 
    
    
        
        
  
 
                  
पछिल्लो राजनीतिक उथलपुथलले मूलधारका दल रक्षात्मक बनेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रले बढाएको आमनागरिकको अपेक्षा पूरा गर्न नसक्दा आलोपालो सत्ता चलाइरहेका दलप्रति आमअसन्तुष्टि चुलिएको थियो । जेनजी विद्रोहका क्रममा त्यही असन्तुष्टि विस्फोट हुन पुग्यो । आन्दोलनका क्रममा भएको प्रहरी दमन र त्यसको विरोधमा भएको विध्वंशका कारण दुई ठुला दल सम्मिलित बलियो सरकार ढल्यो । डेढ महिनाअघिको सो सत्ता उलटफेरले दलहरूमा रूपान्तरण र नेतृत्व परिवर्तनको बहस चर्किएको छ । नेकपा एमाले र माओवादी केन्द्रले आउँदो मंसिरमा महाधिवेशन तोकेका छन् भने नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नियमित भन्ने टुंग्याउन केन्द्रीय समिति बैठक चलिरहेको छ ।
जेनजी विद्रोहपछि मुख्य दलहरूमा तत्कालै नेतृत्व परिवर्तन हुनुपर्ने दबाब थियो । सोही दबाबकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वस्थताको कारण देखाएर उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिए । महाधिवेशन कहिले हुने टुंगो नलागे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकाले संस्थापनले चाहेर पनि धेरै लम्ब्याउन सक्ने अवस्था देखिँदैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको घोषणा गर्दै तयारी कमिटीको संयोजक बने । एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशनको निर्णय गराउँदै नेतृत्व चयनको बहसलाई स्थगित गराए । यसकारण पनि दलहरूका महाधिवेशन पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनको उपयुक्त माध्यम बन्ने भएका छन् ।
दलहरूका लागि नीति, विधि र नेतृत्व तय गर्ने थलो महाधिवेशन नै हो । सार्वभौम प्रतिनिधिले त्यसको फैसला गर्ने नै छन् । पछिल्लो जेनजी विद्रोह र त्यसले दिएको सन्देशलाई अनदेखा गर्ने अवस्थामा दलहरू पक्कै छैनन् । पछिल्लो दशक मुख्यतः तीन नेताले पालैपालो सरकार चलाए । विचार, सिद्धान्त, दृष्टिकोण, पृष्ठभूमि र राजनीतिक दर्शन भिन्न भए पनि सारमा उनीहरूको शासन शैली एकैखालको थियो । भ्रष्टाचार, बेथिति र राजनीतिक भागबन्डामा रमाए । जेनजी विद्रोहमार्फत युवाहरूले त्यही बेथितिविरुद्ध आक्रोश पोखेका हुन् । त्यो बुझेर स्थापित राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्न जरुरी छ । लोकतन्त्रमा फेरि पनि दलको विकल्प छैन । त्यस हिसाबले पनि यसपटकको महाधिवेशन दलमा रूपान्तरण र नेतृत्व परिवर्तनको मुद्दा महत्वपूर्ण बनेको छ ।