीहरूले विशेष महाधिवेशन प्रयोजनका लागि करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाएका छन् ।  

तर केन्द्रीय समितिको कार्यकाल सकिएपछि विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशन गर्नुपर्ने पुरानो अडानबाट नेता कोइराला पछि हटेका छैनन् । संस्थापन पक्षका नेतासमेत नियमित महाधिवेशनकै पक्षमा उभिएपछि महामन्त्रीहरूले पेस गरेको विशेष महाधिवेशनको एजेन्डा ओझेलमा परेको नेताहरूले दाबी गरेका छन् । असोजको पहिलो साता नै महाधिवेशन प्रतिनिधिको समय सकिएको र वर्तमान केन्द्रीय समितिको समेत समय सकिएपछि विशेष महाधिवेशनको एजेन्डा लिएर महामन्त्रीहरूले नै पार्टीमा विवाद बढाउने काम गरेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले बताए । उनले भने, ‘कांग्रेसको वर्तमान कार्यसमितिको समयावधि सकिनै लागेको छ । यिनै केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको छनोट गरेका महाधिवेशन प्रतिनिधिको कार्यकाल असोजको पहिलो हप्तामै सकिएकाले यसको वैधानिकतामाथि प्रश्न उठ्छ । पार्टीको महाधिवेशनमा जेनजीसहितका नयाँ व्यक्तिहरूले भाग नदिएर पुरानै महाधिवेशन प्रतिनिधिबाट नेतृत्व मात्रै छान्दा अझै ठुलो समस्या देखापर्छ,’ उनले भनेका छन् । म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई मान्यता दिन नसकिने संस्थापन पक्षका नेताको दाबी छ ।

तर महामन्त्री थापा र विश्वप्रकाश शर्मानिकटका नेताहरूले नियमित महाधिवेशन समयमै गर्न संस्थापन पक्षलाई दबाब दिन विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाएको बताउँछन् । महामन्त्रीहरू महाधिवेशन सार्ने पक्षमा पक्षमा हुनुहुन्थ्यो । एक वर्षअघि नै महाधिवेशनको तालिका प्रस्तुत गनरेका महामन्त्रीको प्रस्तावलाई पार्टी संस्थापन पक्षबाट अस्वीकृत भएको हो । तर पछिल्लो जेनजी आन्दोलनपछि पार्टीलाई यथास्थितिबाट अघि बढाउन नसक्ने निष्कर्षसहित विकल्पमा विशेष महाधिवेशनको अभियान चलाइएको हो ।’ 

२०७९ पुस १० मा भएको संसदीय दलको नेता छनोटको प्रतिस्पर्धामा संस्थापनइतर समूहले गगनलाई अघि सारे पनि आफ्नै टिमका सात जना सांसदहरूले मत नदिएपछि थापा देउवासँग ठुलो मतान्तरले पराजित भएका थिए । देउवाले ६३ मत पाउँदा शेखर समूहबाट दलको नेता भिडेका महामन्त्री थापाले २५ मत मात्रै प्राप्त गरेका थिए । संसदीय दलको निर्वाचनमा पाका नेताहरू एकातिर लागेको महसुस गरेका थापा कोइरालासँग विस्तारै टाढिँदै गएका हुन् । त्यसबेला थापालाई दलको नेतामा चुनाव लडाउने र १५औं महाधिवेशनमा शेखरलाई नै सभापति बनाएर जाने संस्थापनइतर समूहका नेताहरूबीच भद्र सहमति भएको थियो ।  सभापति देउवाका निकटतम प्रतिस्पर्धी रहेका कोइरालाले त्यतिबेला ४० प्रतिशत मत प्राप्त गरेका थिए । देउवा सक्रिय भूमिकामा नरहने निश्चित भएसँगै कोइरालाले आफूलाई ‘सर्वस्वीकार्य’ बनाउन प्रयास थालेका छन् । त्यस्तै, थापाले कुनै हालतमा कसैलाई नेतृत्व नछाड्नेगरी अघि बढेका छन् ।  

संस्थापन समूहको पेलान र शेखर समूहबाट समेत टाढिँदै गएका महामन्त्री थापाले आफ्नै नेतृत्वमा समूह निर्माण गर्ने र १५औं महाधिवेशनमा सभापति बन्ने योजनाका साथ अघि बढेका छन् । नेता शेखरले पनि थापाको अनुपस्थितिमा पनि आफ्नो समूहलाई मजबुद बनाउने संस्थापन पक्षका कतिपय नेताहरूलाई आफ्नो पक्षमा उभ्याइसकेका छन् । पार्टीको आगामी नेतृत्वका लागि छुट्टै अभियान चलाएर हिँडेका नेता कोइराला र थापाबीच एजेन्डामा भने एकता देखिएको नेताहरूको दाबी छ । २९ बाट चलेको पार्टी केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा अधिकांश नेताहरू देखिए पनि मंसिरमै महाधिवेशनको समय अपुग हुने हुँदा केही पर सार्ने विषयमा छलफल चलिरहेको छ । यसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise