२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

अन्तर्राष्ट्रिय उडानमा ‘उडुस आतंक’

shivam cement
अन्जान गुभाजु
२०८२ कार्तिक १० गते ०६:२५
अन्तर्राष्ट्रिय उडानमा ‘उडुस आतंक’

दम्माम, साउदी अरेबिया : सामान्यतया हवाई यात्रा व्यवस्थापनको दृष्टिले उत्कृष्ट मानिन्छ । व्यवस्थापकीय त्रुटिका कारण कहिलेकाहीँ हवाई यात्रा असहज बनेको कुरा उठ्छन् । सरसफाइसँग जोडेर प्रायः प्रश्न पनि उठिरहेका हुन्छन् । तर उडुस नै भेटिएको घटना भने बिरलै हुन्छन् । हिमालय एयरको दम्माम फ्लाइटमा यस्तै बिरलै घटना भएको छ ।  

हिमालय एयरको दम्माम फ्लाइटमा उडुसको समस्या दोहोरिएको छ । उडुसले यात्रुलाई टोकेर एलर्जी हुँदा तनाव सिर्जना भएको छ भने यात्रु सुरक्षामाथि प्रश्न खडा भएको छ ।
कात्तिक ८ गते साउदी अरबको दम्मामतर्फ उडेको हिमालय एयरलाइन्सको उडान नम्बर एच ९५५९ मा यात्रुलाई उडुसले सताएको हो । 

वैदेशिक रोजगारीका लागि दम्माम जाँदै गरेका यात्रु बुद्धिमान तामाङले सिट नम्बर २ ‘बी’मा यात्रा गर्दा आफूलाई उडुसले टोकेको बताएका छन् । टोकाइले उनको गर्दनमा एलर्जी भई सुन्निएको थियो । 

यात्रु तामाङका अनुसार, उडुसले टोकेपछि उनलाई एलर्जी भएको र ५ घण्टाको सम्पूर्ण यात्रा असहज तथा तनावपूर्ण बनेको थियो । धेरैपटक अन्तर्राष्ट्रिय उडान गरिसकेका तामाङले भने, ‘यो मेरो पहिलो खराब अनुभव हो । जहाजको सरसफाइ र यात्रु सेवाप्रति एयरलाइन्सको बेवास्ता भइरहेको महसुस भयो ।’

यात्रु तामाङले घटनाबारे एयरलाइन्सका क्याबिन क्रुलाई जानकारी गराउँदा, उनीहरूले फोटो र भिडियो खिचेर ‘यो मुद्दा माथिल्लो तहमा पुर्‍याइनेछ’ भनेर टारेका थिए । एयरलाइन्सको उच्च व्यवस्थापनबाट भने यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया वा क्षतिपूर्तिको आश्वासन सार्वजनिक भएको छैन ।

हिमालय एयरलाइन्सको जहाजमा उडुस भेटिएको पहिलोपटक भने होइन । यसअघि पनि काठमाडौं–दुबई उडानमा उडुस भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

पटकपटक यस्ता घटना दोहोरिँदा नेपाली यात्रुहरूको पहिलो रोजाइमा पर्ने हिमालय एयरलाइन्सको विमानको आन्तरिक सरसफाइ, यात्रु स्वास्थ्य सुरक्षा र गुणस्तरीय आतिथ्य व्यवस्थापनप्रति रहेको प्रतिबद्धतामाथि प्रश्नचिह्न खडा भएको छ । उड्डयन सुरक्षा निकाय तथा एयरलाइन्स आफैंले तत्काल सम्पूर्ण जहाजको पूर्ण कीटनाशक उपचार गरी यात्रु सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ । यसबारे बुझ्न एयरलाइन्स व्यवस्थापनसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेन । 

ADV

सम्बन्धित खबर

Advertise