
क्वालालम्पुर, मलेसिया : रोजगारदाताले न्यूनतम तलब नदिएको भन्दै मलेसियामा सुरक्षागार्डहरूले तीव्र असन्तुष्टि जनाएका छन् । मलेसियाले गत फेब्रुअरी पहिलो तारिकदेखि स्वदेशी तथा विदेशी कामदारको न्यूनतम तलब १७ सय रिंगेट पुर्याएको थियो ।
सैद्धान्तिक रूपमा नेपाली सुरक्षागार्डको तलब १७ सय रिंगेट भन्दा कम नभएपनि कतिपयले १६ सय रिंगेट मात्रै पाएको बताएका छन् भने कतिपयले न्यूनतम र ओभरटाइम बापतको न्यूनतम तलब पाएको, तर कम्पनीलाई नगद फिर्ता गर्नुपर्ने बाध्यताले व्यवहारमा सुरक्षागार्डले अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूले भन्दा कम तलब पाउने गरेको बताएका छन् ।
मलेसियाको संगठित क्षेत्रमा श्रमिकले २६ दिन र दैनिक ८ घण्टाका दरले मासिक २ सय ८ घण्टा मात्रै काम गर्नुपर्छ । त्यसबापत उनीहरूले न्यूनतम तलब १७ सय रिंगेट पाउने गरेका छन् । तर अधिकांश सुरक्षागार्डले महिनाको ३० दिन दैनिक १२ घण्टाका दरले ड्युटी गर्नुपरेको बताएका छन् ।
न्यूनतम १७ सय रिंगेटका लागि सुरक्षागार्डले मासिक ३ सय ६० घण्टासम्म काम गर्नुपर्ने र पैदल कोठामा फर्किँदा दैनिक थप एक घण्टा खर्चिनुपर्ने उनीहरूको गुनासो छ । वर्किङ आवर अर्थात् कार्यघण्टाको आधारमा सुरक्षागार्डको मासिक तलब २९ सय ४२ रिंगेट हुनुपर्नेमा अधिकांशले १७ सय र केही कम्पनीले बढीमा २३ सय रिंगेटसम्म दिने गरेको देखिएको छ ।
मलेसियास्थित नेपाली दूतावासले गत फेब्रुअरीदेखि लागू भएको न्यूनतम तलब १७ सय रिंगेट अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्नेमा नै जोड दिइएको बताएको छ । नेपाली दूतावासले नेपाली श्रमिकको पे स्लिप पेस नभएका डिमाण्ड प्रमाणीकरण नगरिएको दूतावासका जनसम्पर्क अधिकृत भरत गिरी बताउँछन् ।
केही समयअघि मलेसियाका सेतिया सेक्युरिटी, वन सर्भिस सेक्युरिटी, जिन सेक्युरिटी, अल सेफ गार्ड सेक्युरिटी, डी सेफ सेक्युरिटी, जेकेएस सेक्युरिटी कम्पनीको तलब विवाद नेपाली दूतावास पुगेको थियो । तर मलेसियामा सुरक्षागार्ड सप्लाइ गर्ने १२ सय कम्पनी रहेका छन् ।
मलेसियास्थित नेपाली दूतावासले सुरक्षागार्डको न्यूनतम तलब कार्यान्वयन नगर्ने कम्पनीको नयाँ मागपत्र प्रमाणीकरण नगरेर कारबाही गर्ने र गुनासो आएको खण्डमा सम्पर्क गरेर न्यूनतम तलब कार्यान्वयन गर्न दबाब दिने गरेको बताउँदै आएको छ । तर न्यूनतम तलब कार्यान्वयनमा आएको ८ महिना बितिसक्दा पनि अतिरिक्त समय काम गरेको, तलब नपाएको सेक्युरिटी क्षेत्रमा काम गर्ने नेपाली कामदारको गुनासो रहेको छ ।
त्यसरी गुनासो गर्ने कामदारहरूलाई दूतावासले केही समय संयम अपनाउन र धैर्य गर्न आग्रह गर्ने गरेको छ । गुनासोको संख्या धेरै र जनशक्ति न्यून हुँदा दूतावासले कम्पनीहरूको निरीक्षण गर्ने, तलब, सुविधा र उचित वासस्थान पाए/नपाएको अनुगमन गर्न नसकेको बताएको छ ।
नेपाली दूतावासले शुक्रबार सञ्चालन गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले नेपाली दूतावासले गुनासो समाधानका लागि नयाँ डिमाण्ड एटेस्टेसनमा न्यूनतम तलब १७ सय रिंगेट तलब अनिवार्य र सुरक्षागार्डको बैंक खातामा तलब जम्मा भएको बैंक ट्रान्सफरको स्लिप अनिवार्य गरिएको बताएका छन् ।