
केही दशकअघिसम्म मिथिला र भोजपुरा क्षेत्रमा मात्र सीमित छठ पर्व अहिले राष्ट्रिय पर्व बनेको छ । छठ पर्वको उल्लास मधेसबाट पहाड र हिमालसम्मै विस्तार भइसकेको छ । तराई–मधेसका नदीकिनारमा देखिने रौनक काठमाडौं उपत्यकामा भित्रिएकै वर्षौं भइसकेको छ । कुनैबेला रानीपोखरीमा सीमित छठ अहिले बागमती लगायत नदी किनारसम्म फैलिएको छ । मध्य तराईबाट फैलिँदै केही वर्षयता छठ पश्चिम तराईसम्मै पुगेको छ, पहाड उक्लिएको छ । छठ संस्कृतिमा हुर्किएको समुदाय अब छठ मनाउन मधेस जानुपर्दैन । जो जहाँ बसेको छ, त्यहीँ मनाउने उल्लासमय वातावरण बन्दै छ । काठमाडौं र पहाडी भेगमा पनि मधेसमा जस्तै धुमधामसाथ छठ पर्व मनाउन थालिएको छ । छठको सांस्कृतिक विस्तारले सिंगो देशलाई जोड्दै गएको छ ।
छठलाई पवित्र पर्व मानिन्छ । यस पर्वमा सूर्य र उनको देवी रूप उषाको छठी मैयाँका रूपमा पूजा गरिन्छ । मुख्य पूजा षष्ठी तिथिमा गरिने हुनाले यस पर्वलाई छठ, छैठ, छइठ र छठी भनिँदै आएको छ । यस पर्वमा चार दिनसम्म कठिन उपवास बस्ने गरिन्छ । छठमा शुद्धतालाई विशेष महत्व दिइन्छ । पूजा गर्ने घरका ज्येष्ठ र स्वस्थ महिला मात्र होइन, पूजाआजा तथा प्रसाद तयार पार्ने व्यक्तिसमेत एक महिनाअघिदेखि माछामासु, लसुन र प्याजजस्ता तामसी भोजन त्यागेर पूजाको तयारी गर्छन् । छठ पर्व मान्ने नेपाल र भारतका विभिन्न भूगोलपिच्छे भिन्दाभिन्दै लोककथा छन् । पर्वको खास महत्व भनेको महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, परिवार, समाज र मानव जातिको हितलाई मानिन्छ । साथै, सम्पूर्ण पृथ्वीलाई अन्धकारबाट छुटकारा दिने भएकाले सूर्यको उपासना गर्ने गरिएको हो । छठ मान्दा मनोकामना पूरा हुने विश्वास छ ।
पर्व, संस्कृति र परम्पराले समाजलाई जोड्छ, शान्ति र सद्भावको सन्देश दिन्छ । पछिल्ला वर्षहरूमा छठ पनि त्यस्तै पर्व भएको छ, जसले जुनसुकै भूगोल, जाति वा समुदायलाई जोड्दै गएको छ । यसले राष्ट्रिय एकता प्रवर्धन गर्न र भावनात्मक सम्बन्ध विस्तारमा समेत टेवा पुर्याइरहेको छ । त्यस अर्थमा छठ मधेसी र पहाडी मनोविज्ञानलाई जोड्ने सेतु बन्दै गएको छ ।