२०८२ कार्तिक १ गते शनिवार / Oct 18 , 2025 , Saturday
२०८२ कार्तिक १ गते शनिवार
Ads

बेवारिसे १२ कंकाल, सम्पर्कमा आएनन् आफन्त, खुलेन पहिचान

shivam cement
दिवाकर अधिकारी
२०८२ कार्तिक १ गते ०६:४०
बेवारिसे १२ कंकाल, सम्पर्कमा आएनन् आफन्त, खुलेन पहिचान

काठमाडौं : जेनजी आन्दोलन भएको एक महिना बित्यो । तर अझैसम्म सो आन्दोलनका मृत्यु भएका १२ जनाको पहिचान नै खुल्न सकेको छैन । 

नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–७ चाबहिल चुच्चेपाटीमा भेटिएका सातवटा कंकालको पहिचान हुन सकेको छैन । सुनसरीको भाटभटेनीमा भेटिएका पाँचवटा कंकालको पनि सनाखत हुन सकेको छैन । 

न आन्दोलनका क्रममा मृत्यु भएकाका परिवार सम्पर्कमा आएका छन् न सरकारले मृत्यु भएको आसपास रहेका सिसी क्यामेरालगायतको सहायताले को व्यक्ति हो भनेर पहिचान गर्न सकेको छ । नेपाल प्रहरी कंकाल यति छन् भनेर तथ्यांक राख्न विवश छ । 

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भयो । २३ भदौमा नयाँ बानेश्वर क्षेत्रमा मात्रै गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यही दिन सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको थियो । भदौ २४ गते समेतको गरेर मृत्यु हुनेको संख्या ७६ पुगेको हो । उनीहरू सबैलाई सरकारले शहीद घोषणा गरिसकेको छ । 

तर ती ७६ जना कोको हुन् ? यसबारे पूर्ण विवरण सरकारसँग छैन । नेपाली सेनाका अनुसार ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी हुन । बाँकी तीन जना प्रहरी हुन्, १० जना कैदीबन्दी हुन् । मृत्यु हुनेहरूमा अझै ४१ जना बाँकी छन् । ती को हुन् ? भनेर नेपाली सेनाले प्रस्ट भनेको छैन । 

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेको थियो । जहाँ सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । जसमा कंकालको विवरणसमेत समावेश छ ।

नेपाल प्रहरीका अनुसार भने मांशपेसी जलेर कंकाल मात्रै बाँकी रहेको अवस्थामा शव भेटिएका थिए । ती सबै शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । 

शव पहिचानका लागि भनेर प्रहरीले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पठाएको थियो । तर ३८ दिनसम्म पहिचान खुल्न सकेको छैन । 

चिकित्सकहरूका अनुसार ती शवको पहिचान गर्न अप्ठ्यारो छ । डिएनए परीक्षणका लागि काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।  चिकित्सकहरूले नै पहिचान खुल्न अप्ठ्यारो रहेको बताएपछि प्रहरीहरू नै अलमलमा रहेका हुन् । 

डिएनए परीक्षणका लागि जीवित सेल आवश्यक हुने चिकित्सक बताउँछन् । तर शरीर पूर्ण रूपमा जलेर कंकाल मात्रै बाँकी भएकाले डिएनए परीक्षणका लागि समस्या परेको हो । 

तर विधि विज्ञानले प्रयास गरिरहेको छ, प्रक्रियामै रहेको चिकित्सहरू बताउँछन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले शव दाबी गर्न आफन्त पुगेका पनि छैनन् । प्रहरीका अनुसार जेनजी आन्दोलनमा सहभागी हुन निस्किएको र फर्किएनन् भन्नेखालको निवेदन लिएर पीडित परिवार पुगेका छैनन् । हरायो भनेर पनि केही परिवार प्रहरीको सम्पर्कमा पुगेका छैनन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise