२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

कुवेतमा मदिरा कारोबारमा संलग्न एसियाली मूलका ६ जना पक्राउ

shivam cement
२०८२ असोज ३० गते ०६:२०
कुवेतमा मदिरा कारोबारमा संलग्न एसियाली मूलका ६ जना पक्राउ

काठमाडौं : कुवेत प्रहरीले अवैधानिक रूपमा मदिराको उत्पादन तथा बिक्री गरेकोे अभियोगमा एसियाली मूलका ६ जनालाई पक्राउ गरेको छ । कुवेतको अब्दालीका सुरक्षाकर्मी र जासुसहरूले अब्दालीको दुर्गम मरुभूमि क्षेत्रमा खडा गरिएको गोप्य अवैध मदिरा कारखानामा छापा मारेर ६ जना एसियाली नागरिकलाई पक्राउ गरेको अरब टाइम्सले जनाएको छ ।

पक्राउ पर्नेहरूको राष्ट्रियता गोप्य राखिएको छ । यसअघि अवैधानिक रूपमा मदिरा उत्पादन तथा बिक्रीको काममा गैरकानुनी रूपमा उक्त मुलुक बस्दै आएका नेपालीहरू पक्राउ पर्ने गरेका थिए ।

गत अगस्ट महिनामा विषाक्त मदिराको सेवनबाट ठुलो संख्यामा नेपाली र भारतीय कामदारको मृत्यु तथा अंगभंग भएपछि कुवेतले अवैध मदिरा उत्पादन गतिविधिका बारेमा निगरानी र अनुसन्धान तीव्र बनाएको थियो । छापा मार्ने क्रममा कुवेती अधिकारीहरूले अवैध मदिरा प्रक्रियामा प्रयोग हुने ठुलो संख्यामा ब्यारेलहरू, बिक्रीका लागि भरेर तयार पारिएका मदिराका असंख्य बोतलहरू जफत गरिएको बताएको छ ।

पक्राउ परेका ६ जना व्यक्तिहरूले बयानका क्रममा मदिरा उत्पादन र बिक्रीका लागि वितरण गरेको स्वीकार गरेको बताइएको छ । संदिग्ध र बरामद गरिएका सामग्रीलाई थप कानुनी कारबाहीका लागि प्रक्रियामा लगिएको छ ।

कुवेतमा मदिराको उत्पादन तथा सेवन पूर्णरूपमा प्रतिबन्ध रहेकोे छ । गत अगस्टमा कुवेती सञ्चारमाध्यमहरूले अवैध मदिरा सेवनबाट ३७ जनाभन्दा बढीको मृत्यु र सयौं अंगभंग भएपछि मुख्य कारोबारी मानिएका ४ जनालाई मृत्युदण्डको सजाय हुनसक्ने बताएका थिए । विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका कम्तीमा ३५ नेपाली कामदार देश निकालामा पर्ने बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise