
बेमौसमी भारी वर्षाको पूर्वानुमानले धान बाली भित्र्याइरहेका किसानलाई चिन्ता थपेको छ । दुई दिनभित्र बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुद्री चक्रवात नेपाल भित्रिने जल तथा मौसम विभागको पूर्वानुमान छ । मोन्था चक्रवात भारतको भूभाग हुँदै नेपालतिर प्रवेश गर्ने र पूर्वी नेपालका कोशी तथा मधेश प्रदेशमा भारी वर्षा गराउने सम्भावना देखिएको छ । चक्रवातको प्रभाव १३ गते बिहीबारदेखि १५ गते शनिबारसम्म रहने पूर्वानुमान छ । केहीअघि मात्र बाढीपहिरो र डुबानको विपद् बेहोरेका यी दुई प्रदेशमा पुनः खतराको घण्टी बजेको छ । ‘मोन्था’ चक्रपातको प्रभाव तराई–मधेसमा मात्र होइन, बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिन सक्ने सम्भावनाले थप भय सिर्जना गरेको छ । केहीअघिको अविरल वर्षामा पनि यी प्रदेश मुख्य प्रभावित थिए । यो बेमौसमी वर्षा यस्तो बेला हुँदै छ, जतिबेला दसैं, तिहार, छठजस्ता मुख्य चाडपर्व सकेर किसानहरू बाली भित्र्याउन खेतमा जाँदै छन् । अन्नको भण्डार मानिएको मधेसका समथल भूभाग धान पाकेर पहेलपुर छन् । छिटो पाक्ने जातका धान भित्र्याइसकेका किसानहरू मौसम विभागको पूर्वानुमानले बाँकी धान के हुने भन्ने चिन्तामा परेका छन् ।
बेमौसमी वर्षाले निम्त्याउने विपद् व्यवस्थापन तथा क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक सावधान अपनाउनुपर्ने देखिन्छ । हामीकहाँ विपद् व्यवस्थापन र पूर्वतयारीमा धेरै छलफल, गोष्ठी र बैठक हुने गरे पनि आवश्यकबेला त्यस्ता पूर्वसावधानीले काम नगरेका थुप्रै दृष्टान्त छन् । केहीअघिको अविरल वर्षामा काठमाडौं उपत्यकाभित्र जुनस्तरमा सावधानीको उपाय अपनाइयो, बाहिर सरकारको ध्यान गएको देखिएन । विपद् प्रभावित क्षेत्रका बासिन्दाले समयमै उद्धार र राहतको महसुस गर्न पाएनन् । यसपटक त्यस्तो कमजोरी नदोहोरियोस् ।
खासगरी धान खेती जोगाउन किसानलाई पूर्वसूचना तथा परामर्शको खाँचो छ । दुई दिनभित्र धान काटेर भित्र्याउने वा केही समय कुर्ने भन्ने उपयुक्त सल्लाह कृषि मन्त्रालय र सम्बद्ध निकायबाट दिइनुपर्छ । केही वर्षअघि यस्तै समयमा भएको भारी वर्षाले धान उत्पादनमै ठुलो असर परेको थियो । आँधीहुरी र भारी वर्षाले भित्र्याउने बेलाको धान खेतमै ढलेको थियो । क्षति भइसकेपछि राहत वा क्षतिपूर्ति दिनुभन्दा पहिले नै किसानलाई आवश्यक पूर्वसूचना, उचित सल्लाह र पूर्वसचेत गराउन राज्यको दायित्व हुन्छ । संघीय, प्रदेश र स्थानीय सरकारले यसप्रति ध्यान दिन जरुरी छ ।