
सडक बाल्ने हाम्रो संस्कृति होइन, दीपावली गर्ने हो र त हरेक नदी जलाशयमा समेत दीपावली गरिन्छ छठमा । खासगरी छठ तराई संस्कृतिको हो तर यसले सिंगै देशमा यात्रा गरिरहँदा पनि तराईमै अहिले अशान्ति र राजनीतिको चरम बाछिटा छ । सरकारमा जाने, सत्ता र सरकार ढाल्ने, बेरुजु अधिक रहने संस्कृति त्यहाँ बढी छ । नक्कली खोल ओढेर नेपालीहरूमाथि थाप्लोमा ऋण थोपर्न आएका राजनीतिकर्मीहरूले देशैभरि ठुलो कुकृत्य गरेका छन् र देश धेरै पछि धकेलिएको छ । हरेक १० वर्षमा भत्कने राजनीतिक संस्कृति छ हाम्रो । यसपालि अलि बढी समयपछि भत्केको छ र यसका जराहरू अझै अवशेष बाँकी नै छन् ।
छठ भन्नु सूर्य पूजा हो, उपासना हो । पूर्व दिशाबाट झुल्कने सूर्यका अल्ट्राभाइलेट किरणमा जीवात्माका लागि अत्यावश्यक भिटामिन ए र डी पाइन्छ । सौर्य किरणमा अनन्त ब्रह्माण्डीय ऊर्जा शक्ति छ । सप्तरंगी इन्द्रेणीसमेत मिश्रण सौर्य किरणबाट आज विज्ञानले अनेकौं सुविधायुक्त चमत्कार गरेको छ । संसारकै लागि वैज्ञानिक बनेको वैदिक संस्कारले मानिसको आत्म कारक सूर्यलाई उपल्लो रूपमा हेरेको छ । अथर्व वेदले सूर्य किरणमा मानव रोग निवारणको प्रचुर शक्ति छ भन्छ । निरोगिता, आयु, आरोग्य, देह पुष्टि, बलको सिर्जनाका लागि छठ पर्वका रूपमा पूजा आरम्भ भएको सूर्य पूजाको परम्परा सहरदेखि सबैतिर छ ।
अविवाहितहरूले विवाहपछिको दाम्पत्य सुख र विवाहितहरूले असल पारिवारिक जीवनीको चाहना राखी उदाउँदो सूर्यलाई अध्र्य दिई एकाबिहानै घाट वा नदी तलाउ किनारमा बसी उपासना गर्ने परम्पराको थालनी सत्ययुगमा अत्रि पत्नी अनुसूयाबाटै भएको र पतिव्रता अनुसूयाले पतिको दीर्घायुको कामना गर्दै छठ माताको पूजा गरी आरम्भ गरेको छठ पर्वले द्वापर युगसम्म निरन्तरता पाई श्रीकृष्ण पुत्र शाम्बले कुष्ठरोग निवारण हेतु यो व्रत गरेको कुरा भविष्य पुराणमा वर्णित छ । वेदले बताएको सम्पूर्ण जीव र जगत्को आँखा रूप सूर्य पूजाबाट अन्य मनोकामना पनि पूरा हुने विश्वास गरिन्छ । पौषमा हिन्दु नारीहरू हरेक आइतबार सूर्य उपासना गर्ने गर्छन् भने तागाधारी (जनै लगाउने)हरूले जप्ने सूर्य गायत्री मन्त्रले आत्मिक चुरो, भित्रिबल, दृढ इच्छाशक्ति, मनोबल वृद्धि हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । मानवको उषाकालदेखि जीवन्त सौर्य ऊर्जाले संसारकै प्राणीलाई हित गर्छ भने अघि च्यवन ऋषिकी पत्नी सुकन्याले षष्ठीका व्रत गरेर छठ पूजा गरी अश्विनीकुमारमार्फत आफ्ना अन्धा पति च्यवनलाई उपचार गरी पुनर्दृष्टि प्रदान गरेकी थिइन् । छठ पूजा समूहमा आबद्ध भएर गरिने पर्व विशेष हो । अघि महाभारत कालमा पाँच पाण्डवहरूले आफ्नो गुप्त बासको, वनवासको समय समूहबद्ध भई सूर्योपासना गरेका थिए जसबाट सूर्यदेव खुसी भई पाण्डवहरूलाई शक्ति सञ्चयको आशीर्वाद प्राप्त भएको थियो ।
ब्रह्मा, विष्णु र शिवको संयुक्त रूप सूर्य नै हो । सम्पूर्ण प्राणी मात्रको आत्माका रूपमा रहेको सूर्यले प्राणीहरूलाई ताप शक्ति दिन्छ । कात्तिकदेखि बिस्तारै बढी जाडो हुने गर्छ, यसैले पनि मानिसहरू ताप शक्तितिर लाग्नु स्वाभाविक हो । शीतलताको कारक, मानिसको मनको ऊर्जा स्रोत भनेको चन्द्रमा हो । सूर्यले दिनमा महत्व दर्साएझैं चन्द्रमाले रातमा आफ्नो मनमोहक उपस्थिति दर्साएको हुन्छ । शारदीय रात्रिमै भगवान् श्रीकृष्णले संसार चकित पार्ने रासलीला रचाउनुभएको थियो, यसै कात्तिक शुक्ल रात्रि हो छठपछिको पूर्णिमा ।
दिन र रात, सुख र दुःख मानव जीवनको पर्याय हो । जीवनको आरम्भ जलमा हुन्छ । जलतत्व, ज्वारभाटा, समुद्र चन्द्रमाबाट प्रभावित हुन्छ भने जीवनको सञ्चालन र पालना माटोमा हुन्छ । जल र माटो (पृथ्वी) दुवैको सञ्चालन गर्ने शक्ति भने आकाश (सूर्य) नै हो । हाम्रो स्थूल एक शरीरमा ३ सूक्ष्म शरीर सञ्चालन भइराखेको हुन्छ । पहिलो हो– माटो अर्थात् स्थूल शरीर (देखिने), दोस्रो हो मन (सूक्ष्म शरीर, नदेखिने) तेस्रो हो कारण शरीर आत्मा (झन् नदेखिने) । यसरी स्थूल, सूक्ष्म र कारण शरीर तीनवटैबाट मात्र हाम्रो जीवन जीविकोपार्जन भइराखेको हुन्छ । छठको दिन बेलुका चन्द्रमालाई खाना, खिर अर्पण गर्ने चलन पनि छ । यसको समष्टि भन्नु जल, माटो र अग्नि (ताप) हो । यी सबैको सामूहिक समर्पण भाव प्रकट गर्दै छठ पर्वमा माटोको घडासहित जलाशयमा उपस्थित भई फलफूल, मिठाई, पकवान्नहरू, नरिवल आदि लिई सूर्यदेवलाई खुसी पारिन्छ ।
बेलुकीपख डुब्न लागेको सूर्यलाई अध्र्य दिई पानीमा डुबुल्की मार्दै, मनोरञ्जन गर्दै गीत, नृत्य, भजनसहित रातभर जाग्राम बसेर छठ पर्व मनाउने धार्मिक, सांस्कृतिक पर्व अनुपम रहेको छ । भोलिपल्ट सप्तमीको सूर्योदय नहुँदै आफ्नो इच्छा सिद्धि होस् भनी वरदान माग्ने पनि चलन छ । भिन्सर अर्थात् बिहानै धूप, दीप, जल, पूजा अर्पण गर्दै सूर्य दर्शन गर्ने गरिन्छ ।
देश धर्म, संस्कृतिमा बेजोड छ र फूलैफूलको चाड तिहारमा फूल आयातमा प्रतिबन्ध लाग्यो, बजार महँगो भयो । हरेक विषय आयात हुँदा मात्र बजार चलायमान र सहज हुन सक्ने भएको छ देश । लोकतन्त्रले धेरै सपना बाँड्यो तर आफ्नो मौलिक संस्कृति, धर्म, धरोहर संरक्षण गर्न सकेन । जहाँ धर्म र संस्कृति संरक्षण हुन्न त्यो देश दुर्दशामा फस्छ । लोकतन्त्रका संरचना ध्वस्त भई सिंहदरबारको प्रशासनयन्त्र नै पालमुनि पुग्दा पनि होस आएको छैन अझै । देशको धरोहर जोगाउने काम सरकारको हो सकेन र ढल्यो, मान्छे नै बचाउन नसक्नेले अमूर्त संस्कृति मौलिक कसरी बचाउला ?
हामी वैदिक सनातनी हौं, घुस हाम्रो संस्कृति होइन, न महँगो मदिरा नै जुन जनताको खानतलासी गर्दा थाहा भयो कि हाम्रो नेतृत्वले गरेको र देखाएको व्यवहार छरपस्ट बाहिर आइसकेको छ । नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने हाम्रो संस्कृति हो जुन लोकतान्त्रिक भनिएको सरकारले पटक्कै गरेन, बरु निहत्था मान्छे खायो, विदेशीसामु लम्पसार प¥यो र आफूले अरूको भिक्षार्थी भई कुशासन र भ्रष्टाचारको दल दलमा फस्यो ।
दसैं आयो, गयो, आशामा बसेको विपिनको शव आयो, तिहार आयो, मनमा उज्यालो आएन, समयको विवादमा पर्यो, पञ्चकमा एक दिन चिल्लै पूरै खाली । नोट थुपारेर नेतृत्वले देशलाई हरिबिजोक बनाएको छ भने खानैका लागि बिदेसिनुपर्ने नेपाली छन् । बंकरभित्र पैसा हुन्छ यहाँ, नैतिकताको गन्ध नदेखिने नेताहरू अझै जुँगाको लडाइँमा छन् । संस्कृति चरित्रमा हुन्छ आडम्बरमा हुन्न, चित्रमा पनि होइन । सत्ययुगमा हिरण्यकशिपुको शक्ति खेर गयो, त्रेतामा रावण कुम्भकर्णको र द्वापरमा कंस र शिशुपालको धेरै शक्ति गुम भयो । द्वापरमा सय गाली सहने शिशुपाललाई सय गालीपछि मात्र श्रीकृष्णले शिरच्छेदन गरेका थिए ।