२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

विदेशमा हुने नेपाली कामदारको मृत्युुदर घटाउन विशेष कार्यक्रम सञ्चालन गरिने

shivam cement
२०८२ कार्तिक १० गते ०६:१५
विदेशमा हुने नेपाली कामदारको मृत्युुदर घटाउन विशेष कार्यक्रम सञ्चालन गरिने

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले वैदेशिक रोजगारीका क्रममा हुने कामदारको मृत्युुदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने बताएकी छन् । नवनियुक्त मन्त्री शर्माले आइतबार पदभार ग्रहण गर्दै उक्त कुरा बताएकी हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेकी थिइन् । आफ्ना प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री शर्माले वैदेशिक रोजगारका क्रममा हुने मृत्युको संख्या ठुलो रहेकोे भन्दै त्यसलाई घटाउन वैदेशिक रोजगारमा जानुपहिले गरिने स्वास्थ्य परीक्षण र स्वास्थ्य सूचना तथा जानकारी पर्याप्त मात्रामा हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘उनीहरूको कार्यस्थल जोखिमपूर्ण छ, अत्यधिक तातो र गर्मीमा काम गर्दा अकालमा हुने मृत्युु बढेको छ । यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग थप छलफल गरेर काम गर्ने इच्छा छ ।’

स्वास्थ्यमन्त्री शर्माले अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ सूचना डेस्क स्थापनासहित टेलिमेडिसिनको विषयमा काम गर्ने सोच रहेकोे समेत बताइन् । उनले विदेशस्थित नेपाली दूतावास र नियोगहरूले पनि नेपाली कामदारको स्वास्थ्य सुरक्षाका लागि स्थानीय अस्पतालहरूसँगको सहकार्य बलियो बनाउनुपर्ने पनि बताइन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्युको संख्या बढेपछि करिब ५ वर्षअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा रहेको ‘आप्रवासन स्वास्थ्य नीति’का लागि प्राविधिक समिति गठन गरिएको थियो । उक्त समितिले नेपाली कामदारको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि नेपालीहरू वैदेशिक रोजगारीमा जाने देशका दूतावासमा चिकित्सक राख्नुपर्ने सुझाव दिएको थियो ।

समितिले स्वास्थ्य सहचारीका रूपमा डाक्टर वा नर्स राख्न सुझाव दिएको थियोे । त्यसभन्दा अघि पनि स्वास्थ्य मन्त्रालयको अर्को एउटा अध्ययन समितिले पनि नेपाली कामदारहरू काम गर्न जाने गरेका मुलुकहरूमा कामदार संख्याको आधारमा स्वास्थ्य सहचारी नियुक्त गर्नुपर्ने सुझाव दिएको थियो । तर स्वास्थ्य सहचारी नियुक्त चर्चामा मात्रै सीमित रह्यो ।

नवनियुक्त स्वास्थ्यमन्त्री शर्माले विगतमा स्वास्थ्य सचिव भएर काम गरेको र उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि भएकाले चर्चा भन्दा काम हुने धेरैले आशा गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise