तिहार नेपालमा मनाइने दशैंपछिको दोस्रो ठुलो चाड हो । पाँच दिनसम्म मनाइने यो पर्वलाई दीपावली वा यमपञ्चक पनि भनिन्छ । प्रत्येक दिनको आ–आफ्नै महत्व रहन्छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजादेखि भाइटीकासम्म मनाइने तिहारको मुख्य आकर्षण भनेकै स्वादिला परिकार हुन् । घरघरमा सेल रोटी, लड्डु र मिठाइ बनाइन्छ । दिदीबहिनीले पनि सेल रोटी र मिठाइका परिकार नै कोसेली बनाउँछन् । यी परिकारले पर्वको स्वाद र उमंग त बढाउँछ नै यसमा प्रयोग हुने तेल, घिउ, चिनी र मैदा आदि भने मानव स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । विशेषगरी सेल रोटीजस्तो परिकारमा अत्यधिक चिल्लो हुन्छ । यसले शरीरमा नकारात्मक असर गर्ने कुरा ख्याल गर्न सकिएन भने तिहार खल्लो पनि हुन सक्छ ।
चिकित्सकहरूका अनुसार धेरै चिल्लो पदार्थ सेवनले मुटु रोग, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या निम्त्याउन सक्छ । अत्यधिक मिठाई सेवनले मधुमेह, दाँत र पाचनसम्बन्धी समस्या ल्याउन सक्छ । स्वास्थ्य जोगाएर तिहार मनाउन कठिन छैन । यसका लागि तेलमा तारेका परिकार कम खान सकिन्छ । बजारका रेडिमेड मिठाईभन्दा घरमै बनाइएका सफा र कम चिनी भएका परिकार सेवन गर्न सकिन्छ । दही, फलफूल, सागसब्जीजस्ता हलुका र पौष्टिक खानेकुरा सेवन गर्न सकिन्छ । अत्यधिक मसलेदार खानाबाट टाढा रहँदा शरीरमा बोझ कम पर्छ । धेरै खानेभन्दा थोरैथोरै गरी समय मिलाएर खाँदा पाचनका लागि राम्रो हुन्छ । यस्तो बेला पर्याप्त पानी पिउनु र आराम लिनु पनि आवश्यक छ ।
तर चाडपर्वमा स्वास्थ्यको ख्याल नगर्ने प्रवृति हुन्छ । चाडपर्वका नाममा अनियन्त्रित खानपान गर्दा समस्या निम्तिने हो । पर्वले शरीरलाई होइन, मनलाई खुसी दिनुपर्छ । यसका लागि जे पायो त्यो खान हुँदैन । जे खाइन्छ त्यसमा सचेत हुन सके तिहार खुसी, रंग र आत्मीयताको पर्व बन्न सक्छ । यस पर्वले केवल घरआँगन र मनमा मात्र उज्यालो फैलाउने होइन, स्वास्थ्यमा पनि उज्यालो ल्याउन सक्नुपर्छ । यसका लागि खानपानको बानी स्वास्थ्य अनुकुल बसाल्न सके तिहार मनसँगै शरीरका लागि समेत अर्थपूर्ण बन्न सक्छ ।