२०८२ कार्तिक ९ गते आइतवार / Oct 26 , 2025 , Sunday
२०८२ कार्तिक ९ गते आइतवार
Ads

छठको दोस्रो दिन आज खरना, सक्खरमा पकाइएको खिर कूलदेवतालाई चढाइँदै

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ९ गते ०८:०८
छठको दोस्रो दिन आज खरना, सक्खरमा पकाइएको खिर कूलदेवतालाई चढाइँदै

महोत्तरी : छठ पर्वको दोस्रो दिन बर्तालु  ‘खरना’ विधिका तयारीमा गर्दै छन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय-खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

बर्तालुले सूर्योदय पूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोक आस्थाको महापर्व मानिँदै आइएको छ । 

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्य परिकार खाँदैनन् । मैथिली बोलीचालीमा अर्बा (नउसिनिएको अन्न) खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एक अर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्म शुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्र दर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई  स्वधर्म र आत्म संरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउँछन् ।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ  । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढंगले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसै गरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा  ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन गरिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक  घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा बन्दै गएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनेको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise