
सर्वोच्चको एउटा फैसलाबाट पौने पाँच वर्षअघि छुट्टिएका माओवादी केन्द्र र एकीकृत समाजवादी अन्ततः एकताबद्ध भएका छन् । ती दुई दलसँगै अन्य आठ वाम समूहहरू पनि एकै ठाउँ आइपुगेका छन् । पछिल्लो जेनजी विद्रोहले पुराना दलहरूमाथि चुनौती थपिरहेका बेला वामपन्थी दलहरूको ध्रुवीकरणलाई सकारात्मक मानिएको छ । यसले सम्बद्ध दललाई आउँदो २१ फागुनमा हुने आमचुनावको सामना गर्न सहज मात्र हुने छैन, ससाना दल र समूहमा तितरबितर भएको कम्युनिस्ट आन्दोलनको एकतामा समेत मद्दत पुग्नेछ । यसले संघीय संसद् र प्रदेश सभा झन्डै दुई तिहाइको जनमत प्राप्त गर्नेगरी २०७४ मा गरिएको एमाले–माओवादी गठबन्धन र लगत्तैको एकतालाई समेत स्मरण गराएको छ । तत्कालीन नेकपाका नौ शीर्ष नेतामध्ये पाँच जना बुधबार घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता छन् । त्यस अर्थमा यसलाई नेकपाकै एउटा विचार समूहको निरन्तरताका रूपमा पनि हेरिएको छ ।
जेनजी आन्दोलनपछि सबैजसो पुराना दलहरूमा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ । झन्डै चार दशकदेखि नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डदेखि माधव नेपालको नेतृत्वमाथि पनि ती दलमा प्रश्न उठे । प्रधानमन्त्री भइसकेका नेतालाई नेतृत्वबाट बिदा दिनुपर्ने दबाब पनि बढ्दै थियो । माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयसमेत गरिसकेको थियो । त्यहीबेला १० वाम दलको एकता गरिएको छ । नेतृत्व छाड्नुपर्ने दबाबमा रहेका प्रचण्ड संयोजक र नेपाल सहसंयोजक बनेका छन् । पार्टी एकताले ती दलमा नेतृत्व हस्तान्तरणको बहस कम्तीमा ६ महिना धकेलिएको छ ।
वाम दलहरूको ध्रुवीकरण र एकता नेतृत्वको संकट टार्ने चालबाजी मात्र नहोस् । २०७५ को पार्टी एकताको नियती नदोहोरियोस् । त्यतिबेला पनि एकता महाधिवेशन गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाइएको थियो । तर नेतृत्वको शक्ति संघर्षमा नेकपा विघटन हुन पुग्यो । २३ फागुन २०७७ मा सर्वोच्चले एमाले–माओवादी एकतापछि बनेको पार्टीको नाम सच्याउन मात्र आदेश दिएको थियो । त्यसका लागि ती दलले निर्णय गर्नुपथ्र्याे । तर आपसी अन्तरद्वन्द्व यति चुलिएको थियो कि उनीहरूले पार्टी एकतातर्फ फर्केर पनि हेरेनन् । अहिले भएको एकतालाई नेताहरूले इमानदारितापूर्वक टिकाउनु बुद्धिमानी हुनेछ । लोकतन्त्रलाई बलियो बनाउन पनि दलहरू सशक्त हुनुपर्छ । युवा पुस्ताले दिएको सन्देशअनुसार नेपाली कम्युनिस्ट पार्टीले पनि एकता महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्नु समयको माग हो । त्यसले मात्र वामपन्थी ध्रुवीकरणको औचित्य पुष्टि गर्न सक्छ । अन्यथा, एकता नेतृत्वको संकट टार्ने अस्त्र मात्र हुनेछ ।